खाद्य कम्पनीले कर्णालीको १९ हजार टन रैथाने बाली खरिद गर्ने


खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेशले १९ हजार चार सय ६४ मेट्रिक टन रैथाने बाली खरिद गर्ने भएको छ । व्यापार कम्पनीले कोदो आठ हजार छ सय ६०, कागुनो तीन सय ३८, चिनो छ सय ८७, जुनेलो दुई, फापर सात सय ६२, उवा ६ सय १९, सिमी चार हजार चार सय ७० र मार्सी धान तीन हजार आठ सय ८६ गरी कुल जम्मा १९ हजार चार सय ६४ मेट्रिक टन रैथाने बालीे खरिद गर्ने सहमति भएको छ ।

कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रदेशबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । कर्णाली प्रदेशमा उत्पादित रैथानेबालीको सङ्कलन, प्रशोधन र बजारीकरणका लागि प्रशोधन केन्द्र स्थापना गर्नेसम्बन्धी मन्त्रालय र व्यापार कम्पनीबीच समझदारी भएको हो ।

समझदारी पत्रमा मन्त्रालयको तर्फबाट सचिव डा. नरहरिप्रसाद घिमिरे र कम्पनीको तर्फबाट निमित्त प्रादेशिक प्रमुख माधव मिश्रले हस्ताक्षर गरेका हुन् । कर्णाली प्रदेश सरकारको पहिलो बैठकले कर्णालीलाई प्राङ्गारिक प्रदेश स्थापित गर्ने निर्णय भएअनुसार कृषि मन्त्रालयले ‘कर्णाली प्रदेश प्राङ्गारिक कृषि प्रवर्द्धन ऐन २०७६ मार्फत् आफ्नो नीति र कार्यक्रममा प्राङ्गारिक कृषि र रैथानेबाली प्रवर्द्धनमा सहयोग तथा सहजीकरण गर्दै आएको छ ।

खाद्य कम्पनीले कर्णालीको १९ हजार टन रैथाने बाली खरिद गर्ने

कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै