बाँके र बर्दियाका व्यापारीले गरे विरोध सभा


बाँके र बर्दियाका व्यापारीले व्यवसायिक विरोध सभा गरेका छन् । नेपालगञ्ज उद्योग बाणिज्य संघ तथा व्यवसाय तथा व्यवसायिक उत्थान संघर्ष समिति, बाँके एवं नेपाल घरेलु तथा साना उद्योग महासंघ, बाँके÷बर्दियाको आयोजनामा नेपालगञ्जको धम्बोझीचोकमा विरोध सभा गरिएको हो ।
‘धेरै पटक अरुका लागि लड्यौ, एक पटक आफ्ना लागि लडौं’ भन्ने नाराका साथ थालिएको आन्दोलनमा व्यवसायीले सरकारको गलत वित्तिय नीति, अव्यवहारिक कर प्रणाली तथा अस्वस्थ भन्सार नीतिको विरोध गरेका छन् ।
विभिन्न १४ बुँदे माग राखेर व्यापारीले बाँके र बर्दियाका सबै पालिकाहरुमा कार्यक्रम गरेपछि शहर केन्द्रित आन्दोलन गरेका छन् । यत्ति गर्दा पनि निकास ननिस्किए व्यापार व्यवसाय बन्द गरेर ताला बुझाउने कार्यक्रम रहेको छ ।
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरी, महासंघका पूर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष एवं व्यवसाय तथा व्यावसायिक उत्थान संघर्ष समितिका संयोजक टंकबहादुर धामी, संघका पूर्वअध्यक्ष नन्दलाल बैश्य, उद्योग बाणिज्य संघ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेललगायतले व्यवसायीलाई सटरभित्र झुण्डिएर मर्नु भन्दा सडकमा कडा आन्दोलनमा सहभागी हुन आव्हान गरेका छन् ।
नेपालगञ्ज उद्योग बाणिज्य संघका महासचिव एवं संघर्ष समितिका सदस्य सचिव भीमबहादुर रानाभाटले आफ्ना मुद्दामा राजनीतिक दल र सरकार नबोलेको टिप्पणी गरे ।






