संघर्षको भट्टीमा रापिएर खारिएका विपिन

सिर्जना बुढाथाेकी
सुर्खेत,१६ माघ ।
जिवनमा मानिसको जब घमण्ड पलाउँछ नि त्यो मानिसको कहिल्यै प्रगति हुँदैन । असल उद्यमी हुनुमा धेरै कुरा आवश्यक पर्छ । अहमता कहिल्यै हुनुहुँदैन, मान्छेलाई सानो भनेर हेप्ने प्रवृत्ति हुनुहुँदैन, धनको घमण्ड हुनुभएन, स्वार्थ नभई शीतल दिमाग हुनुपर्यो अनि मात्रै सफल हुन सकिन्छ जीवनमा ।
मैले मेरो बुवाको एक पैसा नलिएर आज यहाँसम्म पुगे । मेरो दिमाग अनि सहनशीलता नभएको भए सायद म अर्काको ठाउँमा आएर जमेर बस्न सक्दिन थिए होला । आज सुर्खेतमात्रै हैन कर्णालीका कुना कुनामा मेरो उत्पादनको माग छ । यो नै मेरो सफलता हो ।

पैसा धन सम्पत्तिनै ठूलो लाग्थ्यो भने अलिकति कमाई गर्ना साथ जग्गा जमिन जोड्थे होला तर मैले उत्पादनमै लगानी गरे, आफ्ना मान्छे कसरी बनाउने भन्ने सोच्न थाले अनि व्यवसायलाई थप्दै गएँ । केहि युवालाई रोजगारी दिन सकेको छु, मलाई यसैमा खुशी मिलेको छ । म एकाबिहानै पाँच बजे उठ्छु अनि राती एघार बजेपछि मात्रै सुत्छु। न मेरो खानाको ठेगान छ न मलाई आराम नै छ । आफ्नो व्यवसायले मलाई सन्तुष्टि दिएको छ ।
बाल्यकालः
मेरो नाम विपिन ठाकुर हो । मेरो जन्म महोत्तरी जिल्लामा भएको हो, जुन बेला पञ्चायतकाल थियो । मेरो परिवारमा मेरो बुवा, आमा, बाजे, बज्यै, दुई भाई अनि दुई बहिनी थियौ । गाउँले समाजमा जन्मिएपनि शिक्षित नै भन्ने लाग्छ मलाई । मध्यमवर्गीैय परिवारमा जन्मिएको म, अभाव त भएन तर चाहेका हरेक कुरा पाइएन तर आवश्यक कुरा सबै पाइने परिवारमा हुर्किएको हुँ म ।
मैले मेरै गाउँको एक विद्यालयमा कक्षा सातसम्म पढे अनि सात भन्दामाथिी दशसम्म पढ्नका लागि अर्को ठाउँमा गइयो । दश कक्षा पास भनेको त्यो समयमा धेरै थियो वि.सं. २०४१ सालतिर । मेरो जन्म वि.सं. २०२४ चैत २७ गते भएको हो । मेरो बुवाले त्यो समयमा धेरै ठाउँमा जागिर गर्दै छोड्दै गरेको मान्छे हो ।
उहाँले पछि खेतीपाती गरेरै हामीलाई हुर्काएको मैले आफु बुझ्ने भएपछि देखेको हो । बाजेको पालामा किराना पसल थियो हाम्रो । अनि मेरो बाउको पालामा पनि धानको किन बेच गर्ने व्यवसायनै थियो । मेरो परिवार व्यापारी भएर होला ममा उहाँहरुको गुण सरेको । मलाई सानैबाट जागिर गर्ने मन थिएन, म व्यापारीनै बन्छु भन्ने थियो । दश पढेपछि मैले पनि पैसा कमाउने सोच गरे ।
