रुकुम पश्चिमका २० हजार लाभग्राहीलाई अस्थायी आवास बनाउन पहिलो किस्ता

जिल्लाका छवटै स्थायीय तहका पीडितलाई पहिलो किस्ताबापत २५ हजारका दरले रकम प्रदान गरिएको छ ।
त्रिवेणी– कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले क्षति पु¥याएको रुकुम पश्चिममा २० हजार लाभग्राहीले अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता प्राप्त गरेका छन् ।
जिल्लाका छवटै स्थायीय तहका पीडितलाई पहिलो किस्ताबापत २५ हजारका दरले रकम प्रदान गरिएको हो । जिल्ला विपद् व्यवस्थापन कोषबाट २३ हजार ६ सय आठ लाभग्राहीका लागि पहिलो किस्ताबापतको रकम पठाइएको थियो । बाँकीलाई पनि केही दिनमा नै प्रदान गरिने सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए ।
उनका अनुसार हालसम्म सबैभन्दा बढी आठबिसकोट नगरपालिकामा सात हजार लाभग्राहीले रकम प्राप्त गरेका छन् । बाँफीकोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कुनै पनि लाभग्राहीले पहिलो किस्ता प्राप्त गर्न सकेका छैनन् ।
त्यस्तै चौरजहारी नगरपालिकामा पाँच हजार नौं सय ३८, मुसिकोट नगरपालिकामा दुई सय ११, सानीभेरी गाउँपालिकामा चार हजार चार सय ९९ र त्रिवेणी गाउँपालिकाका दुई हजार ६९ लाभग्राहीले पहिलो किस्ताबापत रकम पाएका छन् ।
जिल्ला विपद् व्यवस्थापन कोषबाट भने ५९ करोड दुई लाख रुपैयाँ स्थानीय विपद् जोखिम न्यूनीकरण कोषमा पठाइएको छ । जिल्लाभर हालसम्म २६ हजार आठ सय पाँच लाभग्राहीको लगत संकलन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।






