तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै सिंजाका युवा


जुम्लाको सिंजा गाउँपालिकाका युवा तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । गाउँघरमा उपयुक्त रोजगारी नपाएको भन्दै सयौं युवा खाडी तथा कालापहाड पलायन भइरहेको बेला सिंजा–२ का युवा वडास्तरीय युवा क्लबमार्फत् खेती गरेर तरकारी बेचरै लाखौं कमाउन थालेका हुन् ।
गाउँको आर्थिक, सामाजिक तथा राजनीतिक रूपान्तरण र सभ्य समाज निर्माणका निम्ति गठन गरिएको वडास्तरीय युवा क्लबले ३/४ महिनाको अवधिमा तरकारी बेचेरै दुई लाख ५४ हजार बढी आम्दानी गरेका हुन् । विभिन्न उद्देश्यले गाउँगाउँमा बाल क्लब युवा क्लब गठन भएका छन् । तर अधिकांश क्लब अनुदानमुखी, दाताको सहयोग हुन्जेलसम्म मात्रै रहने पछि विस्तारै सेलाउने गरेका छन् । तर सिंजा गाउँपालिका–२ को वडास्तरीय युवा क्लब भने जिल्लामै नमुना कार्य गर्दै अघि बढिरहेको छ ।
युवाकै अगुवाइमा गाउँको खाली जग्गामा तरकारी खेती गरेर हालसम्म दुई लाख ५४ हजार बराबरको तरकारी बिक्री गरिसकेको युवा क्लबका अध्यक्ष विश्वराज आचार्यले बताए । उनका अनुसार बारीमा ८० केजी च्याउ उत्पादन गरिएको छ । जसको माग बढी भए पनि पूर्ति गर्न सकिएको छैन । त्यस्तै, भेण्टा, काउली, मुला, खुर्सानी, प्याज टमाटरलगायतका तरकारी रोपिएको छ । प्याजका बिरुवा उमारी तीनवटा बारीमा रोपिएकाले यसबाट पनि क्लबलाई आम्दानी हुने देखिएको छ ।
उनले भने, ‘युवा क्लब र बाल क्लब गाउँको कुरितीमात्रै अन्त्य गर्नेतर्फ मात्र अग्रसर नभई उत्पादनमुखी हुनुपर्ने हाम्रो मान्यता छ । अन्य युवालाई पनि प्रेरणा मिलोस् भन्ने अपेक्षाले कृषिमा जुटेका छौं । यसलाई निरन्तरता दिन्छौं ।’ तरकारी बेचेर भएको आम्दानीले युवाको सशक्तीकरण क्षमता विकासमा खर्चिने युवा क्लबको योजना छ । सामाजिक सशक्तीकरणसँगै आफूलाई उत्पादनसँंग जोडिन पेस नेपालले सचेतना दिएको क्लबका अध्यक्ष आचार्यको भनाइ छ ।
सिंजा वडा नं २ मा पेस नेपालको सहयोगमा युवा क्लब गठन भएको हो । ग्रामीण युवाको सशक्तीकरण क्षमता विकास, गाउँमा हरेक विकृतिविरुद्ध एक जुट हुन नीति निर्माणदेखि उत्पादनमुखी क्षेत्रमा सक्रिय बनाउन युवा क्लब गठन गरिएको पेस नेपाल जुम्लाका परियोजना संयोजक हेमराज भट्टले बताए ।
उनका अनुसार कारितास जर्मन र कारितास नेपालको आर्थिक सहयोगमा (पेस नेपाल)द्वारा सञ्चालित मानवीय सहायता तथा विपद् जोखिम न्यूनीकरण (उत्थान) परियोजनाले युवाको सशक्तीकरणका लागि काम गर्दै आएको छ । युवालाई आयआर्जनसँग जोड्नका लागि परियोजनाले विभिन्न गतिविधि गर्दै आएको उनको भनाइ छ ।






