विमानस्थलबाट बग्ने पानीको व्यवस्थापन नहुँदा समस्या


जिल्लाको ताल्चा विमानस्थलबाट बग्ने पानीको व्यवस्थापन नहुँदा छायाँनाथ रारा नगरपालिका वडा नं १,४ र ६ का जुकेना खामगोइटे र वालै गाउँका बालबालिकाले सास्ती भोग्नु परेको छ ।
नजिकैका माध्यमिक तहसम्मको विद्यालय नभएकाले बालबालिकाले आउजाउमा सास्ती भोग्दै आएका हुन् । सदरमुकाम गमगढीमा नमुना माध्यमिक विद्यालय रहेकोले विद्यालय जानका लागि लामो समय हिँड्नु पर्दा चार वटा बस्तीका झन्डै एक सय बालबालिका प्रभावित भएको स्थानीय समाजसेवी नन्द रोकायाले बताए । आकासे पानी ताल्चा विमानस्थलबाट वर्षातको समयमा बुकाखोलामा पानीको सतह बढेका कारण विद्यालय पढ्ने बालबालिका दैनिक जोखिम मोलेर उक्त खोला पार गर्नुपर्ने बाध्य रहेको उनले बताए ।
हिउँदको समयमा पानीको सतह घट्दा बुकाखोला तरेर विद्यालयमा सफा पोसाकमा विद्यालय पुगिन्छ तर अहिले वर्षाको समयमा त्यो सम्भव नभएकाले खोलाको हिलोपानीले दैनिक विद्यालयको पोसाकमा हिलोमैलो लगाएर विद्यालयमा पुग्ने गरेको महाकाली नमुना माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा सरिता भामले सुनाए ।
वर्षाको समयमा विद्यालय पुग्न लामो समय लाग्ने भएकाले राम्रोसँग खाना नखाई बिहानै घरबाट हिँड्नु पर्ने हाम्रो बाध्यता रहेको उनले भने । उक्त खोलाको पानीले छायाँनाथ रारा नगरपालिकाको ११ बस्तीका ज्येष्ठ नागरिक र बिरामीलाई आउजाउ गर्न कठिनाइ भएको ज्येष्ठ नागरिक रामबहादुर बोहराले बताए । यो हिउँदको समयमा खोलामा पानी नहुँदा सहजै आउजाउ गर्न सकिन्छ । वर्षातको समयमा ज्यान जोखिममा पारेर उक्त खोला तर्नुपर्ने उनले बताए ।
यसरी जिल्लामा विमानस्थलको वातावरणीय प्रभाव अध्ययन नगर्दा ताल्चा विमानस्थल मुनिका १० वटा बस्तीहरू उच्च जोखिममा छन् । डिपिआरको नाममा लागत स्टमेट र कुल खर्च, दूरी आदिको मात्रै अध्ययन गरिएको छ र वातावरणीय अध्ययन नै नगरिएको स्वयम् नागरिक उड्डयन प्राधिकरण एरोड्म इन्जिनियरिङ विभागका इन्जिनियर महेश नेपालीले बताए ।
वातावरणीय प्रभाव अध्ययन नगरिनुले यसको प्रभावकारिताले निम्त्याएको जोखिमले पानीको बहावको व्यवस्थापन गर्नलाई संङघीय मन्त्रालयसँग समन्वय भइरहेको यता छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले जानकारी दिए ।






