सम्पादकीय: मानसिक स्वास्थ्यमा खेलबाड किन ?

मनोसामाजिक समस्या आफैमा रोग होइन । यो मानिसका आफ्ना व्यक्तिगत आनिबानी र व्यवहारमा जोडिएको हुन्छ । मनोचिकित्सकहरूका अनुसार सामान्यतया मानव मस्तिष्कले गर्ने विभिन्न कार्य बोली, चेतना, भावना, विचार, स्मृति, स्मरण शक्ति आदि कार्यमा सन्तुलन नमिल्नु मानसिक समस्या हो । मानिस पूर्णरुपमा स्वस्थ रहन शारीरिक र मानसिकरूपमा स्वस्थ हुनुपर्छ । मानसिक स्वास्थ्य विश्वव्यापी चुनौतीको विषय पनि हो । मन, शरिर र समाजबीचको अन्तर सम्बन्ध नै मनोसामाजिक स्वास्थ्य हो । यदि मन, शरीर र समाजबीचमा उपयुक्त तालमेल भएन भने व्यक्तिको मन खिन्न भई विभिन्न मनोसामाजिक समस्या उत्पन्न हुन्छ । मन सन्तुलनमा नभए मानिस तनाव, चिन्ता र डिप्रेसनमा जान्छ । मानसिक समस्यामा परेको व्यक्तिले सही र गलत छुट्याउन सक्दैन । यस्तो समस्यामा परेका व्यक्तिहरुले अरुको सहयोगको अपेक्षा गरेका हुन्छन् । आफ्ना कुरा सहजै अरुलाई व्यक्त नगर्दा त्यस्ता कुराहरु उसको मनमा कुण्ठा बनेर बसेको हुन्छ । आफूमा भएको निराशाको औषधी उनीहरुले खोजिरहेका हुन्छन् । बिना कारण दिक्क लाग्ने, रमाइलोमा पनि खुशी हुन नसक्ने, कसैसँग बोल्न मन नलाग्ने, खानामा पटक्कै रुचि नहुने, निद्रामा समस्या हुने लगायतका मानसिक समस्याका प्रारम्भिक लक्षण हुन ।

नेपाल त्यसमा पनि विशेष गरी कर्णाली प्रदेश मानव विकासको सुचाङ्कमा पुछारमा पर्दछ । मानव विकासका सुचक कमजोर भएका क्षेत्रका मुख्य समस्याहरु गरिबी, अशिक्षा, स्वास्थ्य, बेरोजगारी र आर्थिक समस्या प्रमुख हुन्छन् । मानिसका लागि हुनै पर्ने तिनै सुचक पुरा नभएपछि निराशा बढ्नु स्वभाविकै हो । तर कर्णालीमा यिनै कारणबाट सिर्जित मानसिक समस्याबाट धेरैले आत्महत्याको बाटो रोजिरहेको तथ्यांकले देखाउँछन् । मान्छेमा बढी महत्वाकांक्षा हुनु र ति महत्वाकांक्षा पुरा हुने आधारहरु आफूमा नहुनले शिक्षित र धनि भनिएकाहरु प्नि मानसिक समस्यामा परेर गलत निर्णय लिइरहेका छन् । मनमा पीडा असह्य भएर बढ्दै गएपछि व्यक्तिलाई बाँच्ने इच्छा र चाहना घट्दै जान्छ र पीडाबाट मुक्ति आत्महत्या गरेपछि मात्र पाइन्छ भन्ने सोचाई बलियो हुँदै गएपछि व्यक्तिले आत्महत्या गर्ने बाटो रोज्छ । पछिल्ला तथ्यांकले कर्णालीमा अप्रिय घटना बाहेक सामान्य हुने मृत्युको दरभन्दा बढी मानसिक समस्यामा परेका व्यक्तिले उचित परामर्श र उपचार सेवा समयमै नपाउँदा आत्महत्या रोज्ने गरेको देखाउँछ । मानसिक समस्याकै कारण झण्डिएर, विष सेवन, हातहतियार प्रयोग, हामफालेर देह त्याग गर्ने महिला, पुरुषसँगै बालबालिकाको संख्यामा पनि उल्लेख्य बृद्धि भइरहेको छ । यसले कर्णालीको कुरुप मानसिक स्वास्थ्यको अवस्था चित्रण गर्दछ ।

संविधानले मानसिक समस्यालाई मौलिक अधिकारका रुपमा व्याख्या गरेको छ । तर राज्यले शारिरिक स्वास्थ्यलाई मात्र प्राथमिकतामा राख्दा स्थिती भयावहतर्फ उन्मुख भइरहेको छ । सरकारले मानसिक स्वास्थ्य उपचारमा जोड दिँदै अघि सारेका दीर्घकालिन लक्ष्य अनुसार नीति तथा कार्यक्रम कर्म काण्डीमै सिमित छन् । जसले समाजमा आत्महत्या भुसको आगोसरी फैलिरहेको छ । कर्णालीमा हालसम्म पनि मानसिक समस्याको उपचार हुने छुट्टै अस्पताल छैनन् । भएकामा पनि मानसिक रोग सम्बन्धिका विशेषज्ञको चरम अभाव छ । अर्कोतर्फ मानसिक समस्याका बारेमा आवश्यक जनचेतना छैन । सरकारले बर्षेनी आत्महत्य रोकथामका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दछ । तर आत्महत्याको तहसम्म पु¥याउने मानसिक समस्याका बारेमा खासै काम गरेको देखिँदैन । आत्महत्याका बारेमा जनचेतना फैलाएर मात्रै हुँदैन । आत्महत्यासँगै मानसिक समस्यालाई विद्यालयका शिक्षक, विद्यार्थीदेखि परिवार र समाजमा मसिनो गरी सचेता जगाउन आवश्यक छ । यसतर्फ राज्यको बेलैमा ध्यान जाओस् ।

सम्पादकीय: मानसिक स्वास्थ्यमा खेलबाड किन ?

राज्यको चौथो अङ्गको रुपमा नेपाली प्रेसको भूमिका

सम्पादकीय: मानसिक स्वास्थ्यमा खेलबाड किन ?

सर्वोच्चमा मुद्दा परेपछि रोकियो फुकोट कर्णाली जलविद्युत

This will close in 0 seconds