पढाइका साथै खेतीपाती हुन्छ नेत्र ज्योतिमा


प्राविधिक कृषि शिक्षामा अध्ययनरत विद्यार्थी पढाइका अतिरिक्त आम्दानीसँग पनि जोडिएका छन् । जुम्लाको हिमा गाउँपालिका–२ ओदीमा अवस्थित नेत्र ज्योति माध्यमिक विद्यालयमा बाली विज्ञान विषय अध्ययनरत विद्यार्थीले बन्दा, आलु, लसुन र च्याउ उत्पादन गरी बिक्री गरेर आम्दानी गर्न थालेका हुन् ।

यस विद्यालयमा प्राविधिक धारतर्फका ९, ११ र १२ कक्षाममा बाली विज्ञान विषयमा पढाइ सुरु भएपछि विद्यार्थीले कक्षा कोठाबाहेक खेतबारीमा पुगेर च्याउ उत्पादन गरेको विद्यालयका प्रधानाध्यापक रंगबहादुर रोकायाले बताए । दुई वर्षदेखि व्यावसायिक तवरले खेती भइरहेको हो। उनले भने, ‘गत वर्ष २० हजार च्याउ र १५ हजार मूल्यबराबरको बन्दा बिक्री गरिएको थियोे।

यो वर्षदेखि लसुन र आलु लगाइएको छ।’विद्यालयमा प्रयोगात्मक सिकाइका लागि कृषि कार्य सुरु गरिएको बाली विज्ञानका शिक्षक उपेन्द्र बोहोरा बताउँछन्। उनका अनुसार चालु वर्षदेखि उत्पादित वस्तु जुम्ला, सुर्खेत र नेपालगन्ज बजारसम्म पु¥याउने उद्देश्य रहेको छ। चाहिने उपकरण, कृषि कार्यका लागि बीउविजनलगायत सामग्री तरकारी खेतीको कमाइले पूरा हुने गरेको छ’, शिक्षक बोहाराले भने।कक्षा ९ मा अध्ययनरत छात्रा कलशा रोकायाले भनिन्, ‘हातमा कुटो र कोदालो ।

काँधमा पुस्तकको झोला । शरीरमा चिटिक्क विद्यालय पोसाक । देख्नेमध्येपनि धेरैजसो अलमलिन्छन् विद्यार्थी हो कि कृषक भनेर। व्यावसायिक कृषि खेती पढ्न पुस्तकका साथै कुटो र कोदालो बोकेर विद्यालय पुग्छौं।’विद्यार्थीलाई आवश्यक कृषि औजारदेखि बीउविजन उपलब्ध गराउँछौं, विद्यार्थीले उत्पादन गरेको च्याउको बजार खोज्नसमेत सघाउछौं’, प्रअ रंगबहादुरले भने। विद्यालयमा आधुनिक कृषि प्रणाली र उत्पादनका बारेमा सिकेको ज्ञान परम्परागत खेती गर्दै आएका अभिभावकलाई समेत सिकाउने गरिएको रोकायाको भनाइ छ।बाली विज्ञान अध्ययनरत १ सय २० जना विद्यार्थीले सामूहिक रुपमा कृषि खेती गरेका छन्।

विद्यार्थीको समय कक्षाकोठा र खेतबारीमा धेरै बित्ने गरेको छ। गाउँमै बाली विज्ञान पढ्न पाएकोमा विद्यार्थी खुसी छन्। थोरै लगानीमा प्रशस्तै आम्दानी गर्न सकिने भएकाले च्याउ खेतीका लागि समुदायलाई समेत सन्देश प्रवाह गरेको अर्की छात्रा जुनमाया रोकायाले बताइन्।भाडामा लिइएको चार रोपनी जग्गामा विद्यार्थीले कृषि उपज उत्पादन गर्ने गरेका छन्।

विद्यालयले भाडा वार्षिक ६० हजार रुपैयाँ तिर्ने गरेको प्रधानाध्यापकले बताए। विद्यालयमा २०७६ सालमा नेपाल सरकारबाट कृषि विज्ञान सञ्चालनको अनुमति पाई नियमित पढाइ भइरहेको छ।

विद्यालयको काम हेर्न टाढाटाढाका विद्यालयका विद्यार्थी हेर्न आउँछन्। हरेक दिन कुनै न कुनै विद्यालयका विद्यार्थी समूह यहाँ आइपुगेकै हुन्छन् । यता अभिभावक दलबहादुर रोकायाले विद्यालयबाट धेरै कुरा सिक्न पाएको बताए । अन्यत्रका विद्यालयमा पनि केही गर्ने प्रेरणा मिल्ने छ’, उनले भने ।

पढाइका साथै खेतीपाती हुन्छ नेत्र ज्योतिमा

जमुनाहको पर्यटन सूचना केन्द्र कामविहीन

पढाइका साथै खेतीपाती हुन्छ नेत्र ज्योतिमा

शिक्षामा लगानी बढाउन प्रदेश र स्थानीय तहलाई