सुर्खेतको होटल सिद्धार्थले कर्णाली प्रदेशका रैथाने उत्पादन प्रवर्द्धन गर्दै


कर्णाली प्रदेशको पहिलो चार तारे होटल सिद्धार्थ सन्नी रिसोर्टले कर्णाली प्रदेशका रैथाने उत्पादन प्रवर्द्धन गर्न थालेको छ ।
वीरेन्द्रनगरमा रहेको होटल सिद्धार्थले आफ्नो होटलभित्रैको पसल अर्थात् ’सोभेनियर शप’ मार्फत विभिन्न स्थानीय उत्पादनको प्रवर्द्धन तथा बिक्री गरिरहेको छ । सोभेनियर शपमा सिमी, मार्सी चामल, मकै, मह, ओखर, रुद्राक्ष, ग्रीन टीलगायतका उत्पादन राखिएको होटलका अपरेशन म्यानेजर रामकृष्ण तिमिल्सेनाले बताए ।
उनका अनुसार राउटे र अन्य समुदायले बनाएका काठका सामग्री, थारू समुदायले बनाएका ढकिया, डालो, डोकोलगायतका सामग्रीसमेत सोभेनियर शपमा किन्न पाइन्छ । प्रायः होटलको सोभेनियर शपमा गरगहना र कपडा राख्ने चलन भए पनि सिद्धार्थ होटलमा भने यस क्षेत्रका रैथाने उत्पादन छन् ।
‘यहाँ आउने सेवाग्राहीले कर्णालीको चिनोका रूपमा विभिन्न उत्पादन तथा अर्ग्यानिक कृषिजन्य उत्पादन कोसेलीका रूपमा लैजान सकून् भन्ने उद्देश्यले यसको शुरुआत गरिएको हो’, होटलका अपरेशन म्यानेजर तिमिल्सेनालेले भने, “हाम्रो यो प्रयासबाट यहाँका उत्पादनको प्रवर्द्धन तथा बजारीकरण हुनुका साथै किसानलाई प्रोत्साहन हुने अपेक्षा गरेका छौँ ।’
रैथाने बालीलगायतका उत्पादन प्रवर्द्धन गर्दै आएको कर्णाली प्रदेशको उद्योग मन्त्रालयअन्तर्गतको लघु ओद्यौगिक ग्राम सञ्चालक समितिको समन्वयमा सिद्धार्थ होटललाई उत्पादन आपूर्तिका लागि समन्वयन गरिएकोसमितिका अध्यक्ष उदिराम डाँगीले बताए ।






