चुनावी प्रतिवद्धता अनुरुप नै अघि बढेको छु : प्रमुख केसी

स्थानीय तहसँग नागरिकका आशा र अपेक्षाहरु प्रत्यक्ष जोडिएका छन् । स्थानीयस्तरमा रहेर नागरिकले प्रत्यक्ष अनुभुत गर्नेगरी सुशासनसहितको सेवा प्रवाह गर्नु स्थानीय तहको मुख्य दायित्व भित्र पर्दछ । संविधानले स्थानीय तहलाई विशेष अधिकार दिएको छ । सोही अधिकार भित्र रहेर पालिकालाई आवश्यक पर्ने कानून निर्माण, आन्तरिक स्रोतको परिचालनसमेत स्थानिय तहले गर्न पाउँछन् । संघीयताको दोस्रो कार्यकालमा आइपुग्दा स्थानीय तहले संविधानमा तोकिएका अधिकारको प्रयोग गर्नुभन्दा पनि संघीयताको मर्मअनुसार काम गर्न नसकेको आवाजहरु नागरिकस्तरबाट बेलाबेला उठ्न गरेका छन् ।
कार्यकालको पहिलो वर्ष पुरा गरेर दोस्रो वर्षमा प्रवेश गर्दै गरेका स्थानीय तहका पदाधिकारीले निर्वाचनमा जनतासँग गरेका प्रतिवद्धताहरु पुरा गर्न के-के गर्दैछन् ? बजेटमा शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारी लगायतका विषयलाई प्राथमिकतामा राखेको दावी गर्ने जनप्रतिनिधिसँग आगामी नीति, कार्यक्रम तथा बजेटका मुख्य प्राथमिकतामा के-के छन् ? संघ तथा प्रदेश सरकारबाट स्थानीय तहले कस्तो अपेक्षा राखेका छन्, लगायतका विषयमा रहेर आठबिसकोट नगरपालिका, रुकुम पश्चिमका नगर प्रमुख रवि केसीसँग युगआह्वानकर्मी ओम शाहीले गरेको कुराकानीको सम्पादित अंशः

तपाई निर्वाचित भएर आएपछि नगरमा देखिने गरी के-के काम भए ?
हामी निर्वाचनमा जाँदाखेरी जनताका बिचमा राखेका प्रतिवद्धता अनुसार पालिकामा पहिलो प्राथमिकता कृषिलाई राखेका छौं । भौगोलिक हिसावले पहाडी परको क्षेत्रमा खाद्यान्न बालीलाई निर्यातमुखी बनाउन सम्भव नभएको अवस्थामा त्यस्ता ठाउँहरुमा खाद्यान्नमा आत्मनिर्भर बनाउने र मुख्यतः फलफूललाई निर्यातमुखी उत्पादनका रुपमा विकास गर्नेतर्फ लागेका छौं ।
यहाँ उत्पादन हुने किवि, सुन्तला लगायतका फलफूहरुलाई जनताको बारीमा उत्पादनदेखि बजारीकरण सम्ममा सरकारले ग्यारेण्टी गर्नुपर्छ भन्ने हो । गएको माघ, फागुनमा बारीमा फलेको किवी, सुन्तला सिधैं कृषकको बारीबाट संकलन केन्द्रसम्म पुर्याएर चिस्यान केन्द्रमा राख्यौ । जसले गर्दा किसानका उत्पादनहरु खेर जानबाट जोगिएका छन् । त्यसैगरी नागरिकलाई उत्पादनमा सक्रिय बढाउन उत्पादित कृषि उपजहरुलाई बजारसम्म जाने ग्यारेण्टी सरकारले गर्नेरहेछ भन्ने सन्देश दिने निणर्य गरेका थियौ र त्यो कार्यान्वयन पनि गर्र्यौ । बारीमा फलेका कृषि उपजहरु संकलन गरेर रकम उनीहरुकै खातामा जाने व्यवस्था गरेका छौं ।
दोस्रो, पशुपालनमा जोड दिएका छौं । हामी कहाँ पशुपालनका लागि पर्याप्त सम्भावना छ । कृषिमा फलफूल र पशुपालमा खसी-बोका पालनमा जोड दिएका छौं, र सोही बमोजिम काम गरेका छौं । जनताले प्रतिवद्धता गरेका कामहरु पुरा गर्छ कि भनेर आशा गरेको महशुस मैले गरेको छु । यस्तै स्वास्थ्य र शिक्षा, रोजगार, पालिकाभर विद्युतिकरण, बाह्रैमास चल्ने सडक निर्माणलाई पनि हामीले सँगै जोडेर लगेका छौं । पालिकाको एउटा वडामा बाटो नपुगेको अवस्था थियो त्यहाँ बाटो पुगेको छ ।
