विजया दशमीको शुभकामना !

नवरात्रिभरी माता दुर्गाका नौं वटा रूपहरू शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डका, स्कन्द माता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धि दात्रीको पूजा–अर्चना गरिन्छ । यस दिन दिन दुर्गाको आठौँ स्वरूप महागौरीको विधि विधान अनुसार पूजा अनुष्ठान गर्ने गरिन्छ । आज (आईतवार) महाअष्टमी,गणेशको रूपमा स्थापना गरिएको कलशको छेउमा नौ वटा स–साना ढुङ्गाहरूलाई नवदेवीका प्रतिमाका रूपमा स्थापित नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ ।
घटस्थापनाका दिन वैद्धिक परम्परा अनुसार स्थापना गरिएको कलश र जमरा राखिएको ठाउँमा विधिपूर्वक पूजा अर्चना गरिने भएकाले आजको दिन शक्ति पीठ, दशैं घर अनि विभिन्न मन्दिरमा विशेष घुइँचो रहन्छ । महाअष्टमीको मध्यरात अर्थात् नवमीको सुरुमा देवीहरूको विशेष पूजा अनुष्ठान हुने गर्छ । नेपाली सेना र प्रहरीका हातहतियार र कलपूर्जाहरूको पूजा अर्चना समेत विधि विधान अनुसार गरिन्छ ।
कर्णालीमा समेत अहिले दशैंको चहलपहल निकै बढेको छ । अन्यन्त्र स्थानमा भएका नागरिकहरु दशैं मनाउन आफ्नो घर आईसकेका छन् । यस वर्ष विजयादशमीको कात्तिक ७ गते बिहान ११ः०२ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत छ । विजया दशमीको दिन भगवतिले दानवी शक्ति माथी र रामले रावणमाथि विजय हाँसिल गरेको उपलक्ष्य र खुशीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन रहेको छ । यसलाई असत्य माथि सत्यको विजयको रूपमा लिइन्छ ।
यसकारण, यस दशमीलाई विजया दशमी भनिएको हो । आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने, नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमता अनुसार मिठो खाना खाने–खुवाउने, घर आँगन, बाटोघाटो, गाउँ बस्ती सफा राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ । यस वर्षको बडादशैं अर्थात् दुर्गा पक्षको सुरुवात भने असोज २८ गते आइतबार भएको थियो ।
त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको थियो । गत साउन महिनामा अधिक मास परेका कारण २०८० को बडादशैं असोज अन्तिमदेखि सुरु भएको हो । कात्तिक पहिलो साता बडादशैंको मुख्य दिन अर्थात् विजयादशमी परेको छ । कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादशैं पर्व समाप्त हुन्छ । विजया दशमीको पावन अवसरमा हाम्रा सम्पूर्ण पाठकवर्ग, पत्रकार तथा लेखक, स्तम्भकार, विज्ञापनदाता लगायत समस्त नेपालीजनको सुस्वास्थ्य, दीघायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछांै ।
यसका साथै आज अष्टमीका दिनदेखि पूर्णिमाका दिनसम्मका लागि यस युगआह्वान दैनिकको प्रकाशन बन्द रहने जानकारी गराउन चाहन्छौ । पत्रिका नियमित प्रकाशन तर्फ अव हामी कार्तिक १२ गते भेट्नेछौ । दशैंका समयमा यहाँहरुलाई सूचना उपलब्ध गराउन भने रोकिएको छैन । युगआह्वान दैनिकद्वारा सञ्चालित युग न्यूज डट कम मार्फत समाचार तथा सूचनाहरु प्रकाशन भने निरन्तरता नै हुनेछ । विजया दशमीको शुभकामना !







