बिसी ग्रुपद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग


बिसी ग्रुप फाउण्डेशनले एक सय १५ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेको छ । जाजरकोटको जुनीचाँदे गाउँपालिका–१ मा रहेको भगवती प्राथमि विद्यालयका बालबालिकालाई विद्यालयमा प्रयोग गर्न मिल्ने न्यानो पोशाकसहित शैक्षिक सामग्री सहयोग गरेको हो ।
विद्यालयमै एक कार्यक्रमको आयोजना गरी प्रारम्भिक बालविकास कक्षादेखि पाँच कक्षासम्मका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरिएको हो। उनीहरुलाई प्रतिव्यक्ति एक हजार सात सय रुपैयाँ दरका दुइ लाख रुपैयाँ बराबरको सामग्री वितरण गरिएको बिसी ग्रुप फाउण्डेशनका अध्यक्ष दीपक बुढाले बताए ।
भूकम्पका कारण प्रभावित क्षेत्रमा सहयोग गर्ने आफ्नो उद्देश्यअनुसार जाजरकोट पुगेर बालबालिकाहरुलाई शैक्षिक सामग्री सहयोग गरिएको अध्यक्ष बुढाले बताए ।
‘हामीले गरेको विभिन्न व्यवसायबाट कमाएको नाफाबाट निश्चित रकम छुट्याएर सामाजिक कार्य गर्ने हाम्रो उद्देश्य हो, यही उद्देश्यका साथ हामीले भूकम्पले प्रभाव पारेको क्षेत्रमा आएर योपटक सहायता गरेका छौं,’ बुढाले भने, ‘यो मेरो पुख्र्यौली ठाउँ पनि भएकोले यहाँ सहयोग गर्न पाउँदा खुशी छु, हामीले यसअघिका विभिन्न विपदका समयमा पनि सामाजिक कार्य गरेका छौं ।’
आफूले सञ्चालन गरेको व्यावसायिक सञ्जालबाट कमाएको नाफाबाट आगामी दिनमा पनि सामाजिक कार्य गर्न निश्चित कोष स्थापना गर्ने योजना बनाएको उनले बताए ।
व्यवसायबाट कमाएको नाफाको निश्चित रकमबाट बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्न पाएकोमा खुशी महसुश गरेको बिसी ग्रुप फाउण्डेशनका निर्देशक हिमा उपाध्यायले बताइन् । ‘म पढेको पनि यहाँको भन्दा कमजोर विद्यालय थियो, मेरो अवस्था पनि खासै राम्रो थिएन,’ उनले भनिन्, ‘अहिले यहाँको विद्यालयमा आएर सहयोग गर्न पाउँदा आफ्नो विगत सम्झिएको छु, व्यावसायिक क्षेत्रबाट कमाएको नाफाबाट सहयोग गर्न पाउँदा खुशी छु ।’
जुनीचाँदे गाउँपालिकाका उपाध्यक्ष वीरेन्द्रबहादुर शाहीले भविष्य बोकेका विद्यार्थीका लागि सोचेर सहयोग गरेकोमा बिसी ग्रुप फाउण्डेशनप्रति धन्यवाद व्यक्ति गरे । अ
हिले भूकम्पका बेला विभिन्न क्षेत्रबाट आएको राहत तथा सहयोगलाई आफूहरुले ठूलो अवसरका रुपमा ग्रहण गरिरहेको उपाध्यक्ष शाहीले बताए ।







