महाबुमा नेकपा एमालेका जंगबहादुर शाही विजयी


स्थानीय तहको उपचुनावअन्तर्गत आइतबार भएको मतदानमा महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन् । शाहीले नेपाली कांग्रेसका झलकबहादुर भण्डारीलाई पराजित गरेका हुन् ।
शाहीले तीन हजार एक सय २७ मत प्राप्त गरी भण्डारीलाई हराएका हुन् । भण्डारीले दुई हजार ६ सय ७५ मत प्राप्त गरी पराजित भएका छन् । यस्तै, माओवादी केन्द्रका जंगबहादुर बरालले आठ सय ४२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाशकुमार बुढाले एक सय १२ मत प्राप्त गरे ।
कुल १२ हजार ६ सय १४ मतदाता रहेको महाबुमा ६ हजार ९ सय ८९ मत खसेको थियो । महाबुमा कांग्रेसको विरासत तोडिएसँगै २०७४ पछि एमाले पुनः विजयी भएको हो । शाही उनै उम्मेदवार हुन् जो एमाले विभाजनपछि बनेको नेकपा एकिकृत समाजवादीमा लागेपछि महाबुमा एमाले कमजोर बनेको थियो । २०७४ बहुमत वडासहित अध्यक्ष÷उपाध्यक्ष पदमा जित निकाल्दा उनै शाही एमालेका उम्मेदवार थिए । एमाले विभाजनपछि २०७९ मा भएको निर्वाचनमा शाहीकै कारण एमाले पराजित हुँदा कांग्रेसको उदय भएको थियो ।
२०७९ मा दैलेखको महाबुको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जित हासिल गरेको नेपाली कांग्रेसलाई शाही एमालेमा फर्किएपछि विरासत जोगाउन मुस्किल थियो । उतिबेला अध्यक्षमा विजयी भएका कांग्रेसका लछुमन गुरुङले ३० वैशाख २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेका हरिप्रसाद उपाध्यायलाई पराजित गरेका थिए । गुरुङले दुई हजार नौ सय सात मत प्राप्त गरेका थिए भने उपाध्यायले दुई हजार पाँच सय १९ मत प्राप्त गरेका थिए । उतिबेला नेकपा माओवादी केन्द्रको साथ पाएको एमाले टुक्रिएर बनेको नेकपा एकीकृत समाजवादीबाट अध्यक्षको उम्मेदवार बनेका शाहीले (हालका विजयी) दुई हजार दुई सय ६८ मत प्राप्त गरेका थिए । गत निर्वाचनमा महाबुका– ६ वडामध्ये तीन वडा कांग्रेसले जित्दा दुई माओवादी र एक वडा एमालेले जितेको थियो ।
एमाले विभाजन हुनुपूर्व महाबु एमालेको पकड क्षेत्र थियो । २०७४ मा एमालेबाट उम्मेदवार बनेका शाही अध्यक्ष पदमा विजयी भएका थिए । त्यतिबेला अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका थिए । अध्यक्षमा शाहीले तीन हजार पाँच सय २२ मत प्राप्त गर्दा कांग्रेसका कर्णबहादुर शाहीले दुई हजार नौ सय मत प्राप्त गरेका थिए । २०७४ मा महाबुका ६ वडामध्ये चार वडा एमालेले जितेको थियो भने दुई वडामा कांग्रेसले जित निकालेको थियो । यो निर्वाचनमा माओवादीले कुनै पनि वडामा जित निकाल्न सकेन ।
२०७४ को तुलनामा २०७९ मा एमाले पार्टी फुटका कारण महाबुमा कांग्रेस नै पहिलो शक्ति बनेको थियो । २०७९ मा पनि समाजवादीबाट अध्यक्ष लडेका शाहीले एमाले र कांग्रेसलाई कडा टक्कर दिएका थिए । अहिले उनै शाही एमालेमा फर्किएपछि महाबुमा पुनः एमालेको विरासत फर्किएको छ । समाजवादी दैलेखका प्रभावशाली नेता एवं संघीय सांसद अमरबहादुर थापा पछिल्लो समय पार्टीबाट रुष्ट हुनु र शाही पुनः एमालेमै फर्कनुले महाबुमा एमालेको पुनरागमन हुने विश्लेषण थियो ।
यद्यपि, निर्वाचनको मुखैमा पार्टी प्रवेश गरेर अध्यक्षको उम्मेदवार बनेका शाहीप्रति एमालेकै नेता–कार्यकर्ता सन्तुष्ट नरहेको बताइएको थियो । शाहीको जित र हार हिजो समाजवादीमा रहँदा सहयोग गरेकैहरूको हातमा हुने निश्चित थियो । चुनावको मुखैमा पार्टी छोडेको भन्दै समाजवादीमा लागेकाहरू एमालेमा नफर्कने चर्चाका बीच कांग्रेसलाई आफ्नो विरासत जोगाउन सहज हुने आँकलन गरिएको थियो । त्यतिबेला एमाले एक्लै लड्नु र समाजवादी तथा माओवादीको कमजोर जनाधार हुनुको फाइदा उठाएको कांग्रेस यसपटकको चुनावमा विरासत गुमाएको छ ।
महाबुमा कांग्रेसले युवानेता झलकबहादुर भण्डारीलाई अगाडि सारेर अध्यक्षमा आफ्नो निरन्तरता दिन खोजेको थियो । यस्तै, माओवादीले पनि जंगबहादुर बराललाई चुनावी मैदानमा उतार्दा रास्वपा, राप्रपालगायत साना दल पनि चुनौती बनेर खडा भएका थिए । प्राप्त मतपरिणाम अनुसार नयाँ शक्तिका रुपमा उदाएका दलको पनि खासै जनधार देखिएको छैन । महाबुको अध्यक्षका लागि शाही र भण्डारीसहित सात जना चुनावी मैदानमा थिए । कांग्रेसबाट झलकबहादुर भण्डारी, एमालेबाट जंगबहादुर शाही, माओवादीबाट जंगबहादुर बराल, समाजवादीबाट जगत हमाल, रास्वपाबाट प्रकाशकुमार बुढा, राप्रपाबाट सुर्जे रावत र नेमकिपाबाट दुर्गबहादुर मगर अध्यक्षका लागि चुनावी मैदानमा छन् ।






