पठान टोलका नागरिकलाई सधैं खानेपानीकै पिरलो

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १० का गंगा सुनार उमेरले ७३ वर्ष भइन । सुनारको परिवार २०२८ सालमा दैलेखबाट वीरेन्द्रनगरको दक्षिण पूर्वमा रहेको (घुस्रासँग जोडिएको) पठान टोलमा बसाई सरेर आएको थियो । उति बेला वीरेन्द्रनगरमा हालको जस्तो बस्ती विस्तार भइ सकेको थिएन ।

सुरुमा बस्ती बाक्लो नभएका कारण हावापानी स्वच्छ र सफा थियो । खानेपानीका स्रोतहरु थुप्रै थिए । खानेपानी त्यति दुषित पनि हुदैन थियो । ‘सुरुमा हामी यहाँ आउँदा खानेपानीको समस्या थिएन, खोलाखाल्सी जताको पानी खाए पनि केही हुँदैन थियो’, सुनारले भनिन्, ‘जब यहाँ बस्ती बढ्न थाल्यो त्यसपछि खानेपानीका मुहान सुक्दै गए, भएका मुहानमा पनि धमिलो लेउ र मसिना किराहरु देखिन थाले ।’ आफूहरु बस्दै आएको झण्डै ५२ वर्षसम्म लेउ र किरा परेको धमिलो र दुषित पानी प्रयोग गर्दा विभिन्न खाले पानीजन्य रोगको सिकार हुनुपरेको गंगाको गुनासो छ ।

२०४८ को संसदीय निर्वाचन, २०५२ को मध्यावधिक, २०५६ को संसदीय, २०६४ को संविधान, २०७० को दोस्रो संविधान, २०७४ र २०७९ मा संघ, प्रदेश तथा स्थानीय तहको निर्वाचनमा भोट हालेकी स्थानीय गंगा सुनारले नेताहरुबाट पाएको आश्वासन जीवनको उत्तरार्धमा पुग्दा पनि पुरा भएको हेर्न पाएकी छैनन् ।

यो टोलका नागरिकलाई राजनीतिक दलका नेता तथा कार्यकर्ताले खानेपानी, लालपूर्जा, विजुली, सिंचाई लगायतका आश्वासन देखाएर भोट बैंक बनाएको उनको गुनासो छ । राजधानीकै सम्मुखमा रहेको यो वस्तीको आर्थिक, सामाजिक विकासको अवस्था अझै पनि परिवर्तन हुन सकेको छैन । अझ भनौ यहाँका नागरिकहरु खाद्य अधिकारबाट वञ्चितसमेत छन् । पठान टोलसँगै घुस्रा गाउँ जोडिएको छ ।

यी दुई टोलको दुरी झण्डै पाँच सय मिटर छ । निकास खोलाले सिमा छुट्याएका वारीको घुस्रा टोलमा विजुलीको राम्रो प्रवन्ध छ, कालोपत्रे सडक बनेका छन् । शिक्षा तथा स्वास्थ्यको राम्रो प्रवन्ध छ । सुर्खेत उपत्यका खानेपानी संस्थाले व्यवस्थित खानेपानी उपलब्ध गराएको भएपनि पठान टोलमा भने शुद्ध पिउने पानीको चरम अभाव छ ।

यहाँका स्थानीयले इनारबाट किरा र लेउ लागेको दुषित पानी कपडाले छानेर पिउन बाध्य छन् । पानी शुुद्धिकरणका लागि घरायसी विधि भनेको पातलो कपडाले छान्नु हो । जुन स्वास्थ्यका दृष्टिकोणले खासै शुद्ध भएको मानिदैन । यो बस्तीमा गरिब, विपन्न दलित परिवारको बाहुल्यता छ । जग्गासमेत ऐलानी छ । विजुली पुगेको भएपनि कम भोल्टेजको लाइन विस्तार भएको छ । उक्त बस्तीमा एक सय २० घरधुरीमा झण्डै सात सय बढी जनसंख्या छ ।

