तेस्रो कर्णाली एक्सपो–२०८० महोत्सव हुँदै

सुर्खेतको वीरेन्द्रनगरमा तेस्रो कर्णाली एक्सपो–२०८० महोत्सव आयोजना हुने भएको छ । कर्णाली प्रदेशको आर्थिक समृद्धिको अभियानमा महत्वपूर्ण टेवा पु¥याउने उद्देश्यले सुर्खेत उद्योग वाणिज्य संघले कर्णाली एक्सपो आयोजना गर्न लागेको हो ।
विहिबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवका बारेमा जानकारी गराइएको थियो । आयोजक मूल समितिका प्रवक्ता तथा सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारीले महोत्सवको तयारीका बारेमा जानकारी गराएका थिए ।
यो वर्ष माघ २६ गतेदेखि फागुन ५ गतेसम्म तेस्रो संस्करणको कर्णाली एक्सपो आयोजनाको तयारी तिब्र पारिएको एक्सपो मूल आयोजक समितिका प्रवक्ता, प्रचार–प्रसार संयोजक तथा सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भण्डारीले जानकारी दिए ।
उनले यस पटक कर्णाली एक्सपो आयोजना गर्नुको मुख्यतया तीन वटा कारण रहेको बताए । जसमध्ये पहिलो संघले स्थापना गरेको व्यवसायीक राहत अक्षय कोषमा रकम अभिवृद्धि गरी एक करोडसम्म पु¥याउने, संघ अन्तर्गत रहेका वस्तुगत समितिहरूका लागि बेग्लै बैठक कक्षसहित उपकरणको व्यवस्थापन गर्ने र निजी क्षेत्र तथा संचार माध्यमवीच आपसी समन्वय गर्दै आर्थिक क्षेत्रमा योगदान पुग्याउने पत्रकारहरूको सामाजिक सुरक्षाका लागि पाँच लाख रुपैयाँसम्मको अक्षय कोष स्थापना गर्ने जनाइएको छ ।
त्यस्तै वीरेन्द्रनगर नगरपालिका अगाडिको खुला मञ्चमा कर्णाली एक्सपो–२०८० सञ्चालन गर्न लागिएको हो । कर्णाली एक्सपो महोत्सवमा करिव चार सयदेखी पाँच सय वटासम्म स्टल हुनेछन् उनले भने, स्थानीयलाई स्टलमा प्राथमिकता दिने छौँ । यस्तै एक्सपोलाई करिव पाँच लाखले अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ ।
स्थानीय स्रोतको सदुपयोग गरि उत्पादन गरिएका लघु घरेलु तथा साना उद्योगको उत्पादित बस्तुको दिगो बजार पहुँच स्थापित गर्ने महोत्सवको उद्देश्य रहेको छ । देशभित्रका सबै प्रकारका उत्पादनमूलक उद्योगका अलावा कृषि, वन पैदवार, हस्तकला, उर्जा, बायोग्याँस लगायत पर्यटन, औद्योगिक तथा व्यापारिक प्रतिष्ठान क्षेत्रका स्टल रहने आयोजकले जनाएको छ ।





