उद्योग वाणिज्य संघका महासचिवलाई धम्की दिनेमाथि कारबाहीको माग


उद्योग वाणिज्य संघ सुर्खेतका महासचिव भद्र भण्डारीलाई धम्की दिएको भन्दै संघले कारबाहीको माग गरेको छ । शुक्रवार संघका कार्यबहाक अध्यक्ष गणेशकुमार बस्नेतले विज्ञप्ति जारी गर्दै माघ ३ र ४ गते राति ‘तेस्रो कर्णाली एक्स्पो २०८०’ लाई लिएर अपरिचित व्यक्तिले महासचिव भण्डारीलाई ज्यान मार्ने धम्की आएको उल्लेख गरेका छन् ।
त्यसबाट भण्डारीको ज्यानको असुरक्षा बढ्नुका साथै समग्र निजी क्षेत्रमा संलग्न व्यवसायीमाथि मनोबैज्ञानिक त्रास सिर्जना भएको भन्दै विज्ञप्तिमा खेद प्रकट गरिएको छ । धम्की दिने व्यक्तिको पहिचान गरि दोषीलाई छिटो कानूनी कठघरामा ल्याउन र भण्डारीको जीवन रक्षा गर्न प्रहरी प्रशासनलाई संघले आग्रह गरेको छ ।
‘उक्त मोबाइल नम्बरको आधारबाट ज्यान मार्ने धम्की दिने अपरिचित व्यक्तिलाई यथाशक्य खोजी गर्दै कानुनी कठघरामा ल्याउन र संघका महासचिव भण्डारीको निजी तथा व्यवसायिक जीवनको पूर्ण सुरक्षा दिन प्रहरी प्रशासन समक्ष हार्दिक अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।







