भाँडाकुँडा र चामल बोकेर ट्युसन


जुम्लाको सिंजा गाउँपालिका–४ का धर्म बुढा महिना दिनका लागि खाद्यान्न, लत्ताकपडा र भाँडाकुँडा बोकेर जुम्लाको सदरमुकाममा खलंगा बजार झरेका छन् । अपुग भए गाउँबाट खलंगा आउने आफन्तले चामल, मकै, सिमी, पिठो(धुलो)आलु भटमासलगायत खाद्यान्न ल्याइदिने भएकाले उनलाई ढुक्क छ । भैरव मावि नराकोटमा १० कक्षाका उनलाई ट्युसन पढ्नका लागि जुम्ला झर्नुपर्ने बाध्यता आइलागेको हो ।
अत्यधिक चिसो हुने हिउँदमा विद्यालयमा पढाइ हुँदैन । त्यसैले ट्युसन पढ्न जुम्ला लगायतका शहरमा झर्ने विद्यार्थीको लर्को छ । भैरव माविका कक्षा प्रथम मानबहादुर बुढाले पनि पढ्नकै लागि घर छाडेर जुम्ला गएको दुई साता बित्यो । उनीसँगै ३६ जना विद्यार्थी जुम्ला मा ट्युसन पढ्छन् । अंग्रेजी, गणित, विज्ञान, ऐच्छिक गणित गरी चार विषयको ट्युसन पढ्न उनीहरूले गाउँ छाडेका हुन् ।
एउटा विषयको ट्युसन पढ्न मात्रै विद्यार्थीले महिनामा कम्तीमा दुई हजार रुपैयाँ तिर्नुपर्छ । विद्यालयमा कोर्स नसकिएकाले ट्युसन पढ्नैपर्ने बाध्यता भएको हो । उनीहरूले तीन महिना ट्युसन पढ्दा ५० देखि ६० हजार रुपैयाँ खर्चिनुपर्छ । याता सोही गाउँपालिका–५ कैलाश माविका अर्का विद्यार्थी सेर रोकाया पुस महिना लागे लगत्तै सुर्खेतमा पुगेका छन् । बहिनी दिलमाया रोकाया लोकसेवाको तयारीका लागि साथमै गएकी छन् । तीन महिनालाई खर्चको जोहो गरेर हिँडेका उनले चैतमा घर फर्किने बताउँछन् । गाउँमा धेरै जाडो चिसो हुन्छ । उनले भने,‘पढाइ पनि गतिलो हुँदैन, त्यसैले एसईई दिने विद्यार्थीले हिउँदमा ट्युसन पढ्न जिल्ला छोड्ने चलन नै बसिसकेको छ ।’
यो जुम्लाको मात्रै होइन, साविकका कर्णाली पाँच वटै जिल्लाको रित हो । सिंजा–६ का मावि जोडुमा १० कक्षा अध्ययनरत सक्सेस बुढा लगायतका ३० जना मध्ये अधिकांश विद्यार्थी सुर्खेत, नेपालगन्ज, जुम्ला बजारलगायत सहर झरेका छन् ।
आर्थिक रूपमा विपन्न बालबालिका पनि पाएसम्म ऋण सापटी गरेर पढ्न बाहिर जाने गरेको विद्यालयका प्रध्यानाध्यापक नरबहादुर बुढाले बताए ।
सिंजा क्षेत्रका तिला, हिमा, सिंजा र कनकासुन्दरी र बजार तिरका पातारासी, गुठिचौर, चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका पर्ने लगायत विभिन्न विद्यालयका एसईई परीक्षा दिने अधिकांश विद्यार्थी ट्युसन पढ्न घरबाट खर्च लिएर जुम्लाको सदरमुकाम खलंगा, सुर्खेत लगायत ठाउँमा झरिसकेको सिंजा गाउँपालिका अन्तर्गतको शिक्षा शाखा प्रमुख शंकर धितालले जाडोका कारण जुम्लाका विद्यालयमा पुस र माघ गरी २ महिना पठनपाठन बन्द हुने गरेको उनले बताए ।
एसईर्ई दिने विद्यार्थी ठूलो संख्यामा जिल्ला बाहिर गए पनि आर्थिक अवस्था कमजोर भएर टाढा जान नसक्नेका लागि जिल्लाभित्रै ट्युसन पढाउने गरिएको छ ।
सदरमुकाम मान्ममा रहेका ४ वटा ट्युसन सेन्टरमा करिब तीन हजार भन्दा विद्यार्थी पढ्छन् । अंग्रेजी, गणित, ऐच्छिक गणित र विज्ञान विषयको ट्युसन पढ्न गाउँबाट विद्यार्थीले प्रतिविषयको तीन हजारका दरले मासिक शुल्क तिर्ने गरेको स्थानीय शिक्षक रामबहादुर बुढाले बताए ।
जुम्लाका ट्युसन सेन्टरले मंसिर तेस्रो सातदेखि फागुन अन्तिमसम्म ट्युसन पढाएर वर्षभरिको खर्च उठाउँछन् । सिजनमा राम्रै कमाइ हुन्छ, डाईनामिक न ट्युसन सेन्टरका व्यवस्थापक भिम थापाले भने, ‘सेवा दिएका छौं, ट्युसन पढेका विद्यार्थीको नतिजा पनि राम्रो देखिएको छ ।’ उनले अहिले दैनिक करिब एक सय बढी जना विद्यार्थीलाई ट्युसन पढाइरहेको बताए ।
जुम्लामा अल्फा, डाइनामिक, ब्राइटफ्युचरफ र न्युभिजन ट्युसन सेन्टर सञ्चालित छन् । शिक्षकले भए पनि नपढाएपछि कर्जा–सापटी गरेरै भए पनि बालबालिकालाई ट्युसन पढ्न जुम्ला र सुर्खेत पठाउनुपरेको अभिभावक भोटे बुढा बताउँछन् । उनले भने,‘एसईई नजिकिएको छ, बालबालिकाले कोर्स पूरा भएको छैन भनेपछि जुम्ला वा सुर्खेत पठाउनुको विकल्प छैन ।’
उनका छोरा १६ वर्षिय लोगजुन र १४ वर्षिया छोरी धनमाया अहिले ट्युसन पढ्न जुम्ला बजारमा छन् । सबै सरोकारवालाको सहयोग नभएसम्म विद्यालय सुधार गर्न कठिन भएको गुनासो गरे । विद्यार्थीको नियमितता, गुणस्तरीय भौतिक पूर्वाधारको निर्माण, व्यवस्थापन, शिक्षक, अभिभावक र विद्यार्थीबीच सुमधुर सम्बन्ध हुने हो, भने केही सुधार आउने बताइएको छ ।






