रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको अपेक्षा


मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिकास्थित नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा ‘रारा रिसोर्ट’ निर्माण हुने भएपछि मुगुवासी हर्षित बनेका छन् ।

भर्खरै सकिएको तेस्रो लगानी सम्मेलनमा रारामा बन्ने पहिलो लक्जरी रिसोर्टका लागि अष्ट्रेलियन गुप्रले लगानी गर्ने गरी सम्झौता भएपछि सो क्षेत्रका बासिन्दामा खुसी भएका हुन् । अष्ट्रेलियन एक्सपर्ट गुप्रसँग रारा रिसोर्ट निर्माणका लागि साझेदारी गरेको रारा होल्डिङ प्रालिले मुगुका स्थानीयवासी, राजनीतिक दलका नेता तथा जनप्रतिनिधिसँग गरेको अन्तक्र्रियामा त्यहाँका बासिन्दा रारामा वैदेशिक लगानी भित्रिन लागेकोमा खुसी भएका हुन् ।

स्वर्गकी रानीको उपमा पाएको नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा नेपालमा जन्मेर लामो समय अष्ट्रेलियामा बस्दै आएका बद्री अर्याल र सञ्जीव शर्माले एक्सपर्ट गुप्रमार्फत लगानी भित्र्याएका हुन् । तेस्रो नेपाल लगानी सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ र सचिव दीपक काफ्लेको उपस्थितिमा रारा रिसोर्टमा लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।

पूर्वराज्यमन्त्री हस्तबहादुर मल्ल रारा रिसोर्टले मुगुमात्र नभई समग्र कर्णाली प्रदेशकै विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । “उक्त रिसोर्टलाई समयमा नै सम्पन्न गर्नका लागि स्थानीयवासीलाई समेटेर अगाडि बढ्न जरुरी छ”, उनले भने । रारा क्षेत्रमा राष्ट्रिय निकुञ्जसमेत रहेकाले राष्ट्रिय निकुञ्जभित्रको ऐन, कानुनलाई समेत समावेश गरेर अगाडि बढ्नुपर्ने उनले सुझाव दिए ।

नेकपा (एमाले) मुगुका पूर्वजिल्ला अध्यक्ष डम्बरबहादुर रावल मुगुको पर्यटन क्षेत्रको विकासका लागि विदेशी लगानी भित्रिन लागेकोमा खुसी व्यक्त गरे । “मुगुको विकासका लागि रारा रिसोर्ट निर्माण हुन लागेको छ भन्ने आम मुगुपासीलाई अनुभूति दिलाउन जरुरी छ”, उनले भने ।

नेपाली कांग्रेस मुगुका नेता खगेन्द्र मल्ल मुगुमा नयाँ रिसोर्ट बन्दै गर्दा यहाँ काम गर्ने कामदारदेखि निर्माण सम्पन्न भएपछि रिसोर्टमा काम गर्ने जनशक्तिमा मुगुलाई प्राथमिकता दिनुपर्ने बताए । “विकासमा राजनीति गर्न हुँदैन, यहाँ पर्ने अप्ठेरालाई सहजीकरण गर्न स्थानीय क्षेत्रका बासिन्दा भएकाले हामी सहयोग गछौँ”, उनले भने ।

मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्यान्पे लामा रारा क्षेत्रमा आएका पर्यटकलाई छाँयानाथसम्म लैजान सके मुगु जिल्लाको पर्यटन क्षेत्रले गति लिने बताए । रिसोर्ट निर्माणमा स्थानीय बासिन्दालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

रारामा रिसोर्ट निर्माण गर्न लागेको नेपाली कम्पनी रारा होल्डिङस् प्रालिका सञ्चालक अभिषेक विक्रम शाह रारा क्षेत्रमा जतिसक्दो धेरै पर्यटक लगेर रारामात्र नभई समग्र कर्णाली क्षेत्रको पर्यटक विकासका लागि ‘रारा रिसोर्ट’ निर्माण गर्न लागिएको बताए ।

“म कर्णाली क्षेत्रकै बासिन्दा हुँ, कर्णालीको पर्यटन क्षेत्रको विकासका लागि मैले केही गर्नुपर्छ भनेर उक्त परियोजना अगाडि सारेको हुँ, यसलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक छ”, उनले भने ।

मुगुको छायानाथ रारा नगरपालिका, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने लक्जरी रिसोर्टमा पहिलो चरणमा करिब रु ७० करोड लगानी हुने बताइएको छ । रिसोर्ट वातावरणमैत्री र स्थानीय संस्कृति झल्किने नेपाली डिजाइनमा निर्माण गरिने र स्थानीयस्तरमा उपलब्ध स्रोत तथा साधनको अधिकतम प्रयोग हुने शाह बताए ।

समुद्र सतहदेखि तीन हजार सात सय मिटर उचाइमा निर्माण हुने यो रिसोर्टबाट रारा ताल र त्यस क्षेत्रका हिमालको मनमोहक दृश्य देख्न सकिन्छ । “यो परियोजना कर्णाली प्रदेशकै पहिलो लक्जरी रिसोर्ट हो, परियोजना निर्माण सुरु गर्नका लागि सबै प्रक्रिया लगभग अन्तिम चरणमा पुगेका छन्, मुगुवासी सबैसँगको छलफल र सहकार्यमा यस परियोजनालाई आगामी १८ देखि २२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएका छौँ”, शाहले भने ।

आयोजनामा दोस्रो चरणमा ४० करोड लगानी थप हुने निर्माण कम्पनीले जनाएको छ । एक्सपर्ट गुप्रले अष्ट्रेलिया र नेपालमा शिक्षा र जलविद्युत्का क्षेत्रमा लगानी गर्दै आएको छ ।(रासस)

रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको अपेक्षा

‘प्रथम कर्णाली हाफ म्याराथन’को उपाधि रावत र

रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको अपेक्षा

आरन पेसा गर्ने घटे

This will close in 0 seconds