सामाजिक सञ्जालको प्रेम: युवतीले अदालत परिसरमै विष खाइन्

२५ मंसिरमा सुर्खेत जिल्ला अदालत परिसरमै एक युवतीले विष सेवन गरिन् । युवतीले विष सेवन गर्नुको कारण थियो– आफूमाथि बलत्कार गर्ने पीडक भनिएका युवक भूपेन्द्र ठगुन्नालाई धरौटीमा छोडिनु । पीडित भनिएकी युवतीले आफूमाथि अन्याय भएको भन्दै विष सेवन गरेको बताएकी छिन् ।

अदालत परिसरमै विष सेवन गरेर ढलेकी ती युवतीलाई प्रहरीले भ्यानमा राखेर कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा भर्ना ग¥यो । अस्पतालबाट अलि सञ्चो भएर आएपछि केटाको घरपरिवारले उनलाई विष सेवन नै नगरी नाटक गरेको भन्दै गाली बेइज्जती गर्न सुरु गरेको युवती बताउँछिन् ।

उनी प्रहरी र सरकारी वकिलले नै आफ्नो मुद्दा कमजोर बनाइदिएको आरोप लगाउँछिन् । सरकारी वकिलले काठमाडौंमा भएका घटनाहरू निवेदनमा हाल्न नदिएको र प्रहरीले आफ्नो साथी बचाउन मुद्दा कमजोर बनाइदिएको आरोप लगाउँछिन् ।

सामाजिक सञ्जालबाट चिनजान
सामाजिक सञ्जालमार्फत चिनजान भएका दार्चुला जिल्ला महाकाली नगरपालिका–५ का ठगुन्ना र पीडित भनिएकी युवतीबीच फेसबुकमा जोडिएर म्यासेन्जरमार्फत कुरा हुन थालेको युवती बताउँछिन् ।

जाजरकोट स्थायी घर भएकी युवती र दार्चुला स्थायी घर भएर काठमाडौं सर्वोच्च अदालत र कहिले न्यायाधीशको निवासमा ड्युटी गर्दै आएका प्रहरी ठगुन्नाबीच सामाजिक सञ्जालमार्फत चिनजान भएको थियो । टिकटकमार्फत भएको चिनजान फेसबुकमा साथी भएपछि कुराकानी हुन थालेको थियो । कुराकानी हुँदै जाँदा ठगुन्नाले युवतीलाई मन पराएको, तिमीसँग विवाह गर्ने हो, तिमीबिना बाँच्न सक्दिनँ भन्दै पटकपटक भनेको युवती बताउँछिन् ।

सामाजिक सञ्जालबाट चिनजान भए पनि २०७९ साल मंसिरमा प्रत्यक्ष भेटघाट भएको हो । युवती लोक सेवा आयोगको परीक्षा दिन भन्दै २०७९ साल मंसिरमा काठमाडौं आइन् । उनीहरूको पहिलो भेटघाट मैतीदेवीमा भयो । त्यसपछि कुराकानी र भेटघाट दैनिकजसो हुन थालेको युवती बताउँछिन् । उनले भनिन्, ‘म एक जना बहिनीसँग बसेकी थिएँ । दिनदिनै ड्युटी सकिएपछि कोठामा आउने, कुराकानी गर्ने गर्न थाल्यो । विवाह गर्छु । सँगै बसौँ भन्न थाल्यो । तीन महिनापछि सँगै बस्यौँ । विवाह गर्छु भनेपछि मैले पनि हुन्छ भनेर बसेँ ।’

यही क्रममा युवती गर्भवती भइन् । युवतीको पेटमा गर्भ बसेपछि ठगुन्नाले सुर्खेत फर्किन दबाब दिन थाले । सुर्खेत जान नमानेपछि तातोपानी खन्याएर हात पोलिदिएको उनले बताइन् । उनका अनुसार, सुरुमा तिमीसँग विवाह गर्छु, तिमीबिना बाँच्न सक्दिनँ भन्ने ठगुन्नाले पछि घर जाऊ भन्दै टर्चर दिन थाले । पिट्न थाले । त्यसपछि युवती पनि चैतमा सुर्खेत गइन् । कोठा भाडामा लिएर बस्न थालिन् ।

