लोकसेवा आयोगको राष्ट्रिय सम्मेलन सुर्खेतमा शुरु


लोकसेवा आयोगको चौथो राष्ट्रिय सम्मेलन कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा बुधबारदेखि सुरु भएको छ । प्रत्येक वर्ष फागुन २३ र २४ गते आयोगहरूको राष्ट्रिय सम्मेलन हुने गरेको छ ।
जसअनुसार सुर्खेतमा चौथो सम्मेलन सुरु भएको हो । सम्मेलनको उद्घाटन सङ्घीय लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले गरे । उनले लोक सेवा आयोगलाई कर्मचारी भर्नाको उत्कृष्ट केन्द्र बनाउन प्रदेश लोक सेवा आयोगहरूलाई सुझाव दिए ।
लोकसेवा आयोगहरू आम नागरिकका आस्था र विश्वासका धरोहर भएकोले यी संस्थाको गरिमालाई अझै बढोत्तरी गरी आयोगलाई कर्मचारी भर्नाको उत्कृष्ट केन्द्र बनाउनेतर्फ लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगबिच प्रभावकारी सहकार्य र समन्वय हुन अति आवश्यक रहेको बताए ।
आयोगमा समान चुनौतीहरू रहेको हुँदा राष्ट्रिय सम्मेलनले लोक सेवा आयोग र प्रदेश लोकसेवा आयोगबिचको अन्तरसम्वन्ध्का आधारलाई थप मजबुत बनाउँदै लगेको उनको भनाइ छ । आयोगबाट सम्पादन गरिने कार्यक्षेत्रमा फरक भए पनि कार्य प्रकृतिमा एकरूपता रहेको भन्दै उहाँले कार्य सम्पादनमा गुणस्तरीयता र विश्वसनीयतामा थप अभिवृद्धि हुनेगरी सक्रिय रहन आग्रह गरे ।
आयोगबिच भएका असल अभ्यासलाई आदानप्रदान गर्न, साझा समस्याहरूको विषयमा साझा बुझाइ निर्माण गरी समाधानको मार्ग प्रशस्त गर्न पनि यस्ता सम्मेलनले टेवा पुग्ने उनले बताए ।
योग्यता प्रणालीका आधारभूत मूल्य मान्यता, सिद्धान्त, मापदण्ड तथा विधि प्रविधिको पूर्ण अनुसरण र समयानुकूल परिष्कृत गर्दै लैजानु, राजनीतिक, सामाजिक र व्यक्तिगत सम्बन्धका आधारमा पर्न सक्ने प्रभाव, दबाब र आग्रहबाट मुक्त भई निष्पक्ष भर्ना र छनोटद्वारा राज्यको सेवामा वर्तमान र भावी चुनौतीको सामना गरी राज्यलाई निकास दिनसक्ने योग्य जनशक्ति प्रवेश गराउनु आयोगको मूल उद्देश्य रहेको उनले प्रष्ट पारे ।
उदघाटनसत्रमा सात वटै प्रदेशका प्रदेश लोक सेवा आयोगका अध्यक्षले आयोगमा जनशक्ति अभाव रहेको, शून्य अवस्थाबाट काम गर्नुपरेको, सङ्घीय निजामती सेवा ऐन नबन्दा काम गर्न नसकिएको, समावेशी आयोगले कार्य सम्पादनमा केही कठिनाइ आएकोजस्ता समस्याहरू अवगत गराए ।
यद्यपि चुनौतीका बिच पनि विभिन्न पदहरूको विज्ञापन खोली योग्य कर्मचारी छनोट गरी सिफारिस गरिएको उनीहरूको भनाइ छ । सुदूरपश्चिम प्रदेश योजना आयोगका अध्यक्ष यज्ञराज बोहरा, कर्णाली प्रदेश योजना आयोगका अध्यक्ष रामप्रसाद उपाध्याय, लुम्बिनी प्रदेश योजना आयोगका अध्यक्ष डिलाराम भट्टराई, गण्डकी प्रदेश योजना आयोगका अध्यक्ष विष्णुप्रसाद नेपाल, बागमती प्रदेश योजना आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठ, कोशी प्रदेश योजना आयोगका सदस्य सजना दाहालले आ–आफ्नो प्रदेशमा भएगरेका कामहरूबारेमा जानकारी गराए ।
उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख सचिव चूडामणि पौडेलले लोक सेवा आयोगको गरिमा र साखलाई प्रदेश लोक सेवा आयोगले पनि बचाउन सफल भएको बताए । सङ्घीय लोक सेवा आयोगका सदस्य वीरबहादुर राईले दुई दिनसम्म सञ्चालन हुने सम्मेलनले आयोगहरूले भोग्नुपरेको चुनौती, कठिनाइ, राम्रा अनुभवहरूको आदानप्रदान गरी आयोगलाई थप उत्कृष्ट कार्यसम्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सङ्घ, प्रदेश र स्थानीय तहलाई योग्य, सक्षम र उत्कृष्ट जनशक्ति छनोट गर्न सम्मेलनले थप कामका लागि निर्देश गर्ने उनको भनाइ छ ।






