जनस्वास्थ्यमा गम्भीर खेलबाड गर्दै वीरेन्द्रनगरका पानी उद्योग


व्यापार व्यवसायका नाममा वीरेन्द्रनगरका केही व्यापारीहरूले उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्ने गरेको भेटिएको छ । वीरेन्द्रनगरमा रहेका अधिकांश पानी व्यवसायीले जनस्वास्थ्यको ख्याल नै नगरी पानी विक्री वितरण गर्ने गरेको अनुगमनका क्रममा पाइएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले गर्ने नियमित बजार अनुगमन तथा निरीक्षणका क्रममा वीरेन्द्रनगरका पानी उद्योगहरुले दुषित खाद्य पदार्थ (प्रशोधित पिउने पानी) उत्पादन तथा बिक्री वितरण गर्ने गरेको पाइएको हो ।

जसमा वीरेन्द्रनगर–२, मा रहेको तिला कर्णाली पानी प्रशोद्धन उद्योगले पानी बोतल तथा जारमा प्याकिङ गर्नुअघि युभि (अल्टा भ्वाइलेट लाइट, यसले पानीमा रहेका हानिकारक जिवाणु मार्दछ) बिनै प्रशोद्धन गर्ने गरेको अनुगमनका क्रममा पाइएको छ । वीरेन्द्रनगरमा सञ्चालित एकाध बाहेक अधिकांशले बोतल र जार भर्ने÷प्याकेजिङ स्थानभन्दा अघि युभि मेसिन जडान नगरेको, बोतल भर्ने मेसिन मर्मत नगर्ने गरेको खाद्यको अनगुमनबाट भेटिएको छ । यस्तै, प्रशोधि पिउने पानी उत्पादन निर्देशिकामा तोकिए बमोजिम अभिलेख व्यवस्थापन, निर्देशिकाको चेकलिष्ट भर्ने तथा अन्य अभिलेखसहित उद्योगको अनुज्ञापत्र नविकरण लगायतका काम पनि नभएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख छितिज श्रेष्ठले बताए ।

यस्तै, वीरेन्द्रनगर–३, मा रहेको जय श्री प्रशोधित पिउने पानी उद्योगमा पनि युभी मेसिन बिनै पानी प्रशोद्धन हुने गरेको छ । यस उद्योगले पानी परिक्षण प्रयोगशालाका उपकरण मर्मत तथा व्यवस्थित गर्नतर्फ ध्यान नदिएको नियमित अनुगमनका क्रममा पाइएको छ । वीरेन्द्रनगर–१२, औद्योगिक क्षेत्रमा रहेको मध्यपश्चिम वाटर एण्ड वेभरेज प्रालिमा पनि फिलिङ मेसिन अगाडिको युभि मेसिनले काम नगरेको, प्रयोगशाला परिक्षण, उपकरण मर्मत सर्भिसको व्यवस्थित रेकर्ड नभेटिएको अनुगमनका क्रममा पाइएको छ ।

वीरेन्द्रनगर–१, मा रहेको कर्णाली प्रदेश वाटर एण्ड वेभरेज इन्डष्ट्रिजले अन्य उद्योगका जारहरु प्रयोग गर्ने गरेको छ । आफ्नो उद्योगको सफा र पारदर्शी जारको प्रयोग गर्नुको साटो यो उद्योगले लेबल अद्यावधिकसमेत गरेको छैन । कार्यालयले ५ साउन देखि ३० भदौसम्म नियमित बजार अनुगमन गरेको थियो । सोही क्रममा बर्षाको समयमा पिउने पानीको माध्ययमबाट संक्रामक रोगहरु फैलन सक्ने जोखिमलाई ध्यानमा राख्दै कार्यालयले वीरेन्द्रनगरका सात वटा प्रशोधित पिउने पानी उद्योगहरुको अनुगमन गरेको थियो । अनुगमनका क्रममा देखिएका त्रुटिहरु तत्काल सुधार गर्न निर्देशन दिइएको कार्यालय प्रमुख श्रेष्ठले बताए । यस्तै यहीँ अवधिमा नियमित बजार अनुगमनका क्रममा कार्यालयले २३ वटा खाद्य उद्योग जसमध्ये तीन डेरी उद्योग, ३४ खाद्य किराना पसल, मार्ट, दुई दाना पसल र २२ वटा होटेल रेस्टुरेन्ट, स्ट्रिट फुडमा अनुगमन गरि देखिएका कैफियतहरु सुधार गराएको श्रेष्ठले बताए ।

