गोपालको उद्यम यात्रा : शिक्षकको जागिर छाडेर कृषिकर्ममा रमाउँदै


जुम्लाको हिमा गाउँपालिका, मोफ्ला गाउँका गोपालबहादुर रोकायाले आफ्नो जीवनको महत्वपूर्ण क्षणमा शिक्षकको जागिर छाडेर कृषि कर्ममा लागे । ४४ वर्षीय गोपालका लागि यो सजिलो थिएन । तर उनले कृषिमा नयाँ चुनौती स्वीकार गरे ।
चार वर्षअघि, उनले राहदेव माविमा सामाजिक विषय पढाउने शिक्षकको रूपमा मासिक चालीस हजार तलब खान्थे । तर, उनको मनमा सधैँ केही अरू गर्ने चाहना थियो । गाउँकै एकजनाबाट प्रेरणा पाएपछि उनले शिक्षण पेशा छोडेर व्यावसायिक स्याउ खेतीमा आफ्नो भविष्य बनाउने निर्णय गरे । अहिले गोपालको रुम्तु फलफूल उत्पादन तथा नर्सरी जडिबुटी प्रशोधन उद्योग जुम्लाको प्रमुख कृषि व्यवसायिक केन्द्रमध्ये एक बनिसकेको छ ।
उनले स्याउ, स्ट्रबेरी, काफल, ओखर र स्थानीय बाख्रापालन गर्दै आएका छन् । १३ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको बगैँचामा ५ टनेल र आधुनिक कृषि उपकरणहरू जडान गरिएको छ । गोपालको फार्ममा १ सय ५० गाला जातका स्याउका बिरुवा, ३ सय ५० ओखरका बिरुवा, १ सय खरायो र २५ स्थानीय बाख्रा पालेका छन् ।
गोपालले गत वर्ष ११ लाख ८० हजार रुपैयाँको कृषि उपज बिक्री गरेका थिए । यस वर्ष भने उनले १३ लाख ७० हजार रुपैयाँ बराबरको बिक्री भइरहेको छ । उनका उत्पादनहरू स्थानीय बजार हुँदै जुम्ला सदरमुकाम खलङ्गासम्म पुग्छन् । यसको दायरा बढाएर लैजाने उनको इच्छा छ ।
उनी भन्छन्, “मेरो कृषि कर्मप्रतिको लगाव, निरन्तर, प्रयोग र अभ्यासले मलाई पूर्ण बनाए जस्तो लाग्छ ।” उनले फर्मभित्र जङ्गली जनावर र घरपालुवा गाईवस्तु नपसून् भनेर फलामे तारबारसहित बगैँचा घेरेका छन् । पानी सङ्कलन गर्ने दुईवटा पोखरी पनि छन् । उनले गाईवस्तुबाट उत्पादित मललाई स्याउ बारीमा प्रयोग गर्दै आएका छन् । ६९ लाख रुपैयाँको लगानीबाट सुरु भएको उनको उद्यममा अहिले लगानी बढेर एक करोड रुपैयाँभन्दा माथि पुगेको छ ।
सडक सञ्जाल जोडिएसँगै अहिले सहजता भएको भन्दै उनले भने, “अहिले सडक बनेपछि उत्पादित सामान बजार पुर्याउन सहज भएको छ ।” गुणस्तरीय सामान उत्पादन गर्नेलाई बजारको कुनै समस्या नहुने उनको अनुभव छ । “उत्पादन गर्न सके बजारमा खोसाखोस हुन्छ”,उनी भन्छन्, “जिल्लाका विभिन्न कृषकसहित व्यक्ति मेरो फार्म हेर्न आउनुहुन्छ, मलाई हौसला दिएर जानुहुन्छ । यसरी मानिस मेरो कर्म हेर्न आउँदा मलाई आत्मसम्मान र आत्मगौरव मिलिरहेको महसुस हुन्छ ।”

उनलाई परिवारको पनि राम्रो साथ छ । श्रीमती रुद्रकली रोकायाले कृषि पेसामा उनको साथ दिने गरेकी छिन् । गोपालले कृषि व्यवसायलाई केवल एक पेशा मात्र नभएर एउटा जीवनशैलीको रूपमा लिएका छन् । अब गोपाल किसानलाई उद्यमीका रूपमा विकास गर्ने ठूलो सपनासँगै अगाडि बढेका छन् । यदि कृषकलाई उद्योगसँग जोड्न सकियो भने कृषि व्यवसाय दिगो र सशक्त बन्ने उनको विश्वास छ । रोकायाले जिल्लामा सफल किसानको पहिचान बनाउन सफल भएका छन् ।
उनका अनुभव र कष्टपूर्ण यात्रा अहिले स्थानीय कृषकका लागि एक प्रेरणा बनेको छ ।