आर्थिक अभाव नै हुन्थ्यो त्यो समय पैसा त्यति साह्रो कोहिसंग हुँदैन थियो । दश कक्षाभन्दा धेरै पढाउनसक्ने अवस्था पनि हुँदैन थियो । मेरो एकजना मामा हुनुहुन्थ्यो नापी टोलीमा उहाँलाई बुवाले भेटेर भान्जालाई पनि केहि काममा लगाउन पर्यो भन्नुभयो र मामाले पनि मलाई मुखिया सरहको जागिर तर अस्थायी रुपमा काममा लगाइदिनुभयो, त्यसकै शिलशिलामा म सुर्खेत आइपुगे ।

सुर्खेतको गणेशचोकमा मेरो अफिस थियो । मैले मासिक ६ सय रुपैयाँ पाउने गरी काम शुरु गरे । मेरो मनमा व्यवसाय भएर होला जागिरमा कत्ति पनि मन जाँदैन थियो । यत्ति कामले मात्रै पुग्दैन मैले अरु पनि केहि गर्नुपर्छ भन्ने सोच आउन थाल्यो ।
त्यसपछि मैले मेरो अफिसको नजिकै भएको अशोक पाउरोटी उद्योग थियो त्यहाँ म सधै बिहान चिया अनि पाउरोटी खानका लागि जान्थे । कुराकानी गर्दै गर्दा मैले साउजीलाई त्यहाँ काम दिनुपर्यो भनेर अफिसको काम सकेर बचेको समयमा काम गर्ने योजना सुनाएँ ।
व्यवसायमा यसरी जोडिएः
यसरी मैले आफ्नो इच्छा सुनाएपछि उहाँले अरु काम छैन सेल्सम्यानको काम खाली छ । दशदेखि चार बजेसम्म अफिसको काम गर्ने अनि बिहान बेलुका पाउरोटी सेल्सम्यानका लागि हिड्ने भए काम गर्नु भन्ने सल्लाह पाएपछि मैले साइकलमा पाउरोटी राखेर हिड्न थाले ।
त्यो समयमा पहिलेदेखि काम गरिरहेको एकजनाले काम छोड्ने समय परेकाले पनि मैले मौका पाएँ । साहुजीले त्यो छोड्न लागेको मान्छेलाई के भन्नुभयो भने, विपिनलाई बजारमा लगेर सबै ठाउँ देखाईदेउ पसलहरु उसले भोलिबाट बजारमा पाउरोटी छोड्छ भनेर ।
तर उसले मलाई पिपल चौतारामा लगेर छोडिदियो र म अलपत्र परे । त्यसपछि सोचे मैले बोकेको सामाग्री त खाद्यान्न र चिया पसलमै विक्रि हुने हो भनेर त्यस्ता पसल खोज्दै हिडे र बेच्दै गरे । मैले दिमाग लगाएर एकछिनमै पाँचसय प्याक पाउरोटी विक्री गरे ।
दिनदिनै पाँचसय, सात सय, हजार बराबरको सामान गर्दै विक्री गर्न थाले । त्यो समयमा पचास पैसा प्याकेट पाउर ोटी बेच्थीम् । मैले पाउरोटी विक्रि गरेर १५ सयभन्दा बढि कमाउँथे । अब चाहि यो जागिर खानुभन्दा बरु यहि सेल्सम्यानकै काम गर्छु, काम पनि सिक्छु, आइडिया पनि लिन्छु र पैसा पनि कमाउँछु भन्ने सोचेर मैले जागिर छोडेर बरु दिनभरी पाउरोटी कसरी बनाउने भनेर काम सिक्न थाले ।
बिहान बेलुका पसल पसलमा सामान बेच्ने अनि दिउँसो काम सिक्ने गर्दै दुई वर्ष त्यहाँ काम गरे अनि मैले सुरज पाउरोटीमा काम गर्ने योजना बनाएँ । काम सिकिसकेको थिएँ अनि अलि धेरै तलब अनि काम पनि सिक्ने अवसर हुन्छ भनेर मैले त्यहाँ काम गर्न सुरु गरे र त्यहाँ मैले आफ्नो जीवनको २५ वर्ष बिताएँ । २५ वर्षसम्म मैले हरेक काम त्यहाँ सिके अनि अब आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने सोच गरेर अगाडि बढे ।
