जुम्लाको पातारासीमा टेलिकमको टुजी/फोरजी सेवा


नेपाल टेलिकमले कर्णाली प्रदेशअन्तर्गत जुम्लाको पातारासी गाउँपालिकामा मोबाइल सेवा विस्तार गरेको जनाएको छ । पातारासी गाउँपालिका–२ मा नयाँ साइट निर्माण गरी २०८१ मङ्सीर १६ देखि अर्थात सोमबार देखि टुजी/फोरजी मोबाइल सेवा सञ्चालन गरिएको विज्ञप्तीमा उल्लेख छ ।
जिल्लाको अतिविकट पातारासी गाउँपालिकामा नेपाल टेलिकमले मोबाइल सेवा सञ्चालन गरेसँगै उक्त गाउँपालिकाका –१, २ र ३ अन्तर्गतका गडीगाउँ, तल्फीगाउँ, माताचौरगाउँ, छुमचौरगाउँलगायत स्थानमा बसोबास गर्ने बासिन्दाहरू पहिलोपटक दूरसञ्चार सेवाबाट लाभान्वित भएको अगुवा युवा भक्तबहादुर बुढाले बताए ।
दूरदराजका क्षेत्रमा दूरसञ्चार सेवा पुरÞ्याउने कार्यलाई उच्च प्राथमिकतामा राख्दै कम्पनीले उक्त स्थानका ग्राहकहरूको मागलाई लक्षित गरी भ्वाइस तथा डेटा सेवा विस्तार गरेको जनाएको छ ।
यससँगै यस भेगका स्थानीयवासी, घुम्न आउने पर्यटक तथा यस क्षेत्रका पर्यटनलगायत अन्य व्यवसायीहरूले आधुनिक दूरसञ्चार सेवाको प्रयोग गरी लाभ लिन सक्ने विश्वास छ ।






