उपकुलपतिका श्रीमती र छोरी समेत शैक्षिक भ्रमणमा

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयू)का उपकुलपति प्राध्यापक डा. नन्दबहादुर सिंह १८ जनाको जम्बो टोली सहित शैक्षिक भ्रमणमा निस्किएका छन् । चार वटा आंगिक क्याम्पसहरुमा स्थलगत भ्रमण उद्देश्यले सोमवार निस्किएको टोलीमा उपकुलपतिका श्रीमती र छोरी समेत समावेश छन् । विश्वविद्यालयका पदाधिकारी, कर्मचारी सहितको टोली आंगिक क्याम्पसको शैक्षिक तथा प्रशासनिक अवलोकनका लागि निस्किएको हो ।

विहिवार वीरेन्द्रनगर फर्किने योजना सहित भ्रमण टोलीमा एमयूका रजिष्ट्रार, तीन जना डीन, दुई जना कार्यक्रम निर्देशक, प्राचार्य, उपकुलपतिका सचिवालय कर्मचारी समेत छन् । भ्रमण टोलीमा उपकुलपतिका श्रीमती मालती सिंह शाही र उनकी छोरी मारियाआईको सिंह समेत समावेश भएपछि अहिले एमयूको यो भ्रमण टोलीको आलोचना सुरु भएको छ ।

विश्वविद्यालयकै चार वटा गाडिमा १८ जना शैक्षिक भ्रमणमा निस्किएका छन् । भ्रमणमा उपकुलपतिका श्रीमती, छोरीको भ्रमण व्यक्तिगत भ्रमण रहेको भ्रमण टोलीको भनाई छ । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एमयूलाई १५ दिनभित्र यहाँका गतिविधिहरुका विषयमा प्रतिवेदन पेश गर्न निर्देशन दिएको थियो । गत बैशाख २८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पत्र अनुसार एमयूले जेठ ११ सम्म विविध पाँच वटा विषय समावेश भएको प्रतिवेदन पेश गर्नुपर्ने छ ।

विश्वविद्यालयले नीजि क्याम्पसहरुलाई समेत सम्बन्धन दिने लगायतका विषयमा आलोचित बनेका उपकुलपति डा. सिंहले प्रधानमन्त्रीको कार्यालयलाई जवाफ दिनुपर्ने हुन्छ । प्रधानमन्त्रीको कार्यालयले माग गरेको प्रतिवेदनमा ‘आंगिक क्याम्पसहरुको वर्तमान अवस्था’ नै मुख्य प्राथमिकतामा छ । क्याम्पसहरुको अवस्था अध्ययन जनाउँदै उपकुलपति जम्बो टोली सहित चार दिने भ्रमणमा निस्किएका हुन् । आंगिक क्याम्पसहरुको अवस्था अध्ययन गर्न निस्किएको टोलीमा आफ्नी श्रीमती र छोरीलाई समेत सँगै लिएर जाँदा उनलाई यतिखेर विश्वविद्यालयप्रति संवेदनशिल नभएको आरोप छ ।

सम्बन्धित समाचार

https://www.yugnews.com/2023/05/68456

‘छोरी र श्रीमतीलाई क्याम्पसको स्थलगत अध्ययन गराउँन लगिएको होला । आंगिक क्याम्पसको अध्ययन टोली भन्दा यो त वनभोज खान गएको टोली जस्तो बनेको छ’, एमयू स्रोतको आरोप छ । स्थलगत अध्ययन टोलीले चार वटा आंगिक क्याम्पसमा पुग्ने कार्यक्रम बनाएको छ । सोमवार विहान वीरेन्द्रनगरबाट हिडेको टोलीले पहिलो दिन भेरी बहुमुखी क्याम्पस, गुमीमा अवलोकन गर्नेछ ।

दोस्रो दिन, जाजरकोटको भेरी ज्ञानोदय बहुमुखी क्याम्पस र रुकुम पश्चिमको मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पुग्ने कार्यक्रम रहेको एमयू स्रोतले जानकारी दिएको छ । तेस्रो दिन, रोल्पा स्थित जलजला बहुमुखी क्याम्पस क्याम्पसबाट अध्ययन टोली वीरेन्द्रनगर फर्किने कार्यक्रम छ ।

