सम्पादकीय : बलिदानीबाट प्राप्त प्रदेशका जनताले के पाए ?

२३ साउन २०७२ मा राजनितिक सहमतिमा ६ प्रदेश अंकित संघीयताको खाका सार्वजनिक गरेसंगै मध्यपश्चिम टुक्राउने कुराको खुलेर स्वस्फुर्त बिरोध हुन थाल्यो । साविक भेरी अञ्चलका बाँके र बर्दिया बाहेकका अन्य जिल्ला मिसाएर सुदुरपश्चिममा सिमाङ्कनको निर्णय सार्वजनिक भएको थियो ।
सो कुरा मध्यपश्चिमलाई मान्य नहुने भन्दै आवाज उठ्यो । आवाज यसरी उठ्यो कि ४ जना शहिद भए सयौंको संख्यामा घाईते भए तर आन्दोलन रोकिने छाँट नभएपछी घुँडा टेकेर कर्णाली प्रदेश छुट्याइएको हो । त्यसैले कर्णाली प्रदेशलाई सबैभन्दा कान्छो प्रदेश पनि भनिन्छ । मध्यपश्चिमाञ्चल विकास क्षेत्रका नागरिकलाई विकास क्षेत्रको सदरमुकाम सुर्खेतको वीरेन्द्रनगर रहँदा नै खेपेका सौतेनी व्यवहार अब त झन सुदुरपश्चिम भएपछी त्यति पनि नरहने भन्दै आन्दोलन चर्किन थाल्यो र फलस्वरुप कर्णाली प्रदेश छुट्याउन बाध्य भए ।
त्यसरी बालबच्चा टुहुरा बनाएर, चेलीका सिंउदो पुछेर, आमाका काख रित्याएर, चेलीका माईती घटाएर ल्याएको कर्णाली प्रदेशको अहिलेको हालत हेर्दा यिनिहरुलाई ती आँसुले कति पोल्ला, कति श्राप लाग्ला ? प्रदेश प्राप्तीका बेला पाएका खुशी र अधिकार अहिले कुन अवस्थामा छ ? कर्णालीमा प्रदेश संरचनाका ९२ भन्दा बढी कार्यालय खडा गरेर आफ्ना कार्यकर्ता र आफन्तलाई जागिर खुवाएका छन् ? के प्रदेश प्राप्तीको आन्दोलन नेताका आसेपासेलाई जागिर खुवाउनलाई हो त ? त्यतिका कार्यालयमा करोडौं प्रशासनिक खर्च बढेको छ ? तर उपलब्धि के छ ? औंलामा गन्न मिल्छ ?
मिल्दैन भने उपलब्धिहिन कार्यालय किन चाहिएको ? हरेक बर्ष बहुवर्षिय योजना भनेर कार्यक्रम ल्याइएको छ तर काम अहिलेसम्म पुरा हुन सकेका छैनन ? आवश्यकताका आधारमा कार्यक्रम बनाएको भए पुरा किन भएनन ? नेताका निर्वाचन क्षेत्र केन्द्रीत र आफु पावरमा हुँदा भद्रगोल रुप्मा बनाइएका बहुबर्षिय आयोजना बेवारिसे लगानीले अलिकती पनि आत्मग्लानी हुँदैन ? डिपिआरमै अल्झिएको सुर्खेत मेडिकल कलेज किन बन्न सकेन होला ? ठेक्कामा गएका अस्पतालका भवन किन बनेनन होला ? ३ महिनामा मुख्यमन्त्री र मन्त्रीहरु किन फेरिए होलान ? प्रदेश सभा सदस्य ३९ मध्येमा डेढ वर्षमै २२ जना मन्त्री बन्नुपर्ने अवस्था कसले ल्याईदियो होला ?
प्रदेश निर्माणपछि स्थानीय कति उत्पादनले निर्यानमार्फत कति बिदेशी मुद्रा आर्जन ग¥यो होला ? सुर्खेतको बिमानस्थल निर्माण र विस्तारको मुद्धा कुनचाँही दुलो पसो होला ? कृषि क्वारेनटाईन कुन चाँही नेताको घरमा बन्यो होला ? हरेक वर्ष उत्पादन भएका १००० युवाले कर्णालीका के कस्ता उद्यम चलाएका होलान ? नेपाली हातेकागज कहाँ कहाँ निर्यात गर्ने व्यवस्था गरेहोला सरकारले ? कर्णालीमा विद्युत नियमित कहिलेदेखि भयो होला ? प्रदेश स्थापनामा ज्यानको बाजी राखेर र शहिद भएकाहरुको नाममा सरकारले के गरेको छ होला ? भनेर खोज्दा खेरी केही पनि भेटिएन । नेताको काम भनेको आफ्नो मन्त्री हुने पालो कुर्ने र कुर्ची पाएपछी आफ्नो कार्यालय व्यवस्थापनको नाममा नयाँ कुर्ची, पलङ सोफा, डेकुरेशनबाट सुरुवात गरेर भाईभतिज, सालासाली, श्रीमति, छोराछोरी, बुहारी आदीलाई जागीर खुवाउने र जिन्दावाद र मुर्दावादका नारा लगाउनेलाई अनुदानका नाममा करोडौं बजेट बाँड्ने मात्रै हो त ?
पञ्चयातदेखी नै मिलेर बसेको मध्यपश्चिमको आपसी भाईचारा बिगार्नेगरी लागिपरेका प्रमुख भनिने दलहरु त्यो सफलता हाँसिल गर्न सकेनन । जनताका अगाडी घुँडा टेकेर पनि अहिले पनि तालाचाबी तिनकै हातमा भएपछी छुट्टै के अपेक्षा गर्नु र ? ९ वर्षसम्म ९००० नेता जन्मिए होलान तीनका ७ पुस्ता पुग्नेगरी अकुत सम्पत्ति कमाएहोलान त्यो भन्दा बढी न यिनले केही गरे त, गर्नेवाला नै छैनन् ।
स्वस्फुर्त रुपमा आन्दोलनमा होमीएका विद्यार्थी, पत्रकार, समाजसेवी, सर्वसाधारण र विभिन्न पेसाकर्मीहरु ज्यान गुमाउनेका नाममा शहिद थपिदिए, कोही शरिरमा गोली बोकेर बाँचेका छन् त कोही तिनै गोलीका छर्राका कारण विभिन्न रोग लागेर ज्यान गुमाउन पुगेका छन् । तर कर्णाली प्रदेश बेथिति गर्ने नेता र नेतृत्वका लागि मात्रै उर्बर भूमि भयो ।