शिक्षालाई प्रविधिमैत्री बनाएर उत्पादनसँग जोड दिने कुरालाई प्राथमिकतामा राखेका छौं । मुख्यतः आज नगरपालिकाको केन्द्रमा एउटा विद्यालय छ, त्यो विद्यालयबाट सम्भव भएका साविकको गाविसका मुख्य विद्यालयमा के पढाई भइरहेको छ भन्ने विषयमा जानकारी दिन दक्ष जनशक्ति व्यवस्था गर्न गाह्रो छ, त्यसो हुँदा प्रविधिसँग जोडेर आठबिसमा मात्रै होइन प्रदेशको नमुना विद्यालयमा कस्तो पढाई भइरहेको छ, भन्ने विषयलाई जोड्नका लागि यही शैक्षिकसत्रबाट त्यसखालको प्रविधि जोड्न खोजिरहेका छौं ।
स्वास्थ्यको कुरा गर्दा हामी निर्वाचित भइसकेपछि हामी कहाँ रहेका शहरी स्वास्थ्य इकाईहरुमा प्रसुति सेवा सुरु गरेका छौं । विकट गाउँका महिला दिदीबहिनीहरुलाई सुरक्षित प्रसुति सेवामा जोड्ने हाम्रो प्रयास हो । पालिका मार्फत डाक्टर पढन् तीन जनालाई छात्रवृत्ति प्रदान गरेका छौं । नगर अस्पतालमा आवश्यक पुर्वाधार सहित नयाँ सेवा र सुबिधा, क्यान्सर पिडित तथा दिर्गरोगीलाई उपचार वापतको खर्च भुक्तानी गरेका छौं ।
विपन्न नागरिक औषधि उपचार सिफारिसका लागि १५ जनालाई सिफारिस गरिएको छ । यस्तै गोतामकोट, घेत्मा र नगर अस्पतालमा किशोरकिशोरी स्वास्थ्य सेवा सुदृढिकरण कार्यक्रम सञ्चालन गरेका छौं । यस्तै एक घर एक धारा खानेपानी आयोजनाहरु पालिका भरी करिब ४० प्रतिशत घरधुरिमा खानेपानी पुगेको छ भने ३० प्रतिशत घरमा निर्माणाधिन अवस्थामा छन् । विद्युतीकरणका विषयमा म निर्वाचित भएर आएपछि आठविसकोट नगरपालिका केन्द्रीय प्रशारण लाइनमा जोडिएको छ ।
सबै वडाहरुमा प्रशारण लाइन विस्तार हुनेक्रममा छ । पाँच वर्षभित्र घर-घरमा विजुली पुर्याउने गरी हामीले काम गरिरहेका छौं । यस्तै सूचना प्रविधिमा पनि सुधार भएको छ । अहिले नगरपालिकाको केन्द्रसम्म फाइबर लाईन विस्तार गरेका छौं । हामीले प्राथमिकतामा राखेका र प्रतिवद्धता जनाइए अनुसार नै अगाडि बढेका छौं ।
नागरिकले प्रत्यक्ष अनुभुत गर्नेगरी सुशासनसहितको सेवा प्रवाहमा कसरी काम गर्नु भएको छ ?
हामीले हाम्रो पालिकामा नागरिकले प्रत्यक्ष अनुभुति गर्ने गरी सुशासनसहितको सेवा प्रवाहमा विशेष ध्यान दिएका छौं । नेपालको दोस्रो ठुलो नगरपालिका त्यसमा पनि भौगोलिकरुपमा पनि हाम्रो पालिका विकट छ । सेवा प्रवाहमा सहजता ल्याउनका लागि पालिकाबाट कार्यान्वयन हुने योजनाहरु वडामै गएर सम्झौता गर्ने र भुक्तानी पनि त्यहिबाट दिने व्यवस्था गरेका छौं ।
जसले साना योजनाकालागि पनि पालिका धाई राख्नुपर्ने स्थितीको अन्त्य भएको छ । अन्य सेवाहरु जस्तै सामाजिक सुरक्षा, स्वास्थ्य सेवालाई पनि वडास्तरबाटै बिना झन्झट प्रवाह हुने व्यवस्था मिलाएका छौं ।
पछिल्लो समय जनप्रतिनिधि र कर्मचारी बिच कुरा नमिल्दा नागरिकले सास्ती भोग्नु परेको भन्ने छ नी ?