स्थानीयले खोल्सामा भुमिगत जमिनमुनिबाट निस्किएका चार वटा इनारको पानी प्रशोधन विनै सिधै प्रयोग गर्दै आएका छन् । बढ्दो जनघनत्वका कारण पानीमा विभिन्न किसिमका किटाणुको मिश्रणका कारण पानीजन्य रोगहरु झाडापखाला, आउँ, टाइफाइड तथा छाला लगायतका रोगहरुबाट पीडित हुनु परेको स्थानीय अमर सुनार बताउँछन् । विशेष गरी यस्ता रोगको जोखिममा बालबालिका र बृद्धबृद्धा पर्ने गरेको उनको भनाई छ । कतिले पानीकै कारण ज्यानसमेत गुमाएका छन् ।

‘हाम्रो टोलमा गतिलो नेता नै भएन, हाम्रो समस्याको माग वडा कार्यालयदेखि नगरपालिकामा समेत राख्यौं । तर, कुनै सुनुवाई नै भएन ।’ स्थानीय रमिता नेपालीले भनिन्, ‘दुषित पानी सेवनले गर्दा हाम्रा बालबालिकालाई झाडापखाला, आउँ, हैजा, लुतोजस्ता रोग लाग्ने गरेको छ ।’
२०२४ सालमा दैलेख, जाजरकोट जिल्लाका विभिन्न स्थानबाट बसाइँ सरेर आएका १२ घर अहिले बढेर एक सय २० घर पुगेको स्थानीय अगुवा रने सुनार बताउँछन् ।

सुनारका अनुसार यो समुदायमा दलित ८५, जनजाती १०, अन्य २३ घरधुरीको बसोवास छ, भने कुल जनसंख्या सात सय ३३ रहेको छ । जसमा महिला तीन सय ५८, पुरुष ती सय ७५ जना छन् । ‘उतीबेला सुर्खेतमा सुख सुविधा हुन्छ होला भनेर बसाई सरेर आयौं, तर सुर्खेत झरेपछि मान्छेको विस्तारै चाप बढ्दै गयो सेवा, सुविधाबाट समेत बञ्चित भयौं । बाच्न पाउँने अधिकारकोसमेत हनन् भएको छ ’ सुनारले भने ।

स्थानीय सरकारसँग बारम्बार खानेपानीको व्यवस्था गरिदिन माग गर्दा पनि कुनै सुनुवाई नभएको अगुवा सुनारको भनाई छ । पानी मात्रै होइन यहाँका नागरिकहरु लालपूर्जा विहिनसमेत छन् । विजुली, सिचाइँ र रोजगारीको अवसरबाट पनि बञ्चित छन् ।
शिक्षा, स्वास्थ्य तथा जनचेतनाको अभावले यहाँका युवाहरु लागुऔषध दुव्र्यसनी तथा विभिन्न अपराधिक घटनामा समेत संलग्न हुने गरेका छन् ।

पठान टोलका नागरिकलाई शुद्ध खानेपानी खुवाउने सरकारी प्रयास भने नभएको होइन । २०६७ सालमा १२ घरले खानेपानीका धारा पाएका थिए । तर, ति धारमा पानी भने कहिल्यै आएन । नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको हक हुनेछ भनेको भएपनि यहाँका नागरिक आफ्नो मौलिक हकबाट बञ्चित हुँदै आएका छन् । आँगन मै रहेका राज्यका दुई निकाय प्रदेश सरकार र स्थानीय तहलाई यो टोलको सभ्यताले गिज्याइ रहेको छ । यो बस्ती र वीरेन्द्रनगर नगरपालिकाको दुरी साढे ६ किलोमिटर रहेको छ ।

खानेपानीका लागि ज्ञापनपत्र

स्थानीयहरुले सिंचाई र शुद्ध पिउने पानीको व्यवस्थाको माग राख्दै वीरेन्द्रनगर नगरपालिकामा ज्ञापनपत्रसमेत बुझाएका छन् । गत जेष्ठ ४ गते नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटमा विभिन्न मागहरु समेटिनु पर्ने भन्दै स्थानीयले ज्ञापन पत्र बुझाएका थिए ।

