चोरेर पो खान हुँदैन, सीप गरेर खान केको लाज

जुत्ता चप्पल सिलाउने व्यवसायलाई सम्मानजनक नजरले नहेर्ने गलत प्रवृत्ति अहिलेसम्म हाम्रो समाजमा छ ।
जुत्ता चप्पल सिलाउने मात्रै नभई मजदुरी होस् या जुनसुकै पनि सानो काम गर्ने गरिब, विपन्न वर्गलाई समाजले राम्रो दर्जामा राख्न सक्दैन । कतिपयले समाजमा इज्जत नहुने, डर र लाजका कारण झट्ट काम गर्न मन पराउँदैनन् ।

तितोसत्य कुरा हो,तर जुम्लाको चन्दननाथ नगरपालिका–४ सिंगाचौर गाउँका ६४ वर्षका चन्दमणी नेपालीलाई भने जुत्ता चप्पल व्यवसायले दाममात्रै नभई समाजमा राम्रो चिनिने अवसर मिलेको छ । उनले दुई करिब वर्ष अघिदेखि यो व्यवसायलाई अङ्गालेका हुन् ।
अहिले पनि निरन्तरता दिइराखेका छन् । यो व्यवसाय उनका बाजे र बुवाले गर्थें, चन्दमणी भन्छन्,यो पुर्खाेली पेसा जस्तै भयो ।
‘पुराना च्यातिएका फाटेका जुत्ता चप्पल हातमा लिएर सियो र धागोले सिलाएको देख्दा धेरैले थु थु र घृणा गर्न थाले । उनले भने, ‘अहिले भने व्यवसायबाट राम्रै कमाउन थालेपछि सबैले प्रशंसा गर्न थालेका छन् ।’
जुम्लाको सदरमुकाममा रहेको जिल्ला प्रहरीकार्यालय अगाडि एक काठको कच्ची घरको सानो कोठामा सियो र धागोबाट सुरु गरेको व्यवसाय अहिले पुरै प्रसंशा हुने तरिकाले चलाएका छन् ।

विदेशतिर जानुभन्दा गाउँघरमै केही गरौँ भन्ने मनसायले पुराना च्यातिएका फाटेका जुत्ता चप्पल सिलाउने कार्य सुरु गरेको अहिले यसबाटै राम्रो आम्दानी गर्न सफल भएको उनी बताउँछन् ।
काम सानो ठुलो भन्ने हुँदैन, हातमा सीप भयो भने जुत्ता चप्पल सिलाएर लाखौँ कमाउन सकिने उनको अनुभव छ ।बिहानदेखि राति अबेरसम्म पसलमा जुत्ता चप्पल सिलाएरै समय बितिरहेको छ । व्यवसाय फस्टाउँदै उनको दाबी छ । यसै व्यवसायबाट छोराछोरीलाई उच्च शिक्षा, परिवारको खर्च सजिलै धान्दै आइरहेको उनको भनाइ छ ।
उनले भने, ‘दैनिक आठ सय देखि एक हजार सम्म कमाइ हुन्छ । तर, घरपरिवारको लत्ताकपडा, नुनतेल, मिठो मसिनो सबै यतैबाट चल्छ । अहिले त, सबै महंगो छ, उनले गुनासो पोखे । घरपरिवारको गुजारा सबै खर्च कटाएर मासिक सात देखि आठ हजार बढी आम्दानी गर्न सफल भएको उनले बताए ।
उनले भने, ‘समाजले के भन्छ भनेर बसियो भने जीवनमा प्रगति गर्न सकिँदैन, आफूले जे काम जानियो त्यही काम गर्ने हो, परिवारको साथमा बसेर मैले जुत्ता चप्पल सिलाएरै राम्रो कमाई गरेको छु, यसमै म सन्तुष्टि र खुसीसाथ जीवन व्यतीत गरिरहेको छु ।’

काममा इमानदारिता र मेहनत गरियो भने पैसा कमाउन दुःख छैन, पुराना जुत्ता मर्मत र नयाँ जुत्ता आफैँले तयार पार्छन् । दैनिकजसो ६० भन्दा बढी ग्राहक पसलमा सेवा लिन पुग्छन् । सानो लगानीमा परिवारको साथमा रमाउन पाउँदा धेरै खुसीका साथ जीवन अगाडि बढेकोमा यस व्यवसायमा उनी गौरव गर्छन् ।
ग्राहकको भीडले नेपालीलाई काममा अहिले भ्याइनभ्याइ छ । पुराना काम सँगसँगै आफैँले नयाँ जुत्ता चप्पल पनि तयार पार्न थालेपछि व्यापार व्यवसाय बढ्दै गएको छ ।
नयाँ कामबाट भन्दा पुराना कामबाट धेरै फाइदा लिन सकिने उनको अनुभव छ । मेहनत गरियो भने अरबको खाडीमा कमाएको धनको तुलनामा दोब्बर बढी कमाइ स्वदेशमै गर्न सकिन्छ भन्ने सबैका उदाहरणीय पात्र बनेका छन् ।
यस्तै चन्दननाथ नगरपालिका–७ मिचा गाउँका ६७ वर्षीय मानबहादुर सार्की । व्यवसायमा यस क्षेत्रमै सफल पात्रका रुपमा कहलिएका छन् । आफूले सक्दासम्म व्यवसायलाई धान्ने उनको अठोट छ ।
उनले विगत ९ वर्ष देखि यो व्यावसाय गरेको सुनाए । सार्की सदरमुकाममा अवस्थित नेपाली सेनाको खेलमैदानको माथिल्लो गेटमा जुत्ता सिलाउने काम गर्छन् ।
उनले १३ जनाको घरपरिवारको गुजारा गर्दै तीन लाख रुपैया बैंकमा मौज्दात गरेको बताउँछन् । यस्तै चन्दननाथ नगरपालिका–४ का अर्का शान्त सार्की पनि उनको व्यवसायमा रोजगार पाउँदा उत्साहित छन् ।
विदेशको धेरै ठाउँमा काम गरेर घर फर्केका शान्तले दुई वर्ष अघिदेखि यहीँ काम गरी राखेका छन् । उनले दैनिक एक हजारभन्दा बढी रकम कमाइ गरिरहेका छन । ५० हजार रुपैया समृद्ध नेपाल कृषि सहकारी संस्थामा बचत गरेको बताए ।
उनिहरु एकै स्वरमा भन्छन् । चोरेर पो खान हुँदैन, सिप कला (देखाएर)गरेर खान केको लाज।जुम्लाको बसपार्क,एर्पाेट,मुख्य बजारको कृष्ण मन्दिर,कालेखोली चेक,जुम्ला क्याम्प चोकमा बसेर धेरैले जुत्ताचप्पल सिलाएर आर्थिकपार्जन गरिएका छन् ।
तर स्थानीय सरकारले यस्तै स्वरोजगार हुने खालका गतिविधिमा लगानी गर्नुपर्ने उनिहरु बताउछन् । कुनै पनि स्थानीय तहले यस्तो कार्यमा ध्यान गएको पाइदैन ।






