मापदण्ड विना खनिएका कच्ची सडकहरूले गाउँ नै छियाछिया


मापदण्ड विना बर्सेनि खनिएका कच्ची सडकहरूले गाउँ–गाउँ छियाछिया बनाएको छ । सडक निर्माणलाई नियमनकारी निकायले चासो नदेखाउँदा र स्थानीय निकायले समेत जथाभाबी बजेट विनियोजन गरी सडक निर्माण गर्न एक्स्काभेटर चालकलाई जिम्मा दिदाँ भूक्षय हुने क्रम बढ्दो छ ।

गाउँहरू छियाछिया भएका छन् । पहिरो जाने क्रम बढ्न थालेको छ । तर यसको नियन्त्रण र नियमनका लागि अझै पनि सम्बन्धित निकायले चासो देखाएको पाइँदैन । यस्तै बनेको छ हुम्लाका गाउँहरू ? एक दशक अगाडिसम्म सुनसान रहेका गाउँ बस्तीमा अहिले गाडी गुड्छन् । नागरिकले चाहेजस्तो दैनिक नगुडे पनि बिहान बेलुका मानिस ओसार्न र कहिलेकाहीँ समान ओसारपसार गर्ने गरिरहन्छन् ।

गाउँमा पुगेका ती सडक कुनै पनि वैज्ञानिक छैनन् । वातावरणीय प्रभाव मुल्याङकन नगरी आ आफ्नो प्रचारका निम्ति आँखाको सोरले र डोजर चालक तथा सहचालकले नापेका भरमा अधिकांश सडक निर्माण भएका छन् । बिना इन्जिनियरिङ निर्माण भएका ती सडक हिउँदमा त चल्छन् तर बर्खामा पूर्ण रूपमा ठप्प हुन्छ । त्यतीवेला सडक ठप्पमात्र नभई बजारमा सामाग्रीको अभावले बजार भाउ गरिबको ढाड सेक्ने गरी वृद्धि हुन्छ ।

यस किसिमका सडक निमार्णले गाउँ, बस्ती मात्र नभई पर्यावरणको ख्यालै नगरी निर्माण भएका सडकले सयौँको घर बास उजाडी दिएको छ । हुम्ला लगायत दुर्गमका थुप्रै गाउँ बस्तीहरू पहिराको उच्च जोखिममा छन् । बर्खा लाग्न साथ उनीहरू घर छोडेर टाढा खर्क पातमा जानुपर्ने अवस्था छ ।

गाउँ गाउँमा बनाइएका ग्रामीण सडकले बस्ती त जोखिममा पा¥यो नै त्योसँगै मौलिक सम्पदासमेत नष्ट गरेको पाइन्छ । पहिले गाउँका हरेक डाँडा, पाखा र बाटो छेउमा चौतारा, धर्मशाला र देउराली हुन्थे । तर हिजो आज ती सम्पदा देख्न पाइन्छ की पाइँदैन ?

विकासका नाममा भएको ‘डोजरे विकास’ले महत्त्वपूर्ण इतिहास बोकेका सम्पदा नष्ट गरिदिएको छ । स्थानीयवासीले थकाइ मेटाउने चौतारा, बटुवाले बास बस्ने पाटी पौवा र धर्मशालाको अस्तित्व नै समाप्त भएको देखिन्छ ।

वि स २०६७-०६८ साल तिर सावकको कर्णाली अञ्चलको हुम्ला पुग्न कर्णाली चिसापानीबाट निरन्तर ७ दिन नागरिकले हिँड्नु पर्ने हुन्थ्यो त्यहाँ बाटोघाटोमा कलात्मक चौताराहरू थिए पाटी पौवाहरू थिए अहिले तिनीहरू सबै हटेर गएको देखिन्छ सडकले हप्ता दिन लगाएर पुग्ने गन्तव्य त छोटाई दियो र मौलिक सम्पदाको पहिचान भने मेटाइ दियो ।

त्यति मात्र होइन हुम्लाको सदरमुकाम सिमकोट जाँदा वा बाजुराको सदरमुकाम मार्तडी जाँदा पनि बाटोका दर्जनौँ स्थानमा बर पिपलका चौतारा, ढुङ्गेधारा र धर्मशाला भेटिन्थे सडक निर्माणका क्रममा ती सबै पुरिए छन् अहिले केही मात्रमा देखिए पनि पहिले जस्तो देखिँदैन ।

गाउँ गाउँबाट एकै दिनमा सदरमुकाम जान आउन नसकिने र अहिलेको जस्तो ठाउँ–ठाउँमा बास बस्ने होटेल हुँदा आफूहरू धर्मशालामा बास बस्ने गरेको हुम्ला अदानचुली १ का ६६ वर्षीय धनमल थापाको भनाइ छ । पहिले हप्ता दिन हिँडेर चिसापानी बजार जाने र त्यहाँबाट ठेटुवा लगायतका लत्ता कपडा ल्याउने जनाउँदै अहिले कच्ची सडक भएकाले एक दिन लाग्ने गरे पनि पछि पक्की सडक भए थोरै घण्टामै आउन सकिने भएको उनको भनाइ छ ।

गाउँमा कुनै पनि सरकारी काम नहुने हुँदा जिल्ला सदरमुकाममै जानु परेको स्मरण गर्दै अहिले सबै काम गाउँमा हुन थालेकोमा अत्यन्तै खुसी भएको उनको भनाइ छ । गाउँमा सडक आएपछि धेरै सहज भए पनि मौलिक सम्पदा संरक्षण गर्न तर्फ कसैको ध्यान नगएको उनको प्रति भने उहाँको गुनासो छ ।

