तेस्रो पटक विश्वासको मत लिदै मुख्यमन्त्री शर्मा

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिन लागेका छन् । शुक्रवार दिउँसो ३ बजे बस्ने प्रदेशसभा पहिलो अधिवेशनको तेह्रौं बैठकमार्फत मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

गत पुस २७ गते नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका शर्र्माले माघ ६ मा पहिलो पटक र फागुन १७ गते राप्रपाले सर्मथन फिर्ता लिएपछि संसद समक्ष दोस्रो पटक विश्वासको मत लिएका थिए । यस्तै गत चैत २७ गते सत्ता साझेदार दल एमालेले पनि समर्थन फिर्ता लिएपछि शर्माले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन ।
शर्मालाई नेपाली कांग्रेसले विश्वासको मत दिने छ । ४० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि आवश्यक संख्या २१ हो । जसमा माओवादी केन्द्र १३ र कांग्रेसका १४ गरी कुल २७ सांसद छन् ।






