ओझेलमा परेको सुर्खेत विमानस्थलमा चहलपहल बढ्यो

संघीयतापछि कुनै न कुनै कारणले चर्चामा आईरहन्छ सुर्खेत  विमानस्थल । प्रदेश राजनधानी सुर्खेतको वीरेन्द्रनगरलाई हवाई सेवामा जोडेको यो विमानस्थल कहिले विस्तारको योजनाले चर्चामा आउँछ भने, कहिले शक्तिमा रहेका नेताहरुले विमानस्थलमा आउने बजेटमा अपनत्व लिन गरिने होडबाजीले चर्चामा आउने गरेको छ ।

देश संघीयतामा गएसँगै सिंहदरवारका अधिकारहरु नागरिकका घरदैलोमा पुगेको बताउँने गरिएपनि संघीयता कार्यान्वयन पश्चात भने सुर्खेत विमानस्थल छाँयामा परेको छ, दुर्गमका नागरिकलाई प्रदेश राजधानीसँगको हवाई सेवामा अलग बनाइ दिएको छ । हाल यो विमानस्थल संघीय राजधानी काठमाडौं आउजाउ गर्न, नेताहरुको चाटर्ड तथा विपद् लगायत अन्य काममा नेपाली सेनाले प्रयोग गर्ने एयर लिफ्ट बनेको छ ।
संघीयता अघि सुर्खेत विमानस्थलमा सीता, तारा, यति, लगायतका निजी हवाई सेवा प्रदायक कम्पनीका टुइनेटर विमानहरु दैनिक सुर्खेती आकास भएर कर्णालीका माथिल्ला जिल्लाहरुमा उडान हुन्थे । यात्रु बाहक तथा कार्गो बोकेका विमान तथा हेलिकप्टरले खाली नहुने विमानस्थल अहिले सुर्खेत–काठमाडौं, काठमाडौं–सुर्खेत दैनिक ३ वटा उडान मात्र हुने गरेका छन् ।

देश संघीयतामा गएसँगै साविक कर्णालीका चार जिल्ला प्रदेश राजधानी सुर्खेतसँगको सिधा हवाई सेवाको पहुँच बाहिर छन् । २०७४ अघि साविक कर्णालीका जुम्ला, मुगु, हुम्ला र डोल्पा तथा सुदुरपश्चिम प्रदेशको बाजुरा जिल्लामा सुर्खेत विमानस्थलबाट नियमित रुपमा हुँदै आएका उडानहरु त्यसयता भने नेपालगन्जबाट हुँदै आएका छन् ।

जसले हवाई सेवा प्रयोग गरी प्रदेश राजधानी आउन लुम्बिनी प्रदेशको नेपालगन्ज धाउनु पर्ने बाध्यतामा नागरिकहरु छन् । प्रदेश राजधानी भएसँगै सुर्खेत राजनैतिक, प्रशासनिक, आर्थिक तथा शैक्षिक हब बनेको वीरेन्द्रनगर दश वटै जिल्लाका नागरिकको रोजाई बन्दै गएको छ ।
सुर्खेत विमानस्थलबाट नियमित रुपमा हिमाली र पहाडी जिल्लामा हवाई सेवा सञ्चालन नहुँदा अध्ययन, रोजगारी, औषधी उपचार प्रशासनिक काम काजका लागि वीरेन्द्रनगर आउजाउ गर्ने नागरिकले ठुलो धनराशी खर्च गर्नुपर्ने बाध्यता छ ।

काठमाडौं–सुर्खेत सिधा हवाई उडान हुने विमानस्थलमा नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमको कार्यालयसमेत सुर्खेतमा छैन । अझ भनौं नेपाल वायुसेवाले सुर्खेत विमानस्थल भएर कर्णालीका कुनै पनि जिल्लामा हालसम्म एउटा पनि उडान भरेको अवस्था छैन ।

यसले राज्यबाट नागरिकलाई प्राप्त हुने अत्यावश्यक सेवाबाट बञ्चित गराएर मानवअधिकारको हनन् भईरहेको छ । उति बेला सुर्खेतबाट माथिल्ला जिल्लाहरुमा यात्रु तथा कार्गो उडान भर्दा सरकारले लगाउने हवाई शुल्क महंगो पर्ने भन्दै निजी हवाई कम्पनीहरुले आफ्ना उडानहरु नेपालगन्ज स्थानान्तरण गरेका थिए ।