मौलिक सम्पदा पहिचान भएको भन्दै पछिल्लो समय त्यो पहिचान संकटमा पर्दै गएको थापाको भनाइ छ । गाउँ गाउँमा सडक आए पनि नागरिकले चाहेको बेला चढ्न नपाउनाले सुविधा नभएको अर्का बयबद्ध प्रदीप महातराको भनाइ छ ।

उनले भने ‘गाउँमा सडक आयो धेरै राम्रो भयो, हामीहरूले धेरै दुःख पाएका थियौँ, यसरी विकास होला भन्ने कल्पना पनि गर्न सकेका थिएनौँ, तर हाम्रो सम्पदा यसरी मेटिएलान् भन्ने पनि थाहा थिएन, हाम्रा पालामा बर पिपल रोप्ने, चौतारी बनाउने, धर्मशाला, पाटी पौवा बनाउने चलन थियो, त्यो चलन अहिले छैन,’ उनले भने, ‘नयाँ पुस्ताले बनाउनुको सट्टा संरक्षण पनि गर्न सकेनन्, अहिले कहीँ कतै भेटिँदैनन्, उति बेला हामीहरूले बनाएका चौतारी, बास बस्ने धर्मशाला र पाटी पौवा, टाढा जानु पर्दा अहिलेको जस्तो गाडी हुँदैनथ्यो, हिँडेरै पुग्नुपर्थ्यो, बास बस्नका लागि होटेल हुँदैनथ्यो, त्यही पाटी पौवामा बस्नुपर्थ्यो, अहिले त होटेल बने, विकास भए पनि मौलिक सम्पदाको संरक्षण गर्नुपर्थ्यो ।’

अदानचुुली–१ का रुपचन्द्र थापाले भने बाटो बाटोमा बर पिपल रोपेर चौतारी बनाउँदा पुण्य कमाइने मान्यता राखेर बर पिपल लगाउने गर्दथे र आफूहरूले पनि त्यस्तै गर्दै आएको भए पनि अहिले त्यो चलन हराएको बताए । गाउँका हरेक पाका पुराना मान्छेले अहिले पनि त्यो चलनलाई निरन्तरता दिए पनि नयाँमा त्यो सोँच नै नभएको उनको भनाइ छ ।

बाटोघाटोमा पुराना कलात्मक र ऐतिहासिक ढुङ्गाहरू बनाउने प्रचलन थियो र राखिएका पनि थिए तर अहिले सडक काट्दा खेरी तिनीहरूलाई संरक्षण गर्नुको सट्टा फुटाएर अन्य काममा प्रयोग गरिएको पाइएको छ ।

उनी भन्छन्, ‘अहिलेका पुस्तालाई विकास चाहिएको छ, घर घरमा सडक चाहियो, धारा चाहियो, सबै थोक चाहियो, तर सार्वजनिक ठाउँमा भएको सबै विनाश गर्ने परिपाटी भयो, बर पिपल लगाउनु त राम्रो कुरा हो नि, पाटी पौवा पनि राम्रो हो, मान्छे स्वार्थी बने, धर्म कर्म मान्न छोडे, विकासका नाममा सबै विनाश गर्न थाले, हामीहरूले बटुवाका लागि पानी खान कुवा संरक्षण ग¥यौँ, ढुङ्गे धारो बनायौँ, अहिले त सबै भत्काई दिए ।’

आधुनिकतालाई अँगाल्नुका साथै मौलिक सम्पदाको प्रवर्द्धन र संरक्षण आवश्यक रहेको भए पनि अहिलेका नयाँ स्थानीय सरकारले त्यस्ता परम्परागत कुराहरूको मर्मतसंहार गर्ने ध्यान नदिएको हरेक गाउँ गाउँका स्थानीय नागरिकहरूको गुनासो छ ।

उनीहरूले आफ्नो नामको लागि भए पनि हरेक गाउँ गाउँमा प्राविधिक स्टमेटबिन नै सडक काट्ने तर त्यहाँ भएका प्राकृतिक,धार्मिक तथा ऐतिहासिक महत्वका सम्पदाहरूको संरक्षणमा ध्यान नदिने,गरिब पीडितहरूको जग्गा जमिनको ध्यान नदिने,यसले पछि पार्ने नकारात्मक प्रभावहरूको मूल्याङ्कन नगरी मनपरी तरीकाले सडक काटेपछि अहिले हरेक गाउँबस्तीहरु मरुभूमि बन्न थालेका छन् ।

स्थानीय सरकारले गाउँमा अन्य बिकास जताततै वातावरणीय प्रभाव मूल्याङ्कन बिनै डोजरहरूले खनिएका सडकहरूले पछिल्लो समय भुक्षयमा परिणत हुन थालेका छन् ।

अहिले जता हेर्दा पनि पहिरो र भूक्षय मात्र गएको देखिन्छ जताततै बाटी र पहिरोबाट यती मरे यती घाइते भए भन्ने खबर मात्र सुनिन्छ यसको मुख्य कारण हो अनियन्त्रित तरीकाले सडक निमार्ण गर्नु प्राबिधिक स्टमेटलाई भन्दा आँखाको सोरले आ आफ्नो नामको लागि तथा चुनावमा मत बटुल्नको लागि बनाइने सडकले विकास होइन बिनास बनाएको देखिन्छ ।

मापदण्ड विना खनिएका कच्ची सडकहरूले गाउँ नै छियाछिया

सडक बत्ती महशुल विषयलाई समाधानमा लैजाउँ !

मापदण्ड विना खनिएका कच्ची सडकहरूले गाउँ नै छियाछिया

गाईगोरु हराउँदै, किसान मलको खोजीमा

This will close in 0 seconds