युवतीले सुनाइन्, ’सुर्खेत आएको तीन महिनामा बच्चा खेर गयो । बच्चा खेर जाँदा बिरामी भएँ । त्यो बेला नै मेरो फोन ब्लक गर्नुभएछ । फोन नलाग्ने भयो । म अस्पताल भर्ना भएँ । बच्चा खेर जाँदा, बिरामी हुँदा पनि कुनै वास्ता गर्नु भएन ।’
भूपेन्द्र नेपाल प्रहरीमा जागिरे छन् । ती युवतीसँग सम्बन्ध हुँदा उनको ड्युटी काठमाडौं सर्वोच्च अदालतमा थियो ।
सुर्खेत गएपछि बिग्रेको थियो सम्बन्ध
२ वैशाख २०८० मा सुर्खेत आउँदा आफ्नो कोठामा बसेको समयमा आफ्नो इच्छाविपरीत जबर्जस्ती करणी गरेको भन्दै युवतीले ठगुन्नाविरुद्ध उजुरी दिएकी छिन् । ‘२०८० साल वैशाख २ गते विवाह गर्ने आश्वासन देखाई मेरो सहमति र मञ्जुरीबिना करणी गरेको हो । सोही समयदेखि शारीरिक र मानसिक यातना दिँदै आएको छ,’ निवेदनमा युवती उल्लेख गरेकी छिन् ।

‘२०८० साल वैशाख २ गते सुर्खेत पुगेँ । दुई÷तीन दिन सुर्खेत बसेर दार्चुला घर गएँ,’ त्यसपछि झन् गाली बेज्जती सुरु भएको उनी बताउँछिन् । घर गएपछि ठगुन्नाकी बहिनीले आफ्नो दाइलाई फोन नगर्नू, फोन गरे राम्रो हुँदैन भन्दै फोनमा धम्क्याएको र गाली बेइज्जती गर्ने गरेको पीडित युवती बताउँछिन् ।

दुई÷तीन दिन आफ्नै कोठामा सँगै बसेर गएको मान्छे घर पुगेर घरपरिवारलाई गाली बेइज्जती गर्न लगाउन थाल्दा अचम्म लागेको युवती बताउँछिन् । उनले भनिन्, ‘कात्तिकदेखि त भूपेन्द्रले मात्रै होइन, उसका आफन्त, दिदी–बहिनी, फुपाजु र भिनाजु सबैले फोनबाट गाली बेइज्जती गर्न थाले । आफूहरूको माथिसम्मै पहुँच र पावर रहेकाले मारिदिने धम्कीसमेत दिन थाले । घरपरिवारले भूपेन्द्रबाट टाढा बस्, होइन भने राम्रो हुँदैन भन्दै धम्की दिन्छन् ।’
प्रहरीले असहयोग गरेको आरोप
गाली बेइज्जती अति नै हुन थालेपछि पीडित युवती कात्तिकको अन्तिममा गाली बेइज्जतीको निवेदन दिन जिल्ला प्रहरी कार्यालय सुर्खेत गइन् । तर, डीएसपी लक्ष्मण शाहीले निवेदन च्यातिदिएको उनी बताउँछिन् । ‘डीएसपी शाहीले मेरो निवेदन च्यातिदिए । त्यहीँ रोएँ । झन् दुनियाँलाई फसाउने भने । पछि मुद्दा लेखेर दर्ता गर्न गएँ । मुद्दा फाँटका गोपाल बोहराले झुटा मुद्दा लिएर आउने भनेर बाहिर निकाल्यो ।’

प्रहरीले यस्तो गर्न नसक्ने सुर्खेत जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापा बताउँछन् । प्रहरीमा आएका उजुरी दर्ता हुन्छन् । उनको मुद्दा अगाडि बढेर अदालतले पीडक भनेकालाई धरौटीमा छोडेको थापा बताउँछन् ।
थापाले भने, ‘हामीले बाहिर बढी पैसा लिन्छ भनेर जिल्ला प्रहरी कार्यालयमा नै निवेदन लेख्ने मानिस राखेका छौँ । अदालतले गरेको निर्णय मन नपरे माथिल्लो निकाय जान सक्नुहुन्छ । जहाँसम्म डीएसपी सा’प लक्ष्मण शाहीले निवेदन च्यातेको भन्ने कुरा छ, त्यसमा सत्यता छैन । गोपालजीलाई बोलाएर मैले सोधेको थिएँ । बोहरा सइ सा’पले कागज गर्न घरमा गाडी पठाएको जानकारी गराउनुभयो । हामीले निवेदन च्यात्ने भन्ने हुँदैन ।’