हाम्रो नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीको असहयोगले समस्या भएको स्थिती छैन । हामीले नीति तथा योजना ल्याउने र कर्मचारीले कार्यान्वयन गर्ने हो । यसो हुनाले कर्मचारीसँग हाम्रो कुनै बाधा अवरोधहरु छैनन् । कर्मचारी कै कारण काममा ढिला सुस्ती अथवा कार्यान्वयनमा समस्या आउने खालको स्थिती हाम्रोमा छैन । बरु हामीकहाँ कर्मचारीको अभाव भने छ ।
हामीले अहिले पालिकामा कार्यरत चार सय ९६ जना कर्मचारी करारमा राखेका छौं । संघ र प्रदेशले कर्मचारी पठाउन सकेको स्थिती छैन । हाम्रो समस्या चै यो हो । पर्याप्त जनशक्ति छैन । भूगोल ठुलो छ । विद्यालयहरु धेरै छन् । वडा कार्यालयहरुमा सचिव पठाउनै पर्यो । पर्याप्त कर्मचारी नहुँदा कार्यसम्पादनमा समस्या चाहीँ छ । भएको कर्मचारीबाट हामीलाई त्यस्तो समस्या छैन । भएको जनशक्तिले काम गरेको छ । निमित्तको भरमा पालिका चलाउनु पर्ने अवस्था भने पक्कै छ ।
नगरपालिकामा काम गर्दा एकलौटी गर्न खोजेको भन्ने आरोप तपाईहरुलाई लाग्ने गरेको छ नी ?
अहिले हामी आगामी बजेट निर्माणको प्रक्रियामा छौं । सोही बमोजिम वडामा योजना तर्जुमा गर्नुस भनेर भनेका छौं । उहाँहरुले आगामी नीति, कार्यक्रम तथा बजेटका लागि योजना तथा कार्यक्रमहरु पठाइरहनु भएको छ । हामीसँग प्रमुख, उपप्रमुख, वडाध्यक्ष अथवा कार्यपालिका सदस्यहरुसँग मनमुटाव हुने कसैलाई बाईपास गर्ने भन्ने छैन । हामी एकआपसमा सर-सल्लाह गरेर एकमत भएर अगाडि बढेका छौं । केही पालिकामा यस्तो भएको सुनिन्छ, तर हाम्रोमा त्यस्तो छैन ।
प्रदेशको आगामी बजेटमा के अपेक्षा गर्नु भएको छ ?
माथिल्ला सरकारहरुबाट हाम्रो अपेक्षा त धेरै छन् । हामीकहाँ नीति, कार्यक्रम तथा बजेट बनाउँदा खेरी अहिलेको व्यवस्था अनुसार त उल्टो छ । हुनुपर्ने चाहीँ के थियो भने, पहिला स्थानीय तहले ल्याएर त्यसलाई सपोर्ट गर्नेगरी प्रदेश र संघले नीति तथा कार्यक्रम र बजेट ल्याउनु पथ्र्यो । हाम्रो कहाँ के छ भने, संघ र प्रदेशले छुट्टाछुट्टै र हामीले ल्याउँदा छुट्टै हुने जुन अन्तरविरोधी खालको एउटै योजना पनि डुब्लिकेशन हुने स्थिती छ ।
त्यसो हुँदा संघको त आइसकेको छ, प्रदेशले ल्याउँदा कम्तिमा स्थानीय तहहरुले के अपेक्षा गरेका छन्, अर्थात् कार्यान्वयन गर्ने त हामीले नै हो । हामीले प्राथमिकतामा राखेका तथा आवश्यकता ठानी माग गरेका योजनाहरुमा बजेट आउँनु पर्छ भन्ने हाम्रो माग हो ।
अन्त्यमा केही भन्नु छ ?
कतिपय जनता वा मतदातालाई के हुन्छ भने, निर्वाचित हुँदा खेरि हामीले भोट हाल्यौ । बिचमा जे सुकै गरुन् र पछि पाँच वर्षपछि भोट हाल्ने हो भन्ने जुन खालको धारणा हुन्छ । यसो हुँदा मत मात्र हालेर हुँदैन । जनप्रतिनिधिले काम गरेकी गरेनन् भनेर निरन्तर खबरदारी गर्न आवश्यक हुन्छ । सोही बमोजिम पालिकावासीको रचनात्मक सुझावको अपेक्षा राखेको छु ।
अन्तमा, आर्थिक समृद्धी, सामाजिक सास्कृतिक रुपान्तरणको मुल ध्येय तथा उत्पादन वृद्धि, रोजगार सिर्जना एवं गरिबी अन्त्य गरि सामाजिक न्याय सुशासन सहितको आठबिसकोट निर्माण गर्ने अभियान एवं नगरपालिकाले आगामी दिनमा सञ्चालन गर्न लागेका विकासका नीति तथा कार्यक्रमहरुमा सिर्जनात्मक सल्लाह सुझाव तथा कार्यान्वयनमा सहयोग र सहभागिताका लागि सबै नगरबासीहरुमा हार्दिक अनुरोध गर्दछु र समृद्ध नगरपालिका निर्माण गर्ने अभियानमा सबैको योगदानको अपेक्षासमेत गरेको छु ।






