गण्डकी र कोशीको जित


गण्डकी प्रदेश र कोशी प्रदेशले सुर्खेतमा जारी ३४औं राष्ट्रिय भलिबल प्रतियोगितामा जित निकालेको छ । गण्डकीले विजयी सुरुवात गर्दा कोशीले दोस्रो खेल खेल्दा पहिलो जित हात पारेको हो ।

कर्णाली प्रदेशको सुर्खेतस्थित विरेन्द्रनगरमा रहेको खुल्लामञ्चको कोर्टमा शनिबार भएको खेलमा गण्डकीले सुदुरपश्चिम प्रदेशमाथि ३–१ को सेटमा जित निकाल्न सफल भएको हो ।

गण्डकीले सुदुरमाथि जित निकाल्न संघर्ष गर्नुपरेको थियो । पहिलो र दोस्रो सेट क्रमश २५–२० र २५–१८ ले सहजै जितेको गण्डकीले तेस्रो सेट २२–२५ ले गुमाउन पुगेको थियो । तर प्रतिस्पर्धात्मक चौथो सेटमा २५–२२ ले जित्दै गण्डकीले ३ अंक बटुल्न सफल भयो ।

यस जितले समूह ‘बी’ मा गण्डकीले ३ अंक जोडेको छ । पराजित सुदुरको दुई खेलबाट १ अंक छ । यो समूहमा आर्मी र कर्णालीको ३ अंक छ । मधेश प्रदेशको २ अंक छ ।

शनिवारकै अर्काे खेलमा कोशी प्रदेशले बागमती प्रदेशमाथि ३–० को सोझो सेटमा जित निकाल्दै प्रतियोगितामा पहिलो जित निकाल्न सफल भयो ।

शुक्रवार एपिएफ क्लबसँग ३–० को सोझो सेटमा पराजित भएको कोशीले शनिवार बागमतीमाथि २५–१६, २५–१९ र २५–२२ को सहज जित निकाल्न सफल भयो । यस जितले कोशीको दुई खेलबाट ३ अंक पुगेको छ । यो समूहमा एपिएफ, पुलिस र लुम्बिनीको समान ३ अंक छ । बागमती अंकबिहीन छ ।

शनिवारकै खेलमा कर्णालीले मधेशलाई २५–२०, २५–२१ र २५–१७ ले पराजित गरेको छ । यस्तै पुलिसले लुम्बिनीलाई ३–० को सोझो सेटमा पराजित गरेको छ ।

समूह ‘ए’ मा पुलिस, एपीएफ, लुम्बिनी, बागमती र कोशी छन् । समूह ‘बी’ मा आर्मी, गण्डकी, कर्णाली, सुदूरपश्चिम र मधेश छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । नेपाल भलिबल संघको आयोजनामा उक्त प्रतियोगिता पुस २६ सम्म सुर्खेतमा चल्नेछ ।

गण्डकी र कोशीको जित

YUGAAWHAN NATIONAL DAILY (2080-09-21)

गण्डकी र कोशीको जित

रैथाने बालीको महत्व बुझ्दै किसान