हरायो तीजको दर खाने मौलिकता

जुम्लाको चन्दननाथ नगरपालिका –४ मालाभिड गाउँकी ६६ वर्षीया मायालक्ष्मी उपाध्याय (पण्डित) तीजको समयमा गाइने नारी वेदनाका गीत अझै पनि गुनगुनाउँछिन् । पहिलेपहिले दिदीबहिनी माइतिघरको पिँढी(ओटाली)मा जम्मा भएर गाउने गीत उनको मनसपटलमा अझै ताजै छन् ।
हिजोआज यस्ता गीत गाउन साथी भेट्नै मुस्किल परेको पाध्यायले सुनाइन् ।उनी भन्छिन्, ‘अहिले वेदनाका गीत गाउन खोजे पनि साथी भेटिंदैनन्, सबै पार्टी प्यालेस र होटल जान्छन्, कसलाई वास्ता छैन यस्ता गीतको, मलाई त यो संस्कार नै हराउने हो कि भन्ने पीर लाग्छ।’
तीज नजिकिंदै गर्दा पहिलेपहिले गाउँघर, चौतारामा महिला दिदीबहिनी दुःखसुखका गीत गाउँदै रमाउने गरेको उनी सम्झिन्छिन् । कसैले गित गाउने,केहीले मादल बजाउने र दर पकाउने गर्थ्योैँ,झआधुनिकतासँगै यो संस्कार पनि हराउन थालेको छ । त्यसका कारण आजभोलिको तीज खल्लो लाग्ने गरेको जुम्लाको गुठिचौर गाउँपालिका –३ गर्जाङ्कोट गाउँकी ४५ वर्षिया मनिषा बुढाले बताइन् ।
साँझ परेपछि पालै पालो छिमेकीको घरमा जम्मा भएर गीत गाउने गरेको सम्झना बुढालाई अस्ति भर्खर जस्तै लाग्छ । हिजोआज यस्तो रमाइलो नपाउने गरेको उनको भनाइ छ । ‘गीतलाई आधुनिकताले छपक्कै छोपेको छ, देखासिकी बढेको छ, तीज दुःख बिर्साउने होइन खर्च बढाउने चाँड जस्तै बनेको छ, जो मलाई राम्रो लागेको छैन’, उनले भनिन् । ‘स्पिकर’(ड्याक),मोबाइलमा बज्ने गीतले रमाइलो गराए पनि आनन्द भने दिँदैन भन्छिन् अर्का स्थानीय ८५ बर्षीया जुम्लाको हिमा गाउँपालिका–१ आचार्य लिही गाउँकी उमा आचार्य।विगतका दिनमा गाउँघरमा सबै महिला दिदीबहिनी एकै ठाउँमा जम्मा भई दुःखसुखका गीत गाएर, नाचेर वर्षभरिका पीडा भुल्ने गरेको अनुभव उनीसँग छ,तर पछिल्लो समय यसमा आएको परिर्वतन उनलाई राम्रो लागेको छैन ।
‘पहिलेका गीतमा नारी वेदना हुन्थ्यो, खाना सादा हुन्थ्यो, स्वस्थ हुन्थ्यो, रमाइलो र आनन्द त्यसमा पो थियो’, उनले भनिन्, ‘अहिलेको तडकभडकमा के नै रमाइलो छ र, मात्र देखावटीपन छ, पहिले खानामा जुम्ली मार्सी लोकल (रातो) चामलको भात, जुम्ली मार्सी लोकल (रातो चामलको चिउरा र पिडालु( पाप्डो)को तरकारी र हुन्थ्यो, अहिले त्यो स्वाद कहाँ हरायो ।’
तीज नेपाली नारीको महान् चाड हो । यसको अर्को विशेषता नारी वेदना समेटेर गाइने गीत हो । पहिलेपहिले तीज आएँसगै गाउँघरका दिदी बहिनी एकै ठाउँमा बसेर दुःख र वेदनाका गीत गाउँथे । पछिल्लो समय यस्तो चलन कम हुँदै गएको छ । उनी भन्छिन्, ‘एक दशकअघि प्रत्येक घरका पिँढी(ओटाली)मा दिदीबहिनी भेला हुन्थे, सुखदुःखका गीत गाउँथे, रमाइलो गर्थे, गाउँघरमा रमाइलो छाउँथ्यो, पीडा र वेदनका गीत पनि गाउँथे, पहिले–पहिलेका दरमा चेलीबेटी र आमाबीचको प्रेम झल्किन्थो । समाजका विकृति र विसङ्गति पनि गीत मार्फत गाउँथे, पर्व एउटा सकारात्मक परिवर्तनका लागि आवाज उठाउने जस्तो थियो, पिँढी( ओटाली)मा हुने रमाइलो अहिले होटल बुकिङ गर्दै,पार्टी प्यालेसमा सरेको छ, दुःखसुखका गीतबाट दिदीबहिनी हिन्दी,र्याप,पव र आधुनिक गीतमा पुगिसकेका छन् ।’ यो सांस्कृतिक विरासतको ओरालो यात्रा भएको कतिपयको धारणा छ ।
नेपाली महिलाहरूले तीजलाई पवित्र पर्वका रूपमा मनाउँदै आए पनि पछिल्लो समय तीज मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको महिलाहरूले नै गुनासो गरेका छन् । धार्मिक ग्रन्थ अनुसार पार्वतीले भगवान शिवलाई औधी मन पराउने तर पार्वतीका बुवालाई भने शिव पटक्कै मन नपर्ने भएकाले उनको विवाह विष्णुसँग गरिदिने निर्णय गरे ।
सो कुराले पार्वतीको मनमा चोट पर्याे । अन्तत उनले बुवाको निर्णयविरुद्ध विद्रोह गरिन् । हरितालिका अर्थात् अपहरण गरिएकी महिला पार्वतीलाई साथीहरुले लुकाएर बुवाको घरबाट भगाएर जङ्गलमा राखे । पार्वतीले जंगलमै अन्न जल केही नखाइ निराहर व्रत गरेपछि शिव प्रसन्न भई वरदान दिएको उल्लेख छ । तीजमा गाइने गीत र मनाउने शैलीमा आएको तडकभडकका कारण तिजको मौलिकता हराउँदै गएको छ ।
तीज आउनुभन्दा हप्ता दिन अगाडिबाटै दर खाने प्रचलन बढेको छ । कुनै समय एउटा घरमा जम्मा भएर दर खाने दिदीबहिनी आज भोलि होटल र पार्टी प्यालेसमा भेटिने गरेका उपाध्याय बताउँछिन् । सांस्कृतिक दृष्टिकोण अनुसार तीज भनेको नारीहरुको सौभाग्य र समृद्धिका निम्ति शिव र पार्वतीको उपासना र पूजा गर्ने पर्व हो । हाम्रो हिन्दू वैदिक परम्परा अनुसार व्रत बस्नु अघिल्लो दिन शरीरलाई शुद्ध राख्न शुद्ध खानेकुरा खानुपर्छ ।
खानाबाटै मन, आत्मा, चित्त शुद्ध बन्ने विश्वास रहेकाले पवित्र कार्यअघि खानेकुरा छनोटलाई पनि महत्त्व दिइन्छ । व्रतको अघिल्लो दिन चोखो, मनलाई शान्त पार्ने खालको खानेकुरा खाने र थोरै खानाले भोलिपल्ट तन्दुरुस्त रहन मद्दत गर्छ । अघिल्लो दिन आडिलो खानेकुरा खाँदा व्रतको दिन सजिलो हुन्छ भनेर दर खाने प्रचलन बसेको बताउँछिन् । ६३ बर्षिया माया अधिकारी । गाउँघरमा तीजको दिन पनि काम गर्नुपर्ने हुन्छ । भोकै दिनभरी काम गर्न सकिदैन, काम गर्न बल पनि चाहिन्छ त्यसका लागि अघिल्लो दिन नै दरिलो, आडिलो खानेकुरा खानुपर्छ भन्ने मान्यता छ ।
उनका अनुसार वेदनाका गीतमा नाच्ने महिला अहिले बजारमा आएका रत्यौली गीतमा रमाउँछन्।दिन प्रतिदिन परम्परागत संस्कृति र संस्कार अनुसारको नेपाली मौलिकपन हराउँदै गएकोमा नयाँ पिँढीका महिला पनि चिन्तित छन् । महिला दिदीबहिनीले आफ्नै रहनसहनमा तीज पर्व मनाउन सके संस्कृतिको संरक्षण हुने अग्रजहरूको बताउँछन् ।






