कर्मचारी टिकाउन नसक्ने गुठिचौर गाउँपालिका !

गुठिचौर गाउँपालिका, जुम्लाका अध्यक्ष आफै डोजर लिएर गाउँमा पुगे । दशैंको समयमा सडक आगमनमा अवरोध भएको भन्दै पालिका अध्यक्ष दानबहादुर बुढा आफै डोजर चढेर गाउँ–गाउँमा पुगेको बताइएको छ । तर कर्णालीको राजधानीबाट हेर्दा भने उनी गाउँमा नै पुगेकै छन् भन्ने प्रशस्त प्रमाणहरु आईसकेका भने छैनन् । वर्षात्को कारणले अवरुद्द भएका सडक सुचारु गराउन पालिका अध्यक्ष गाउँमा पुगेको बताइएपनि यस विषयमा अर्को प्रश्न समेत उठेको छ । वर्षात्को समयमा अवरुद्द सडक खुलाउन अहिले नै किन ? यसअघि मनोमानी रुपमा विना प्राविधिक ज्ञान खोलिएका ग्रामिण भेगका ट्रर्याक अनुसारको महिनामानै भत्किसकेका थिए । तर पालिका अध्यक्ष आफै अहिले डोजर चढेर जानुपर्ने वाध्यतामा किन परे ? यसका लागि स्थानीय स्तरमा नै साना ठेक्का आह्वान गरेर पनि बाटोलाई सहज सवारी सुचारुका लागि निर्माण गर्न सकिन्थ्यो । पालिका अध्यक्ष आफै डोजरमा जानु भनेको पहिलो उनले अरुलाई विश्वास गर्दैनन् भन्ने हो । दोस्रो, उनले सस्तो लोकप्रियताका लागि यसो गरेका हुन् भन्ने पनि छ ।
यता, पालिकाका कार्यकारी अधिकृत छुट्टी मनाउन घर फर्किए । तर यस घटनालाई अहिले गुठिचौर गाउँपालिकाले ‘दशैंको मुखमा कर्मचारी भागेर गएको’ संकेत दिएको छ । नियमसम्मत् आफुकहाँ भुक्तानीका लागि आएका फाइलहरु सबैको भुक्तानी प्रक्रिया सकेर नै आफु घर आएको ति कर्मचारीले बताइरहेका छन् । तर गुठिचौर गाउँपालिकाका जनप्रतिनिधि भने उनलाई भागेर गएको संज्ञा दिन्छन् । कतिसम्म पनि भएछ भने, वडाअध्यक्षहरु जुम्लाको विमानस्थलमै पुगेर उनको झोला समेत खोस्न थालेछन् । विमानस्थलबाट वर्हिगमनको पास लगिसकेको यात्रुको झोला खोस्न पुग्ने वडा अध्यक्षहरुको समेत नैतिकतामा प्रश्न गर्न सकिने प्रशस्तै स्थानहरु छन् । यो भन्दैमा कर्मचारी नै असल भन्न पनि खोजिएको होइन । विभिन्न सञ्चार माध्ययमलाई उनले दिएको जानकारीका अनुसार कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक तलब, दशैं पेश्की तथा जनप्रतिनिधिको सेवा सुविधा सबै भुक्तानी गरेर आफु फर्किएको बताएका थिए । तर आफ्नो सेवा सुविधा समेत पाईसकेका वडाअध्यक्षहरु केहि फाइलको भुक्तानी नभएको भन्दै विमानस्थलमै झोला खोस्न पुग्दा उनीहरुको आशयलाई समेत शंकाका दृष्टिकोणमा हेर्न सकिन्छ ।
स्थानीय तहमा नव निर्वाचित जनप्रतिनिधि आएपछिको डेढ वर्षमा पाँच जना प्रमुख प्रशासकीय अधिकृत फेरेको गुठिचौर गाउँपालिकाको सुशासनमा यस घटनाले प्रश्न गरेको छ । पहिलो विषय, भुक्तानीका लागि वडाअध्यक्षहरुको चासो धेरै किन ? अर्को, घरमा ६ महिनाको गर्भवति श्रीमति छन् भनेका प्रमुख प्रशासकीय अधिकृतलाई किन विदा नदिइएको ? अहिलेको समयमा एकातिर स्थानीय निकायमा कार्यरत कर्मचारीहरु ‘पेन डाउन’ सहितको आन्दोलनमा थिए । यता दशैं अघि ६ दिन मात्र कार्यालय खुल्ने समय हुँदासम्म भुक्तानी सबै हुनुपर्छ भन्ने पनि छैन । कार्यालयमा हतार हतारको समयमा भुक्तानी प्रक्रिया अघि बढाउने क्रियाकलापले सुशासनलाई प्रोत्साहन गर्दैन । अर्कोतर्फ हेर्दा घरमा गर्भवति श्रीमति भएका कर्मचारी ६ दिनको विदामा घर फर्कदै थिए । पालिकाका जनप्रतिनिधिसँग, खासगरी अध्यक्ष–उपाध्यक्षसँग उनले सहकार्य तथा समन्वय गर्ने प्रयास गरेपनि होलान् । अर्कोतर्फ जुम्ला विमानस्थलमा भनेको समयमा हवाई टिकट नै पाईन्छ भन्ने पनि कुनै ठेगान छैन । त्यसकारण पनि कर्णालीका उपल्लो भेगमा सेवा गरिरहेका कर्मचारीहरुलाई समयमा नै घर फर्कनुपर्ने वाध्यता आईलाग्छ । यता शुक्रवार नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई प्रमुख प्रशासकीय अधिकृत ‘भागेको’ भन्दै पत्राचार गरेको गुठिचौर गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो दम्भ प्रस्तुत गरेका छन् । यसका साथै पालिकाका जनप्रतिनिधिले यस घटनामा आफ्नो जवाफदेहिता पक्षलाई समेत ढाकछोप गर्दै गुमाएका पनि छन् । यस घटनाको विषयमा यथार्थता वाहिर आउन जरुरी छ । दुवै पक्षलाई आफ्नो भनाई राख्ने मौका पाउनुपर्छ ।