सिचाईको अभावले समयमा सिचाई सुविधा नहुँदा तरकारी तथा खाद्यबालीको उत्पादनमा आएको कमिले खाद्यअधिकार तथा खाद्य सुुरक्षाको हनन् भएको ज्ञापनपत्रमा भनिएको छ । आगामी बजेटमा सिंचाई, शुद्ध खानेपानीका साथै विभिन्न सिपमुलक आयआर्जका कार्यक्रमहरु समावेश गरिनु पर्ने उनीहरुको माग छ ।

के भन्छन् वडाध्यक्ष

चालू आर्थिक वर्षमा वीरेन्द्रनगर नगरपालिकाले दुई लाख लागतमा एउटा इनार मर्मत गर्न बजेट छुट्याएको थियो । स्थानीयहरुले निर्माण समिति बनाएर पुरानो इनारलाई मर्मत गरेर खानेपानीको पोखरी निर्माण गरेका छन् । तर, बजेट पर्याप्त नहुँदा निर्माण सम्पन्न हुन सकेको छैन ।

पहिला रिङ्ग प्रयोग भएको हुनाले बर्खायाममा बाहिरको पानी इनारभित्र पस्न नदिन ढाक्ने गरिन्थ्यो । तर अहिले भने मर्मत पछि खुला छोडिएको छ । जसले आकाशे तथा बाह्य दुषित पानी सोझै इनारमा जाने जोखिम बढाएको छ । आफूहरुलाई शुद्ध खानेपानीबाट वीरेन्द्रनगर नगरपालिकाले नै बञ्चित गराएको स्थानीयले आरोप लगाउँदै आएका छन् ।

‘स्थानीय, प्रदेश र त्यस यता धेरै चोटी सरकार परिर्वत भयो तर, हाम्रो खानेपानीको समस्या समाधानका लागि कुनै सरकार, नेताको आँखा पर्न सकेन्, यहाँका स्थानीय जनजीवनमा कुनै परिवर्तन हुन सकेन ।’ स्थानीय शेरजंग शाहीले भने ।

वीरेन्द्रनगर–१० का वडाध्यक्ष डिलबहादुर रखाल भने स्थानीयको यो आरोपमा सत्यता नरहेको बताउँछन् । स्थानीयलाई पाइपलाइनबाट पानी खुवान नसकेको स्वीकार गर्दै वडाध्यक्ष रखालले उपलब्ध पानीलाई शुद्धिकरण गरेर खानलाई दिएको फिल्टरको सही सदुपयोग नगरेको दावी गरे । ‘हामीले उहाँहरूलाई बारम्बार पानीलाई उमालेर खानुहोस् भनेर अनुरोध गरेका छौँ, वडाध्यक्ष रखालले भने, ‘उहाँहरू मान्नु हुन्न, पानी शुद्ध गराउँन विभिन्न घरेलु विधि सुझाएका छौं, पोटास तथा फिल्टर पनि दिएका र्छौँ, फिल्टरमा चामल हालेर राख्नु भएको छ ।’

स्थानीयले माग गरे अनुरुप खानेपानीका लागि डिप बोरिङ्ग निर्माण गर्न सकिने तर, प्राविधिक रुपमा सञ्चालनमा कठिनाई हुने वडाध्यक्ष रखाल बताउँछन् । आफू निर्वाचित भएर आएदेखि वस्तीको आर्थिक तथा सामाजिक विकासका लागि नगरपालिका तथा प्रदेश सरकारसँग समन्वय गरी आवश्यक वजेटको व्यवस्था गरेको भएपनि स्थानीयहरु आफूसँग कहिल्यै सन्तुष्ट हुन नसकेको उनको गुनासो छ ।

वीरेन्द्रनगरले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि सार्वजनिक गरेको बजेटमा यो बस्तीलाई शुद्ध खानेपानीको पहुँचमा पुर्याउने खाले कुनै योजना नरहेको स्थानीयको भनाई छ ।

पठान टोलका नागरिकलाई सधैं खानेपानीकै पिरलो

प्रदेशसभाको बैठक १७ असारसम्मका लागि स्थगित

पठान टोलका नागरिकलाई सधैं खानेपानीकै पिरलो

औद्योगिक ग्राम कहिले बन्ने ?

Leave a comment

Your email address will not be published. Required fields are marked *