त्यस यता कर्णालीको आन्तरिक आकाशमा न सरकारले आफ्ना जहाज उडाउने प्रयास गरेको छ, न त निजी सेवा प्रदायक कम्पनीलाई जहाज उडाउन प्रोत्साहन नै गर्न सकेको छ । सञ्चालन खर्चका कारण सरकारी स्वामित्वको वायुसेवा निगम नै कर्णालीमा आन्तरिक उडान भर्ननसकिने जवाफ दिँदै आएको छ । कर्णाली प्रदेशका निर्वतमान उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री जितबहादुर मल्ल प्रदेश सरकार, नागरिक उड्ययन प्राधिकरण, नेपाल वायुसेवा निगम र संघीय सरकारको असहयोगका कारण कर्णालीमा आन्तरिक हवाई सेवा सुरु हुन नसकेको बताउँछन् ।

आफू मन्त्री रहँदा प्राधिकरण, संघीय पर्यटन मन्त्रालय, वायु सेवा निगम तथा निजी हवाई सेवा प्रदायक कम्पनीसँग गहन छलफल अगाडि बढाएपनि सफल हुन नसकेको मल्ल बताउँछन् । आफ्नो पहलले सीता र यति एयरलाईन्सले कर्णाली प्रदेशमा आन्तरिक उडानका लागि प्रस्तावना–पत्र पेश गरेको उल्लेख गर्दै आफू मन्त्रालयबाट बाहिरिएसँगै सो विषय ओझेलमा परेको उनी बताउँछन् ।

कुनै पनि बहानामा कर्णालीका नागरिकलाई हवाई सेवाबाट विमुख बनाईनु नहुने उल्लेख गर्दै प्रदेश सरकारले यथाशिंघ्र अपनत्व लिएर निजी वायु सेवा कम्पनीलाई सहुलियत दिएर भएपनि आन्तरिक हवाई सेवा सुरु गर्न ढिला गर्न नहुने सांसद मल्लको भनाई छ ।

यता पर्यटन मन्त्रालयका सचिव डाक्टर विनोदप्रसाद देवकोटा आफू यस विषयमा जानकार नरहेको उल्लेख गर्दै सम्बन्धित शाखामा बुझेर मात्र प्रतिक्रिया दिन सक्ने बताए । २०७५ मै कर्णालीका तत्कालिन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारले आफ्नै हवाई सेवा सञ्चाालन गर्ने महत्वाकाँक्षी योजना अगाडि सारेका थिए । प्रदेश सरकारले ‘कर्णाली एयरलाईन्स’ का नामबाट आन्तरिक तथा अन्तर प्रदेश उडानका लागि हवाई सेवा सुरु गर्न ल्याएको योजनाका बारेमा हालको प्रदेश सरकार बेखबर छ ।

शाहीकै पालमा प्रदेश सरकारले सुर्खेतमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल र मुगुमा ‘हाइअल्टिच्यूट’ विमानस्थल निर्माणको घोषणा गरेको थियो। चिनियाँ कम्पनी नर्थवेष्टले दुई वटै विमानस्थलको निःशुल्क विस्तृत संभाव्यता अध्ययन गरेर प्रदेश सरकारलाई उपलब्ध गराउने भनिए पनि हाल ति सबै योजनाहरु कागजमै सीमित भएका छन् ।

विमानस्थल विस्तारको योजना पनि अलपत्र
२०७७ मा हालको विमानस्थललाई विस्तार गरी एक हजार पाँच सय मिटरको धावनमार्ग विस्तार गरी रात्रिकालीन उडान भर्ने उद्देश्यका साथ सुर्खेत विमानस्थल विस्तारको योजना अगाडि बढाइएको थियो । पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा २०७७ मंसिर अन्तिम साता बसेको बैठकले विमानस्थललाई ‘एप्रोच लाइट’ सुविधायुक्त विमानस्थलका रूपमा विकास गर्न दीर्घकालिन सोचसहित काम अघि बढाउने निर्णय गरेको थियो ।

यि योजना पुरा नहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन विमानस्थलले आन्तरिक उडानका वायुसेवा प्रदायकलाई जहाजको रात्री बिसान काठमाडौँ बाहिरका विमानस्थलमा गराउने निर्णयानुसार सुर्खेत विमानस्थलमा यसको व्यवस्था हुन सकेको छैन ।

झण्डै २ अर्ब बराबर रकम लाग्ने अनुमान गरिएको विमानस्थल विस्तार र स्तरोन्नति भन्दै पहिलो चरणमा प्रदेश सरकारले ५० करोड र केन्द्र सरकारले ५१ करोड बजेटसमेत छुट्याएका थिए । विस्तारका लागि संघीय र प्रदेश सरकारबीच १५ असोज २०७७ मा समझदारी पत्रमा हस्ताक्षरसमेत भएको थियो । तर, प्रदेश सरकारले विस्तारको काम अघि बढाउनै सकेन । केन्द्र र प्रदेश सरकारले छुट्याएको एक अर्ब एक करोड रकम फ्रिज भयो ।

