बजेटमा भेटिन्छन्, कार्यान्वयनमा आउँदैनन्

सुर्खेत । बजेटमा महत्वाकांक्षी उद्देश्य बोकेका कार्यक्रमहरु समावेश अवस्था संघमा मात्र होइन स्थानीय तहमा पनि उस्तै छ । सम्भावना अध्ययन तथा विशेष तयारीविना नै हचुवाका भरमा बजेटमा समावेश हुने यस्ता योजनाहरुले केहि समय नागरिकको ध्यान त आर्कषण गर्छन् । तर, विकासको नाम दिइने यी योजनाहरुको कार्यान्वयन पक्ष भने ज्यादै फितलो छ ।

वीरेन्द्रनगर नगरपालिकाले समेत विगत पाँच वर्षमा यस्ता महत्वाकांक्षी खालका दर्जनौँ योजनाहरु आफ्नो नीति तथा कार्यक्रममा समावेश
गरेको छ । नगरपालिकाको वार्षिक नीतिमा समावेश हुने कार्यक्रमको अवस्था सदैव उस्तै नै हुन्छन् । फरक यति मात्र, हरेक वर्ष नयाँ महत्वाकांक्षी योजनाहरु भने आईरहन्छन् । कार्यान्वयन प्रक्रिया पनि अघि बढाइन्छ र त्यसै हराउँछन् । संघीयता पछि स्थानीय तह दोस्रो कार्यकालमा छ । यस विच वीरेन्द्रनगर नगरपालिकामा दर्जनौँ यस्ता योजनाहरु नीतिमा समावेश भए, तर हालसम्म पनि कार्यान्वयनमा भने आएका छैनन् ।
पाँच वर्ष भयो चिडियाखाना निर्माण दोह्रोरिएको
वीरेन्द्रनगर नगरपालिकाले काँक्रेविहार संरक्षण क्षेत्रमा चिडियाखाना निर्माण गर्ने नीति लिएको अहिले पाँच वर्ष भन्दा बढी भईसक्यो । तर हालसम्म पनि नगरपालिकाले यो योजना अघि बढाउन भने सकेको छैन । आर्थिक वर्ष २०७५/०७६ मा नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा ‘पर्यटन प्रर्वद्धनका लागि वीरेन्द्रनगर-९ मा चिडियाखाना निर्माण गरिनेछ’ विषय समावेश गरेको थियो ।
सो पछिका आर्थिक वर्षमा काँक्रेविहार संरक्षण क्षेत्रमा चिडियाखाना निर्माण गर्ने र त्यहाँका वन्यजन्तुको वासस्थानको सुरक्षा तथा पानीको व्यवस्थापन गर्ने विषय वार्षिक नीतिमा निरन्तर उल्लेख भयो । चिडियाखाना निर्माण नीति लिइएको पाँच वर्ष भईसक्दा समेत नगरपालिकाले यो प्रक्रिया अघि बढाउन सकेको भने छैन ।
अझै बनेनन् वडामा हाट बजार, तरकारी एम्बुलेन्सको सुरसार नै छैन
नगरका १६ वटै वडामा कृषि गतिविधि बढाउन र विचौलियालाई वहिष्कार गर्ने उद्देश्य लिएको नगरपालिकाले प्रत्येक वडामा हाट बजार सञ्चालन गर्ने नीति लिएको पनि पाँच वर्ष बढी भईसक्यो । २०७५/०७६ को आर्थिक वर्षमा नगरले हाट बजार सञ्चालनको नीति लिएपनि २०७९/०८० आर्थिक वर्षमा तरकारी एम्बुलेन्स समेत सञ्चालन गर्ने थप गरेको थियो ।
हालको समयमा केहि वडाले हाट बजार सञ्चालनका लागि प्रक्रिया अघि बढाएका छन् । तर जग्गा अभावका कारण अहिलेपनि यो योजना अघि बढेको भने छैन । पाँच वर्षको समयावधिमा हाट बजार सञ्चालनका लागि वडा कार्यालयसँग जग्गाको घेरवार र स-साना टहरा निर्माण वाहेकको बजेट उपलब्ध छैन । तरकारी एम्बुलेन्स सञ्चालन नीति आफैमा कमजोर भएको देखिन्छ ।
नगर बस र सुर्खेत बसपार्क ओझेलमा
गत आर्थिक वर्ष २०७८/०७९ मा वीरेन्द्रनगर नगरपालिकाले ‘सुर्खेत बसपार्क’ सञ्चालनमा ल्याउने विषय आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको थियो । वीरेन्द्रनगर-१ मा सुर्खेत बसपार्क निर्माणको लागि संघीय सरकार, प्रदेश सरकार र नीजि क्षेत्रसँगसहकार्य गर्दै सार्वजनिक नीजि साझेदारीको अवधारणा अनुरुप निर्माण कार्य अगाडि बढाउने भनिएको अहिले दुई वर्ष पुग्न थालेको छ ।
यसैगरी चालु आर्थिक वर्ष २०७९/०८० मा नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा नगर बस सञ्चालनमा ल्याउँने विषयलाई समेत समावेश गरेको थियो । ‘नगरका नागरिकहरु सहज आवागमनका लागि नगर वस सञ्चालन कार्यविधि निर्माण गरी सञ्चालन प्रक्रिया अगाडि बढाइनेछ’, तर हालसम्म पनि यस विषयमा नगरपालिकाले ठोश प्रक्रिया अघि बढाउँन सकेको भने छैन ।
सपिङ्ग कम्प्लेक्स र आकाशे पुल
