सुपथ मूल्य पसलबाट १ करोड बढीको चामल बिक्री


जुम्लाको सदरमुकाम खलंगामा अवस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जुम्ला शाखाले १ करोड ४४ लाख ९ सय ७५ रुपैयाँ मूल्य बराबरको चामल बिक्री गरेको छ ।
यही असोज १३ गतेदेखि सञ्चालन गरेको महान चाड दशैंलाई लक्षित सुपथ मूल्य पसलबाट उक्त रकमको चामल बिक्री भएको हो । उक्त सञ्चालित सुपथ मूल्य पसलबाट एघार सय ४८.२५ क्विन्टल चामल बिक्री भएको कार्यालयका प्रमुख सन्तोष तिवारीले बताए । प्रतिव्यक्ति ५० किलो (दुई बोरा) चामल दिइएको थियो ।
उपभोक्तालाई नेपाली नागरिकता प्रमाणपत्रका आधारमा चामल दिइने व्यवस्था गरिएको थियो । प्रति केजी ५ रुपैयाँ छुट र प्रति बोरामा १ सय २५ रुपैयाँ छुट दिइएको लेखा अधिकृत लक्ष्मण शर्माले बताए । उनले भने,सुपथ मूल्य पसलका लागि पाँच हजार क्विन्टल चामल छुट्याइएको थियो । जसमा जुम्लाको तिला गाउँपालिकाको जुम्लाकोट डिपो, सिंजा गाउँपालिकाको धाँपा डिपो, तातोपानीको पाथरखोला बिक्री केन्द्र, पातारासीको लुम र हिमाको बाजागाड वितरण केन्द्र छन् ।
अन्य डिपोमा स्थायी कर्मचारी नभएका कारण सदरमुकाम शाखाबाट चामल वितरण भएको उनले जनाए । लेखा अधिकृत शर्माका अनुसार, माघ २ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन हुनेछ, सुपथ मूल्य पसलमा स्ट्रिम जिरा मसिनो, अरुवा मोटा, र सोना मन सुली चामल बिक्री भइरहेको छ ।
छुटपछि, स्ट्रिम जिरा मसिनो प्रति बोराको मूल्य २ हजार २ सय ७५ रुपैयाँ, अरुवा मोटाको १ हजार ५ सय ५० रुपैयाँ, र सोना मन्सुलीको १ हजार ६ सय २५ रुपैयाँ तोकिएको छ ।





