रुकुमपश्चिममा फिजियोथेरापी सेवा सुरु

रुकुम पश्चिम । रुकुमपश्चिमको जिल्ला अस्पताल सल्लेबाट फिजियोथेरापी सेवा दिन थालेपछि थेरापी गराउनुपर्ने बिरामीलाई राहत भएको छ । जिल्लामै पहिलो पटक फिजियोथेरापी सेवा दिन थालिएपछि हाडजोर्नी तथा नसाको समस्या भएका बिरामीलाई फाइदा भएको छ ।
मुसीकोट नगरपालिका-१, मठका अमृता विकले जिल्लामै फिजियोथेरापी सेवा पाउँदा आफूलाई सहज भएको बताइन् । ढाड र कम्मरको उपचारका लागि महिनामा दुई पटक दाङ वा नेपालगञ्ज जानैपर्ने बाध्यता हटेको उनको भनाइ छ ।

त्रिवेणी गाउँपालिका-४ का दीपेन्द्र खड्काले हाडजोर्नी सुन्निने समस्याको उपचार जिल्ला अस्पतालमै गरिरहेको बताए । घुँडा र जोर्नी दुःखाइको उपचारका लागि यसअघि जिल्लाबाहिर गएर उपचार गराइरहेका खड्काले चैत महिनादेखि जिल्ला अस्पतालमा नियमित सेवा लिइरहेका छन् । स्वास्थ्य सेवा कार्यालयले जिल्ला अस्पतालमा चैत महिनादेखि फिजियोथेरापी सेवा सञ्चालनमा ल्याएको हो । फिजियोथेरापिस्ट डा. अस्मिता श्रेष्ठले जिल्लामै पहिलो पटक सुरु भएको फिजियोथेरापी सेवा लिने बिरामीको सङ्ख्या बढिरहेको बताइन् । उनका अनुसार दुई महिनामा पाँच सय ५० बिरामीले फिजियोथेरापी अर्थात् भौतिक चिकित्सा सेवा लिएका छन् ।
फिजियोथेरापी सेवा सञ्चालनमा आएपछि हाडजोर्नीको उपचारसँगै नसासम्बन्धी समस्या भएका बिरामीले पनि सेवा लिइरहेका छन् । डा. श्रेष्ठका अनुसार अहिले अस्पतालमा हाडजोर्नी सुन्निने, ढाड र घाँटीको दुखाइ, हड्डी भाँचिएका, नसाको समस्या भएका बिरामी दैनिक २० देखि २५ जनासम्म आउने गरेका छन् । नसा चुँडिएको, खुम्चिएको, च्यापिएको र मासु च्यातिएका बिरामीलेसमेत फिजियोथेरापी सेवा लिन आउने गरेका छन् । हड्डी भाँचिएका, कम्मर तथा ढाडको दुःखाइ भएका र हाडजोर्नी सुन्निने समस्या भएका ज्येष्ठ नागरिकले सेवा लिइरहेका छन् ।
स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. सुशील पोखरेलका अनुसार जिल्ला अस्पतालमा विषेश प्राथमिकतासाथ फिजियोथेरापी सेवा सञ्चालनमा ल्याइएको छ । अस्पतालमा हाडजोर्नी तथा नसा रोगको उपचार सेवा सुरु भएसँगै फिजियोथेरापी सेवा अत्यावश्यक रहेकाले सो सेवा सुरु गरिएको हो । दैनिक करिब ३० जना बिरामीलाई अर्थोपेडिक सेवा दिए पनि फिजियोथेरापी सेवाका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता रहेकाले सो सेवा सुरु गरिएको हो । (गोरखापत्र)