आर्थिक वर्र्ष २०७६/०७७ मा वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्रनगर-६ स्थित हटिया वजार क्षेत्रमा सुविधा सम्पन्न सपिङ्ग कम्प्लेक्स निर्माण सुरु गर्ने योजना बनाएको थियो । यस विषयलाई ननगरपालिकाले आफ्नो आन्तरिक आम्दानीको स्रोत वृद्धि गर्ने योजनामा अघि सारेको थियो । नगरपालिकालाई उप-महानगरपालिका बनाउनका लागि आन्तरिक राजस्व वृद्धिमा यस्ता योजनाहरु सकारात्मक थिए । तर नगरपालिकाले यो विषयलाई अघि भने बढाएन ।
‘आधुनिक सपिङ्ग कम्प्लेक्स निर्माणको काम सुरु गर्दै अन्य स्थानका सार्वजनिक जमिनहरुमा समेत सार्वजनिक नीति साझेदारी अवधारणामा पसल, कवल, पार्क निर्माण गर्न निजि क्षेत्रलाई प्रोत्साहन गरिनेछ’, सो आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ ।
चालु आर्थिक वर्ष २०७९/०८० मा नगरपालिकाले बढी सवारी चाप भएका स्थानहरुमा आकाशे पुल निर्माण गर्ने विषय समेत नीतिमा समावेश गरेको थियो ।
‘मंगलगढी र एरिचोकमा सम्भाव्यता अध्ययन गरी आकाशे पुल निर्माण गरिनेछ’, नगरपालिकाको नीति भएपनि यस तर्फ भने नगरपालिकाले ठोश काम अघि बढाएको देखिदैन । यसैगरी फुटपाथ, साइकल लेन, सवारी पार्किङ्ग, रोडमा लाइनिङ्ग र ट्राफिक लाइट समेतको डिजाईन गरी नमुना सडक निर्माण गर्ने विषय समेत नगर क्षेत्रमा स्पष्ट देखिएका छैनन् ।
नीतिमै सिमित मदिरा तथा सूर्तिजन्य पदार्थ नियन्त्रण
नगरपालिका क्षेत्रमा मदिरा र सूर्तिजन्य पदार्थको उपलब्धता सबै स्थानमा छ । नागरिक जनस्वास्थ्यसँग जोडिएको यस विषयमा नियामक निकाय वीरेन्द्रनगर नगरपालिका नै हो । नगरले यसको सर्वसुलभ उपलब्धतालाई नियन्त्रण गर्न खोजेको पनि धेरै वर्ष भईसकेको छ । सहज उपलब्धतालाई निरुत्साहित गर्ने र यसको वितरण प्रणालीमा नियन्त्रण जनाउँने विषय नगरको नीति तथा कार्यक्रममा समावेश हुन थालेको २०७५/०७६ देखि नै हो ।
तर हालसम्म पनि नगर भित्रका सबै क्षेत्रमा मदिरा र सूर्तिजन्य पदार्थ सहज रुपमै उपलब्ध छन् । ‘मदिरा तथा सुर्तिजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्न, उपलब्धतालाई नियन्त्रण, बिक्रि वितरणलाई उचित स्थान र समयलाई व्यवस्थित गर्न अनुगमन तथा नियमन गर्ने व्यवस्था मिलाउने’, नगरको नीतिमा हरेक वर्ष उल्लेख हुन्छ ।
सेलायो अटोग्यारेजको विषय
आर्थिक वर्ष २०७५/०७६ मा नगरपालिकाले निश्चित क्षेत्रमा अटोग्यारेज सञ्चालन गराउँने नीति लिएको थियो । अटोग्यारेज तथा उद्योगहरुलाई निश्चित क्षेत्र तोकी सो क्षेत्र भित्रमात्र सञ्चालन गर्न दिने नगरको नीति थियो ।
तर हाल वीरेन्द्रनगरमा आफुखुशी रुपमा अटो ग्यारेजहरु सञ्चालनमा छन् । यसले शहरको सौन्दर्यमा समेत असर गरेको छ । यसैगरी ठुला खाले सवारी साधनलाई समेत मर्मत सम्भारका लागि क्षेत्र निर्धारण गरी ति खाले व्यवसायहरु एकिकृत रुपमा सञ्चालनमा आउँन सकेको देखिदैन ।
‘नीतिमा आउछँन्, तर काम नै हुदैन’
अटो भिलेज अथवा अटो ग्यारेज सञ्चालनका विषयमा सुर्खेत उद्योग वाणिज्य संघ सो समय निकै उत्साहित थियो । एकीकृत रुपमा एकै स्थानबाट सवारी साधन मर्मत लगायतका सेवा उपलब्ध प्रवाह हुने भएपछि संघले नगरपालिकासँग समन्वयकारी भूमिका निर्वाह गर्न तयार थियो । तर नीतिमा यस कार्यक्रम समावेश गरेपनि कार्यान्वयन नहुँदा भने निजि क्षेत्र अहिले स्थानीय तहलाई विश्वास गरिहाल्न सक्ने अवस्थामा छैन ।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले भने, ‘अटो भिलेज बनाउँनुपर्छ भनेर हामीले माग राखेको राख्यै छौँ । वीरेन्द्रनगर नगरपालिका मात्र होइन प्रदेश सरकारलाई समेत भनेका छौँ । तर अहिलेसम्म हाम्रो विषय सुनुवाई भएको छैन ।’ बजेटमा समावेश भएपनि कार्यान्वयन पक्ष कमजोर भएको उनको गुनासो छ । ‘बजार क्षेत्रमा मनपरी रुपमा अटो ग्यारेजहरु सञ्चालनमा छन् । मापदण्ड अनुसारको व्यवस्थाापन छैन । सडकक्षेत्रमै गाढी मर्मत गर्छन् । यसले नगरको सौन्दर्य समेत बिगारेको छ ।’






