सडक पुग्दा पनि पीडित कर्णालीः चर्को भाडादरले गिज्याउँदै गरिबी

सडक नपुगेको कर्णालीका पीडा एकातिर छन्, सडक पुगेको कर्णालीका पीडा अर्कातिर झन् गहिरा छन् । सडकमा गुड्ने सवारी साधनले असुल्ने चर्को भाडाले कर्णालीको गरिबीलाई गिज्याइरहन्छ ।
सबैभन्दा बढी सास्ती त दसैं–तिहारमा घर आउजाउ गर्ने यात्रुले भोग्नुपर्छ । चाडबाड मनाउन घर आउने श्रमिक, विद्यार्थीहरू सवारी भाडाकै मार थिलथिलो भएर फर्किनुपर्छ । त्यसमाथि निरन्तर बढी रहने इन्धनको भाउसँग भाडा उकालो लागिरहन्छ । तर, घट्दा भाडामूल्य कहिल्यै समायोजन हुन्न । कर्णालीका नागरिक गाडी पुग्दा पनि यसरी महंगो गाडीभाडाको मारमा छन् ।

पाँचवर्षअघिसम्म नेपालगञ्जबाट जुम्लाको गाडीभाडा एकहजार पाँचसय र सुर्खेतबाट एकहजार रुपैयाँ थियो । अहिले उकालो लागेर दुईहजार पाँचसय रुपैयाँ पुगेको छ । तर सरकारले पटक–पटक भाडादर तोक्दै र इन्धनको मूल्य घटाउँदा पनि भाडादर ओरालिएको ईतिहास छैन । यातायात व्यवसायीले अप्ठ्यारो कर्णाली राजमार्गको कारण देखाउँदै गाडीको मर्मत खर्चसमेत नआउने भन्दै मनोमानी भाडा लिने गरेका छन् ।
उसो त कर्णालीमा इन्धनको मूल्यमा पनि मनोमानी छ । नेपाल आयल निगमले कात्तिक १४ गते इन्धनको मूल्य घटाउँदा पेट्रोलमा प्रतिलिटर ११ रुपैयाँ र डिजेलमा प्रतिलिटर चार रुपैयाँ घटेको छ । यो हिसाबले विगतमा दुईसय रुपैयाँ प्रतिलिटर बिक्री हुँदै आएको पेट्रोल एकसय ८९ रुपैयाँमा र एकसय ८३ रुपैयाँ प्रतिलिटर बिक्री हुँदै आएको डिजेल एकसय ७९ रुपैयाँमा बिक्री हुनुपर्ने हो । तर जुम्लाका सुस्मा आयल स्टोरबाहेक सबैले निर्धारित मूल्यभन्दा बढीमा इन्धन बिक्री गरिरहेका छन् । सुस्मा मात्रै जुम्लामा रहेको आयल निगमको आधिकारिक बिक्रेता हो ।
सुस्माबाहेक पनि अनधिकृत रुपमा इन्धन बिक्री हुँदैआएको छ । आधिकारिक बिक्रेताको कमी हुँदा सवारी साधनले बाध्यताले अनधिकृत पम्पबाट महंगोमा इन्धन किन्नु परिरहेको छ ।
कर्णाली राजमार्गमा पर्ने, मान्म, पिलि, नाग्म, रारा, त्रिवेणी, कुडारी, लिताकोट, तातोपानी, ऐरेनी, उमगाड र जुम्ला बजारका विभिन्न पसलमा अनधिकृत रुपमा पेट्रोल र डिजेल मनोमानी मूल्यमा बिक्री हुँदै आएको छ ।
अनधिकृत बिक्रेताबाट महंगोमा इन्धन हालेर सवारी चलाउनु परेकाले भाडादर पनि महंगो लिनुपरेको सवारी चालकहरू बताउँछन् । ‘डिजेल प्रतिलिटर दुईसयसम्ममा हाल्नुपर्छ । अनि गाडिभाडा पनि महंगो हुने नै भयो,’ सवारी चालक पदम महतरा भन्छन्, ‘इन्धनको मूल्य नघटेको र बाटो निकै जोखिमयुक्त भएकोले पनि गाडीभाडा घटाउन मुस्किल छ ।’
जुम्ला–सुर्खेत दुई सय ३२ किमी र जुम्ला–नेपालगन्ज तीन सय २२ किलोमिटर दुरी छ ।
यो दुरीमा साना गाडीले एकहजार पाँचसय र बसले त्यसभन्दा कम हुनुपर्ने हो । सडकको स्तर पनि पहिलेजस्तो कमजोर छैन । यस्तोमा अझैँपनि सवारीले विभिन्न बहाना बनाउँदै चर्को भाडा लिइरहेका छन् । अहिले जीपमा यात्रा गर्दा जुम्ला–सुर्खेत दुईहजार पाँचसय र जुम्ला–नेपालगन्ज यात्रा गर्दा दुईहजार छसय रुपैयाँ भाडा तिर्नुपर्छ । दसैं–तिहार र यात्रु चाप भएका बेला झन् महंगो भाडा तिरेर यात्रा गर्नुपर्ने बाध्यतामा कर्णालीबासी छन् ।
यातायात व्यवसायी, इन्धन बेच्ने व्यापारीको मनोमानीको मारमा कर्णालीबासी परिरहेको नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले बताए । उनले भने, ‘जिल्ला प्रशासन कार्यालयले यसमा नियमन गर्नुपर्ने हो । उसले कडाई नगर्दा यो अवस्था छ ।’
जिल्ला प्रशासन कार्यालय, जुम्लामा यसविषयमा पटक–पटकको छलफलबाट पनि अहिलेसम्म निकास दिन सकेको छैन । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरले भाडादर निर्धारण गर्ने अधिकार प्रशासनलाई नभएको बताए ।
प्रदेश सरकारले नयाँ निर्णय नगरुन्जेल आफू आउनुभन्दा पहिला निर्धाण भएकै भाडा लागु गराइरहेको उनको भनाई छ । ‘इन्धनको मूल्यमा एकरुपता नभएको विषयमा अनुगमन गर्दैछौं,’ उनले भने, ‘यातायात व्यवसायीका आफ्नै माग छन् । सरकारले तोकेनुसार कार्यन्वयन गर्नुपर्ने त्यसो नभएको गुनासो बढ्दो छ ।’






