आरन पेसा गर्ने घटे


जुम्लाको पातारासी गाउँपालिक–५ लासी बजार छेउमा काठले बार लगाएको एउटा सानो छाप्रो छ । त्यही छाप्रोमा बिहानदेखि साँझसम्म दैनिक जसो भेटिन्छन् ५६ वर्षीय निलो कामी । उनी एक हातले घन र अर्को हातले पङ्खा घुमाइ रहन्छन् ।

उनको दैनिकी कोइला र हथौडाबाट सुरु हुन्छ । उनको आम्दानीको स्रोत यही मेसिन हो । उनको स्थायीको घर उक्त गाउँपालिका–३ तल्फी गाउँमा हो । उनी गाउँपालिकाको सदरमुकाम लासी बजारमा छाप्रोको भाडा तिरेर बस्छन् । कामी कृषि ओैजार र घरायसी ओैजारका विभिन्न भाँडाकुँडा बनाउँछन् । बुबा बाजेबाट भाँडाकुँडा बनाउन सिक्केका उनले आरन व्यवसाय सञ्चालन गरेको ४२ देखि ४३ वर्ष पुरानो भयो ।

एक दशक अघिसम्म उनलाई कामले फुर्सद हुँदैनथ्यो । अहिले ग्राहक आउन छाडे । किसानहरू फाट्टफुट्ट फलामे सामान मर्मत र नयाँ बनाउन आउँछन् । ग्राहक नै घटेपछि पछिल्लो समय कतिपयले आरन पेसा नै छाडेका छन् ।

“यसै पेसाबाट जसोतासो घरखर्च चल्दै आएको छ”, निलोले भने । आरन पेसा अपनाउँदै आएका कामीले बिगतमा निकै दुःख खेप्नु परेको बताउँछन् । केही वर्ष अघिसम्म फलामको काम गर्दा अन्न मात्र दिने गरेकामा पछिल्लो समय त्यसवापत उनले नगद पाउँछन् । यही पैसोले उनले छोराछोरीको लत्ताकपडा किन्ने गरेका छन् ।

“छोराहरुले यो पेसालाई अपनाउन चाहँदैनन्, अब पेशा सङ्कटमा पर्ने चिन्ता छ”, उनी भन्छन् । आरन व्यवसाय सङ्कटमा परेको छ । “बजार अभाव छ, त्यसैले आरन व्यवशाय गाउँघरबाटै हराउँदै गएको छ”, स्थानीय भक्तबहादुर बुढाले भने । परम्परागत घरेलु हस्तकलाका सामग्रीको प्रयोग कम हुनुका साथै मेहनत गरेअनुसारको मूल्य नपाउँदा पनि यो पेसा विस्तारै लोप हुँदै गएको छ ।

अर्का आरन व्यवसायी तुला कामी यही पेसालाई आधुनिक ढङ्गले व्यावसायिक रुपमा अघि बढाउन सके स्थानीय स्रोतसाधनको प्रयोगबाटै गाउँघरमा रोजगारी सिर्जना गर्न सकिने बताउँछन् । “अहिलेका युवाको यो पेसाप्रति चासो छैन”, उनले भने । पहिला–पहिला गाउँघरमा आरन व्यवसाय गर्नेको सङ्ख्या उल्लेख्य थियो । भाँडाकुँडा बनाउन कोइलाको प्रयोग गरिन्छ । अहिले दाउराको पनि अभाव हुन थालेको छ ।

स्थानीय जोर कामी भन्छन्, “मैले सानै उमेरदेखि बुबा र बाजेले काम गरेको देखेर सिकेको हुँ, अहिलेका पुस्ताले सिक्न चाहँदैनन्, सिकेर खेर जाँदैन, यसबाट पनि पैसो कमाउन सकिन्छ”, उनले भने । दस जनाको परिवारको खर्च आरन पेसाबाटै चलाएको उनले बताए । सुरुका दिनमा बन्चरो, कोदालो, हँसिया, साबेल,कुटा,फालो लगायत बनाउन बिहानदेखि किसानको लाइन लाथ्यो । ‘अहिले कुरेर बस्नुपर्छ । किसानले बजारका रेडिमेड सामानहरू किन्न थाले,’ उनले भने, ‘यही कारण गाउँघरमा परम्परागत रूपमा चल्दै आएको आरन व्यवसाय विस्तारै लोप हुन थालेको छ । गाउँघरमा बिग्रिएको मेसिनरी सामानको फलाम आरनमा त्यतिकै दिन्थे । अहिले फलामहरू कवाडमा बिक्री हुन थालेपछि आरनलाई अभाव हुन थालेको उनले सुनाए ।

धेरै मिहिनेतमा कम आम्दानी हुन थालेपछि बिस्तारै यो पेसा गर्ने घटेको उनको भनाइ छ । आरनमा कुनै पनि फलामे सामानको धार लगाउँदा वा नयाँ मर्मत गर्दा ४ सयदेखि १ हजार सम्म लिने गरेको व्यवसायीहरू बताउँछन् । स्थानीय सरकारले आरन पेसा लोप हुन नदिन विभिन्न कार्यक्रम ल्याउनुपर्ने उनको माग छ ।

आरन पेसा गर्ने घटे

रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको

आरन पेसा गर्ने घटे

बाँकेको जमुनाहा नाका बन्द

This will close in 0 seconds