स्वास्थ्य सेवा प्रवाहमा सिंजा स्वास्थ्य शाखा जिल्लाकै पहिलो


स्वास्थ्य सेवा प्रवाहमा सिंजा स्वास्थ्य शाखा जिल्लाकै पहिलो बनेको छ । जुम्लाको सिंजा गाउँपालिका अन्तर्गतको स्वास्थ्य शाखा जिल्लामै पहिलो बनेको हो। जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको मूल्यांकन प्रतिवेदनका आधारमा सिंजा स्वास्थ्य शाखा सेवाप्रवाहमा पहिलो बनेको हो ।
जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका अनुसार मूल्यांकनका ३२ वटा सूचक तोकिएका थिए । सापकोटाले भने, ‘सबै स्थानीय तहले राम्रो काम गरेको भए पनि मूल्यांकनमा सिंजाले उत्कृष्ट अंक प्राप्त गरेर जिल्लाकै पहिलो बनेको हो ।’ सिंजा स्वास्थ्य शाखाले ८७ प्रतिशत अंक प्राप्त गरेको थियो, भने मुल्यांकन प्रतिवेदनका अनुसार दोस्रोमा चन्दननाथ नगरपालिकाले ८४, कनकासुन्दरी गाउँपालिका स्वास्थ्य शाखाले ८१, हिमा स्वास्थ्य शाखाले ७६.५ र तातोपानी स्वास्थ्य शाखाले ७०.५ प्रतिशत अंक प्राप्त गरेका हुन् ।
सिंजा स्वास्थ्य शाखा प्रमुख ललितबहादुर रोकायाले स्वास्थ्य सेवा प्रवाह, स्वास्थ्य कार्यक्रमहरुको सम्पादन र व्यवस्थापनमा उत्कृष्ट भएकामा खुसी व्यक्त गरे । ‘निरन्तर दुई आर्थिक वर्षमा स्वास्थ्य सेवामा पहिलो हुन पाउँदा खुसी लागेको छ,’ रोकायाले भने ।