अनुगमनको क्रममा खाद्य पदार्थ तयारी र वितरण गर्ने स्थान तथा परिसर स्वच्छ र सफा नरहेको भेटिएको तथा होटल÷टेस्टुरेन्टहरुले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को दफा २५ बमोजिम सेवा प्रदायकको दाइत्व पूरा नगरेकाले सोहि ऐनको दफा ३५ बमोजिम खाद्य स्वच्छता कायम गर्न पाँच वटा होटल÷रेस्टुरेन्ट लाई निर्देशन दिइएको छ । यस्तै अनुगमनका क्रममा म्याद नाघेका र कैफियत देखिएका चार सय ९२ दशमलव ७२ किलो झण्डै एक लाख ८४ हजार चार सय ४९ रुपैयाँ बराबरका खाद्य बस्तुहरु जफत गरी नस्ट गरिएको छ । चाडपर्व नजिकिदै जादा बजारमा खाद्य बस्तुमा कैफियत तथा मिसावट हुनसक्ने भएकाले उपभोक्तामा आफुले खरिद गर्ने खाद्य वस्तुहरुको लेवल विवरण एकिन गर्न तथा कुनै कैफियत देखिएमा जानकारी गराउन कार्यालयले आग्रह गरेको छ । बजार अनुगमन र निरिक्षणको काम निरन्तर चलिरहेको बताउँदै कार्यालय प्रमुख श्रेष्ठले नजिकिदै गरेका चाडपर्व लक्षित अनुगमनलाई तीव्रता दिइएको बताए ।

रारा मसालामा खाद्यको सिल

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले रारा मसला उद्योगमा सिलबन्दी गरेको छ । वीरेन्द्रनगर–१, स्थित रारा मसला उद्योगको स्थलगत अनुगमन निरिक्षणका क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को दफा १७ को (ङ) बमोजिम प्याकेजिङ गरिएको खाद्य पदार्थको लेवलमा प्रयोग गरिने कुनै लिखत भनाई, चिन्ह डिजाइन लगायतका विवरण झुटो वा भ्रामक रुपमा प्रस्तुत गरी झुक्याई खाद्य पदार्थ विक्री वितरण गर्न नहुने प्रावधान छ । तर उद्योगले ब्रान्डको लेवल विवरण भएको ¥यापरमा उत्पादकको नाम ठेगाना सिद्धार्थनगर–४, रुपन्देही उल्लेख गरेको अमन ब्रान्डको विभिन्न मसलाहरुको प्याकेजिङ र बिक्री वितरण गरिरहेको पाइएपछि झण्डै ६ सय ५० किलोग्राम ¥यापर उद्योगकै जिम्मामा रहने गरी सिलबन्दी गरिएको हो ।

अखाद्यवस्तु विक्री गर्ने पाँचविरुद्ध मुद्दा

कार्यालयले हालसम्म २० वटा खाद्य ऐन बर्खिलाप मुद्दा उठान गरेको छ । जसमध्ये पाँच वटा खाद्य ऐन २०२३ बर्खिलाप मुद्दा तयार गरेको छ भने चार वटा मुद्दा प्रारम्भिक अनुसन्धान गरी सम्बन्धित कार्यक्षेत्र हेर्ने कार्यालयमा पठाएको छ । दायर गरेका मध्ये दुई वटा जिल्ला प्रशासन कार्यालय र तीन वटा जिल्ला अदालाद सुर्खेतमा दायर भएका छन् । दायर भएका मुद्दामा दुषित मह उत्पादन तथा बिक्री वितरण गर्ने डिभाइन हिमालयन प्रालि चन्द्रागिरी काठमाडौं, लेवल नलगाएको घिउ बिक्री गर्ने गौरी डेरी उद्योग सुर्खेत, टिके मार्ट तथा सुर्खेत डेरी प्रालिका संचालकविरुद्ध लेवल नलगाएको घिउ उत्पादन तथा विक्रिवितरण गरेको अभियोगमा मुद्दा दर्ता भएको छ ।

यस्तै, अखाद्य रसायन मिसाई दुषित फेल्वर ड्रिङ्क उत्पादन तथा विक्रिवितरण गर्ने बुलबुले आइस प्याकिङ्ग उद्योग, दुषित खाद्य पदार्थ (प्रशोधित पिउने पानि) उत्पादन तथा बिक्रीवितरण गर्ने मध्यपश्चिम वाटर एण्ड वेभरेज प्रालि सुर्खेतविरुद्ध कार्यालयले प्रशासन तथा अदालतमा मुद्दा दायर गरेको हो ।

जनस्वास्थ्यमा गम्भीर खेलबाड गर्दै वीरेन्द्रनगरका पानी उद्योग

YUGAAWHAN NATIONAL DAILY (2081-06-02)