२०७८÷०७९ मा पनि एक अर्ब ५० करोड बराबरको रकम विनियोजन भएको थियो । तर, त्यो बेला सबैजसो राजनीतिक दलहरूले विस्तार कार्य अगाडि बढाउनका लागि सहयोग गरेनन् । नागरिक उड्डयन प्राधिकरण र प्रदेश सरकारले विस्तार कार्य अगाडि बढाउनका लागि जग्गाको कारोबार रोक्का गरी सकिएको थियो भने लगत सङ्कलन कार्य अघि बढाइसकिएको थियो ।

प्रदेश सरकारले नागरिक तहमा कुनै छलफल नै नगरी जग्गा रोक्का प्रक्रियाका लागि पत्र लेख्ने काम ग¥यो, जसको व्यापक विरोध भयो । विमानस्थलको धावनमार्ग विस्तार गर्दा वीरेन्द्रनगर नगरपालिका १०, ११, र १२ नं. वडाका करिब ९ सय २३ घरधुरी परिवार, विद्यालय पनि प्रभावित हुने भएपछि स्थानीयले संघर्ष समिति नै गठन गरेर विरोधमा उत्रिए । स्थानीयको विरोधपछि २०७८ मा तत्कालिन मुख्यमन्त्री जीवनबहादुर शाहीले विमानस्थल विस्तार गर्ने बजेटले नयाँ विमानस्थल बनाउन सकिने भन्दै विस्तार योजनाको च्याप्टर क्लोज गरिदिएका थिए ।

सुर्खेत–हुम्ला परीक्षण उडान भर्दै वायुसेवा निगम
सुर्खेत विमानस्थलबाट आन्तरिक हवाई उडानका लागि लामो प्रयासपछि सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले आगामी ७ फागुनबाट सुर्खेत विमानस्थलबाट हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा पहिलो पटक परीक्षण उडान भर्ने भएको छ ।

केही समय अगाडि सुर्खेत क्षेत्र नम्बर २ का संघीय सांसद हृदयराम थानी, प्रदेशसभा सदस्य यामलाल कँडेल लगायत सरोकारवालाहरुको पहलमा वीरेन्द्रनगर नगरपालिकाले प्रदेश सरकारलाई कर्णालीमा आन्तरिक उडानको व्यवस्था मिलाई दिन संघीय सरकारसँग अनुरोध गरेको थियो ।

नेपाल एयरलाइन्सले कर्णालीका ४ जिल्लामध्ये हुम्ला जिल्लाबाट सुर्खेतका लागि परीक्षण उडान भर्न लागेको हो । नेपाल वायुसेवा निगमको क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख मानबहादुर चौधरीले सुर्खेत विमानस्थलबाट ७ फागुनबाट हुम्लाको सिमकोट विमानस्थलमा पहिलो पटक परिक्षण उडान भर्न लागेको जानकारी दिए ।

चौधरीका अनुसार राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर नियमित कार्यतालिका अनुसार वायुसेवा निगमले उडान भर्न लागेको हो । हाल नेपालगन्जबाट हुम्लाका लागि उडान भर्ने वायुसेवाका टुइनेटर जहाजले प्रयोग हुनेछन् ।

‘सुर्खेत विमानस्थलदेखि हुम्ला परिक्षण उडानका लागि सबै तयारी पूरा भएको छ, परीक्षण उडानपछि हाम्रा जहाजहरु सुर्खेतबाटै कर्णालीका हिमाली जिल्ला हुम्ला, जुम्ला, मुगु र डोल्पाका लागि उडान भर्ने छन्’ प्रमुख चौधरीले भने ।

श्री एयरको जहाज आकस्मिक अवतरण
सुर्खेतबाट चालकदलसहित ५८ जना यात्रु लिएर उडेको श्री एयरलाइन्सको जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भएको छ ।बिहीबार साँझ सुर्खेतबाट काठमाडौंका लागि उडान भरेको श्रीको जहाजमा प्राविधिक समस्या देखापरेपछि विमान चालकले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा आकस्मिक आवतरणको अनुमति मागेका थिए ।

विमानस्थल कार्यालयका अनुसार उक्त विमानको फल्याप (विमानको ब्रेक लगाउने प्रणाली) मा समस्या उत्पन्न भएपछि इन्धन खपत गर्न काठमाण्डौंको आकाशमा जहाजलाई केही बेर घुमाइएको थियो । श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरका अनुसार उक्त विमान बिहीबार साँझ ६ बजेको समयमा सकुशल आकस्मिक अवतरण भएको बताए ।

ओझेलमा परेको सुर्खेत विमानस्थलमा चहलपहल बढ्यो

सम्पादकीयः विकास निर्माणको जिम्मा सेनालाई देऊ