मुगुमा छिटो हाल्ने प्रचलन जिवितै

खड्क सुनार
जातीय भेदभाव गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था भएपनि कर्णालीको मुगुमा अहिले पनि दलित समुदाय माथि जातीय विभेद कायमै रहेको दलित समूदायका नागरिकहरुले दावि गरेका छन् ।
नेपाल छुवाछूत मुक्त घोषणा भएको १७ वर्ष पूरा हुदा पनि अहिले पनि मुगुमा जातिय बिभेद कायमै रहेको छ भने गैरदलितले छिटो हाल्ने प्रचलन छुटेको छैन । मुलुकमा विशेष गरेर मठ मन्दिरमा मुर्ति निर्माण गर्ने कामि, बिश्वकर्मा सुनार रहेका हुन्छन् । दलितले बनाएका सामग्री त्यहि मन्दिर भित्र छिर्न पाउदैनन् भने दलितनै बनाएका पञ्जे बाजा, सहनाई त्यहि मन्दिरमा गुञ्जिन्छन् ।
मुगुको छायाँनाथ रारा नगरपालिका–५ का हर्क बहादुर नेपाली उमेर ६० वर्ष बढि नाघिसके । २०४२ सालको पञ्चायती समयमा तत्कालिन कार्किवाडा प्राथमिक विद्यालयमा एउटा शिक्षक नियुक्तीका लागि भर्ना खुल्यो । शिक्षक नियुक्तीका दरखास्त दिएका नेपालीले दलित भएकै कारण उनी सफल भएनन् । गैर दलितले उनी शिक्षकमा नियुक्ति भए पछि हलो लगाउने, भारी बोक्ने मान्छे कोही पनि हुदैन भन्ने गैर दलितको अभिव्यक्तिले उनी बनेनन् ।
नेपालीले पञ्चायति समयमा जति कस्ट भोग्नु भयो अहिले पनि उत्तिकै कस्ट खेपि रहनु भएको छ । बर्तमान समयमा पनि मुगुको कार्की बाडा लगायत दर्जनौ बस्तिहरुमा जातिय छ्वाछुत कायमै छ । दलितले छोमा गैर दलितले छिटो हाल्ने परम्परा जिवितै रहेको उनले बताए ।
उनी मात्र होईनन मुगुका दलित समुदायका नागरिकहरुले जातिय छुवाछुत बाट थिचो मिचो सहनु परेको छ । प्रत्यक्ष, अप्रत्यक्ष रुपमा कर्णाली सहित मुगुका दलित नागरिकहरुले दैनिक जसो विभेदका घटनाहरु खेपिरहेका छन् ।
कानुनको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन् । गाउँ, घर टोल छिमेकमा दलितले छोएको खानेकुरा गैरदलितले नखाने, यदि छुई हालेमा नुहाएर घर भित्र पस्ने, पानी पधेंरामा एक गाग्री पानी लिन घण्टौ समय सम्म कुर्नु पर्ने, छिटो हाल्ने, गरेको दलित नागरिकहबालिकन्या नेपालीले सुनाईन् ।
जिल्लामा रहेका प्रमुख धार्मिक स्थल, शक्ति पिठहरुमा गैर दलितहरुले ईच्छार्थ सम्म पुजा स्थल भित्रै पुजा पाठ गर्न पाउन्छन् । तर दलित भएकै कारण मुगुका दलित महिलाहरुले मन्दिरको मुर्ति ढोग्न त के गतिल्लो सँग पुजापाठ गर्न पाउदैनन् । यति मात्र होईन आर्थिक अवस्था कमजोर भएका दलितहरु मन्दिरमा विवाह ब्रत बन्ध लगायत शुभ कार्य गर्नलाई पनि उनीहरुलाई बारको बन्देज जस्तै भएको छायाँनाथ रारा नगरपालिका वडा नं ५ का स्थानीय शारदा नेपालीले भनिन् ।
कर्णालीमा जातिय विभेदका घटना प्रहरीमा नआउनुमा विभिन्न प्रलोभन, डर धम्कि, र न्यायमा पहुँच नहुनु नै प्रमुख कारण रहेको दलित अधिकारकर्मीले बताउने गरेका छन् । यहि कारणले गर्दा हाल सम्म जिल्ला प्रहरी कार्यालय मुगुमा जातिय छुवाछुतका घटनाहरु दर्तामा शुन्य छन् । जातिय छुवाछुतका घटनाहरू दैनिक बढिरहँदा पनि राज्य मौन भएको छ ।
गाउँघरमा अहिले पनि छुवाछुत कायमै रहेको छायाँनाथ रारा नगरपालिका–५ का वडा अध्यक्ष राजेन्द्र कामिले बताए ।
कर्णालीका विभिन्न जिल्लाहरुमा छुवाछुत मुक्त घोषणा गरे पनि व्यवहारमा लागु नभए पछि घोषणामा मात्र सिमित छ । जातिय छुवाछुत तथा विभेदका मुद्धाहरु मिलाउन नेता कार्यकर्ताले राजनितिक संरक्षण गरेर कानुनी दाउरामा ल्याउन नचाएका कारण पनि विभेदका घटनाहरु बाहिर आउन नसकको दलित अधिकारकर्मीहरुको भनाई छ ।






