‘कर्मचारीले काम भ्याएनन्’ भन्न कति सुहाउँछ ?

वीरेन्द्रनगर नगरपालिकाले कर्मचारीलाई अतिरिक्त सेवामा थप तलव तथा भत्ता सुविधा उपलब्ध गराउँने भएपछि अहिले यो विषय चर्चामा छ । नगरपालिकाले सवारी चालक, ईञ्जिनियर, समितिका पदाधिकारी लगायतलाई थप सेवा सुविधा तथा भत्ता उपलब्ध गराउने निणर्य गरेको छ । कर्मचारी र समितिका पदाधिकारीलाई अतिरिक्त समयको भुक्तानी दिने भएपछि अहिले नगरपालिका भित्र कार्यसम्पादनका विषयमा समेत प्रश्न उठेको छ ।

कार्यालय समय भन्दा अतिरिक्त समयमा समेत कामकाजमा खटिएको भन्दै नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतका सवारी चालकलाई सुविधा थपिएको छ । अतिरिक्त कामकाजमा खटिएको भन्दै प्रमुख र उपप्रमुखका सवारी चालकलाई सात हजार रुपैयाँ तथा प्रमुख प्रशासकीय अधिकृतको सवारी चालकलाई भने ६ हजार रुपैयाँ सुविधा उपलब्ध गराउने नगरपालिकाको निणर्य छ । नगरपालिकाका प्राविधिक कर्मचारीहरुलाई समेत मासिक थप सुविधा दिने निणर्य गरिएको छ । प्राविधिक कर्मचारीलाई थप कार्यभार परेको जनाउँदै नगरपालिकाले अधिकृत स्तरका सातौं र आठौं तहका प्राविधिक कर्मचारीहरुलाई मासिक सात हजार रुपैयाँ उपलब्ध गराउँदैछ । यसैगरी अधिकृत छैठौं तहका कर्मचारीलाई पाँच हजार पाँच सय, सहायक स्तर चौथों तहकालाई पाँच हजार रुपैयाँ उपलब्ध हुनेछ । यता करारमा भर्ना गरिएका कर्मचारीलाई समेत महंगी भत्ता दिइदैछ । नगरपालिकामा कम्तीमा पाँच वर्ष भन्दा बढी समय कार्यरत रहेका करार कर्मचारीकालागि मासिक रुपमा दुई हजार महंगी भत्ता नगरपालिकाले दिनेछ । भूमिहिन सुकुम्वासी, भूमिहिन दलित तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन, फिल्ड कार्यमा संलग्न हुने सहजिकरण समितिका पदाधिकारीहरुलाई नगरपालिकाले खाना खर्च उपलब्ध गराउने भएको हो । समितिका ति पदाधिकारीलाई फिल्डमा खटिएको दिनमा दैनिक पाँच सय रुपैयाँका दरले खाना-खाजा खर्च उपलब्ध गराउने कार्यपालिकाको निणर्य छ ।

दैनिक सात घण्टा कार्यालय कामकाजमा लागि भर्ना भएका कर्मचारीलाई थप काम गराउनु श्रम ऐन विपरित पनि हो । केहि रकमको लोभ देखाएर मावन श्रम शोषण गर्न समेत मिल्दैन । अर्को विषय, दैनिक ज्यालादारी कर्मचारी वा अन्य तहका कर्मचारी भएपनि घण्टाका हिसावले भुक्तानी दिनु पनि स्वभाविक मानिन्छ । तर कामकाजकै लागि ल्याइएका कर्मचारीले समयमा काम सम्पन्न गर्न भ्याएनन् भनेर उनीहरुलाई समय थप्ने भन्दा पनि अरु कर्मचारी थप्नुपर्छ । नगरका उपप्रमुख र प्रमुखलाई नागरिकले कार्यालय समयमा मात्र काम गर्नु भनि निर्वाचित गराएका पनि थिएनन् । अनि उनिहरुको सवारी चालकले कार्यालय समय मात्र सवारी चलाउँछु भन्दै नियुक्त पनि थिएका थिएनन् । जागिरमा व्यवहारिक विषयहरु समेत समावेश हुन्छन्, ति विषयहरु रोजगारदाता र रोजगार भएका व्यक्तिले सदैव बुझ्नुपर्छ । नगर भित्र प्राविधिक कर्मचारीहरुलाई १२ औं महिना काम हुनेगरी त्यति विकास निर्माणका गतिविधि चलायमान भएको देखिदैन । अनि किन अतिरिक्त समयको आवश्यकता भएको हो ? यसको साटो कर्मचारी कार्यसम्पादन मुल्यांकनलाई जोड दिइनुपथ्र्यो । कार्यालय समयमा समेत थप अतिरिक्त काम गर्न सक्ने क्षमतावान कर्मचारीलाई हो, प्रोत्साहन गर्ने । तव कार्यालयको सेवा प्रवाह समेत चुस्त दुरुस्त हुन्छ । ‘टिप्पणी लेख्न नै दुई घण्टा’ समय लगाउने कर्मचारीलाई अतिरिक्त सुविधा दिएर काममा लगाएको अलि सुहाउँदो भएन कि ? सेवाग्राहीका सामु ॅकर्मचारीलाई समयमा काम फत्ते गर्न व्यस्तता बढेकाले अतिरिक्त सुविधा थपिएको’ भन्ने जवाफ दिदा कति सुहाउँला ?

‘कर्मचारीले काम भ्याएनन्’  भन्न कति सुहाउँछ ?

YUGAAWHAN NATIONAL DAILY (2080-02-04)

Leave a comment

Your email address will not be published. Required fields are marked *