प्रहरीले नै निवेदन च्यातेपछि उनी निवेदन लिएर सरकारी वकिलको कार्यालय गइन् । त्यहाँ पनि दर्ता नहुने छाँट देखेपछि मानवअधिकार आयोग कार्यालय सुर्खेत पुगिन् । मानवअधिकार आयोगले मुद्दा दर्ता गरिदिनू भनेर पत्र बनाइदियो । त्यहाँको पत्र लिएर सरकारी वकिलको कार्यालय गइन् । बल्ल तीन दिनपछि काठमाडौंको सबै विवरण हटाउन लगाएर सरकारी वकिलले सुर्खेतको मात्र घटना विवरण हालेर निवेदन लेख्न लगायो । युवती पनि त्यही गरेर निवेदनमा तोक लगाएर जिल्ला प्रहरी कार्यालयले सुर्खेतमा दर्ता गराएको बताउँछिन् ।

उनले भनिन्, ‘बल्लतल्ल मुद्दा दर्ता भयो । मुद्दा दर्ता भएपछि उस(ठगुन्ना)लाई जिप्रका बोलाइयो । मलाई दिनदिनै चार जना प्रहरी आएर मुद्दा फिर्ता नलिए भ्यानमा हालेर जिप्रका लैजाने दबाब दिन थाले । एक दिन उसलाई मसँगै मेरो कोठा पठाए । उसले कोठामा आएर धम्क्यायो, ग्यास उचालेर हान्न खोज्यो । म भागेर जिप्रका गएँ । पछि उसलाई ल्याइयो । २५ दिन राखेर अदालतले छोड्यो । मैले कहीँ पनि न्याय नपाएपछि अदालत परिसरमा नै विष खाएकी हुँ ।’

युवती भन्छिन्, ’मलाई जति पीडा भूपेन्द्र र उसको घरपरिवारले दिएको छ, त्यति नै दुःख सुर्खेत प्रहरीले दिएको छ । भूपेन्द्रका परिवार र वकिलदेखि प्रहरीसम्मले समेत मुखै छोडेर गाली बेइज्जती गरेपछि बाँच्न मन नलागेर विष खान बाध्य भएकी हुँ । मेरो मुद्दा सरकारी वकिलले नै कमजोर बनाएका हुन् ।’

उनले थपिन्, ’प्रहरीले आफ्नो स्टाफ भनेर मलाई उल्टै मिल् भनेर दबाब दिने काम गरे । मैले नमानेपछि मुद्दा कमजोर बनाए । मेरा प्रमाणहरू पनि अदालतमा पेस नगरिदिएर पीडकलाई २५ दिनमा अदालतले छोडेको छ । २ लाख ५० हजार धरौटीमा छोडेको भन्ने सुनेकी छु ।

मलाई न्याय दिनुपर्नेमा उल्टै पीडकलाई धरौटी लिएर छोडेको छ । विष सेवन गरेपछि पनि उसको परिवारले गाली बेइज्जती गर्न छोडेको छैन । म न्यायका लागि भौँतारिइरहेकी छु ।’ युवतीले अहिले पनि आफूमाथि अन्याय भएकाले न्याय पाउनुपर्ने माग गर्दै आएकी छिन् ।

सामाजिक सञ्जालको प्रेम: युवतीले अदालत परिसरमै विष खाइन्

गुठिचौरका ज्येष्ठ नागरिकलाई वडापालिकाको कम्बल

सामाजिक सञ्जालको प्रेम: युवतीले अदालत परिसरमै विष खाइन्

नागरिक उड्डयन प्राधिकरणको नाफा साढे तीन अर्ब