उत्कृष्ट उद्योगीको पहिचान
सधै कति अरुकोमा काम गर्ने भनेर मैले अब आफै गर्छु भन्ने योजना बनाएँ तर मसंग त्यति धेरै पैसा थिएन । वि.सं. २०६५ सालदेखि मैले आफ्नो शुरु गरेको हुँ व्यवसाय । एकजना के.सी जी हुनुहुन्थ्यो उहाँले पनि पाउरोटीको व्यवसाय गर्नु भएको थियो तर उहाँले गर्न नसकेर छोड्नुभएको थियो ।
उहाँलाई भेटे र मैले हजुरको सामाग्री दिनुपर्यो, म खोल्छु आफ्नो अनि तपाईलाई अलि अलि गरेर तिर्छु भनेर काम शुरु गरे । उहाँले पनि मेरो यहि क्षेत्रमा २२ वर्ष बिताएको र मेरो दुःख देखेको हुनाले नाई भन्नु भएन । मेरो अनुरोधलाई सहर्ष स्वीकार्न् भयो ।
सबैभन्दा ठूलो कुरा मलाई कहिल्यै घमण्ड बढेन, मलाई मैलेनै राम्रो काम गर्छु भन्ने पनि भएन, फलानो व्यवसायीसंग प्रतिस्पर्धा गर्छु भन्ने पनि सोचेन र म मेहेनति हुँ, म आफै साइकल कुदाउँछु भन्ने सोचले आज म सफल भएको छु। म अहिले पनि अर्डर आयो भने पुर्याउन जान्छु। म पाउरोटी पुर्याउन हिड्ने बेला धेरैलाई यो के संग खाने थाहा थिएन। यसरी चिया अनि दूधमा चोबेर खाने भनेर पनि मैले सिकाएको थिएँ ।
पहिले साइकलमा जान्थे, अहिले बाइकमा जान्छु यति परिवर्तन भएपनि मेरो सोच र मनमा परिवर्तन भएको छैन । म कामदार हुँ भन्ने सोच मात्रै छ मेरो । मेरो गंगामाला पाउरोटी उद्योगबाट उत्पादन भएका पाउरोटीजन्य सामाग्री कर्णालीका हरेक जिल्लामा पुग्छ, नेपाल सरकारका कार्यालयमा पुग्छ, सैनिकहरुकोसम्म पुग्छ, विद्यालयदेखि नेपालगञ्ज अनि झापासम्म पुग्छ, तर त्यो त्यहाँ बन्ने ठाउँ नभएर होइन मेरो काम, उत्पादन, सम्बन्धले हो ।
पैसाले मात्रै हुदैन सम्बन्धले मानिसलाई जोगाउछ । मेरो गंगामाला पाउरोटी उद्योग, जिएमबि क्याफे मैले चलाई रहेको छु भने निकट भविष्यमा पार्टी प्यालेस चलाउने योजनामा छु। सबै गरेर ३२ जनालाई रोजगारी दिएको छु। म आफैले साइकलमा हिड्ने मान्छे हुँ, पाउरोटी बोकेर मैले आजसम्म मेरो धरातल भुलेको छैन।
अहिले पनि म पाउरोटी व्यवसायी संघको अध्यक्ष पनि छु। मेरो श्रीमती र मेरो एक छोरा छन् । सुर्खेतको मार्केट असाध्यै राम्रो छ, गर्न सके सफल भइन्छ । मैले काम शुरु गर्दा वीरेन्द्रनगर भ्यालीमा जम्मा १८ वटा चिया पसल थियो । बुवाको सहयोग बिनानै व्यवसायमा मैले आफ्नो जीवन खोजेको अनि सफल भएकाे मान्छे हुँ ।