को-को छन् शैक्षिक भ्रमणमा

एमयूको शैक्षिक अवलोकन भ्रमण टोलीमा उपकुलपतिका श्रीमती मालती सिंह शाही, छोरी मारियाआईको सिंह स्वकीय सचिव रहेका भतिज डिल्लीबहादुर सिंह समावेश छन् । टोलीमा अन्य पदाधिकारी भने एमयूका आधिकारिक पदाधिकारीहरु रहेको एमयूको स्रोत बाट प्राप्त विवरणमा उल्लेख छ  । उपकुलपति प्रा.डा. सिंह नेतृत्वको टोलीमा रजिष्ट्रार प्रा.डा. नारायणप्रसाद पौडेल समावेश छन् । त्यसैगरी डीनहरु प्रा.डा. विमलकुमारलाल कर्ण, सह-प्रा.डा. लिलाधर तिवारी, सह-प्रा.डा. सुदिप ठकुरी छन् । कार्यक्रम निर्देशकद्वय प्रा.डा. चन्द्रप्रसाद रिजाल र सह-प्रा. विरबहादुर पौडेल र प्राचार्य जसविर रोका समेत भ्रमण टोलीमा छन् ।

यसैगरी पदाधिकारीका सचिवालय कर्मचारीहरु समेत भ्रमण टोलीमा समावेश छन् । उपकुलपतिका आईटी विज्ञ पंञ्चदेव भट्ट, स्वकीय सचिव सिंह र रजिष्ट्रारका स्वकीय सचिव जगत ढकाल टोलीमा समावेश छन् । प्रशासकीय अधिकृत सरस्वती पन्त र सवारी चालकहरु विरबहादुर खड्का, रमेश चन्द, मोहन मल्ल र तिर्थ रेग्मी सहित भ्रमण टोलीमा कुल १८ जनाको सहभागिता रहेको एमयूको भ्रमण विवरणमा उल्लेख छ । विश्वविद्यालयका पदाधिकारीले दैनिक दुई हजार पाँच सय रुपैयाँसम्म भ्रमण खर्च पाउँछन् ।

नेपाल सरकारको भ्रमण खर्च नियमावली, २०६४ का अनुसार विशिष्ट तहका पदाधिकारीलाई दैनिक दुई हजार पाँच सय रुपैयाँसम्म भ्रमण खर्च उपलब्ध गराउन सकिने व्यवस्था छ । यसैगरी प्रथम तहका पदाधिकारीलाई दुई हजार रुपैयाँ र चौथो तहका कर्मचारीलाई एक हजार रुपैयाँ सम्म दैनिक भ्रमण खर्च उपलब्ध हुन्छ । नियमावलीमा भएको व्यवस्था अनुसार जाजरकोट र रोल्पा जिल्लामा भ्रमण जाँदा भ्रमण खर्चको थप २० प्रतिशत सम्म रकम पाउँने व्यवस्था छ ।

उपकुलपतिलाई नैतिकताको प्रश्न

कर्मचारी सुशासनका क्षेत्रमा कुनैपनि कर्मचारीले कार्यालयको काममा भ्रमण जाँदा आफ्ना परिवारका सदस्यलाई सँगै लैजान पाउँदैन । लगेको खण्डमा यस विषयलाई आर्थिक दुरुपयोगका रुपमा लिइन्छ । तर कर्मचारीको अर्को कार्यालयमा सरुवा भएको खण्डमा भने उसले सरकारले उपलब्ध गराउने भ्रमण भत्तामा परिवारका सदस्यलाई समेत सँगै लैजाने छुट हुन्छ ।

विश्वविद्यालयका उपकुलपति विशिष्ट श्रेणी तह वरावरमा हुन्छन् । विश्वविद्यालयका उपकुलपतिको छुट्टै श्रेणी विभाजन नभएपनि नेपाल विविध सेवा नियमहरु, २०५० का अनुसार नेपाल सरकारले तोकेको पदहरुलाई विशिष्ट श्रेणी पदका रुपमा व्याख्या छ ।

‘विश्वविद्यालयलाई प्रधानमन्त्रीको कार्यालयले प्रतिवेदन पेश गर्न भनेको जस्तो जोखिम समयमा शैक्षिक अवलोकलन गर्न जाँदा परिवारका सदस्य सहितको जम्बो टीम लैजानुलाई हामीले सकारात्मक रुपमा लिएका छैनौं’, विश्वविद्यालयमा अध्यापन गरिरहेका एक प्राध्यापकले भने, ‘हामीले भनेर पनि हुँदैन । विश्वविद्यालयमा उहाँ विशिष्ट व्यक्ति हो । तर उहाँलेनै श्रीमती र छोरीलाई भ्रमणमा समावेश गरेको देख्दा अरु पदाधिकारीको गतिविधिमा समेत शंका गर्न सकिन्छ ।’

विशिष्ट व्यक्तिले नै आलोचित गतिविधि प्रदर्शन गर्दा विश्वविद्यालयमा अन्य गतिविधिहरुको समेत अवस्था चित्रण भएको उनको भनाई छ ।

उपकुलपतिका श्रीमती र छोरी समेत शैक्षिक भ्रमणमा

YUGAAWHAN NATIONAL DAILY (2080-02-02)

उपकुलपतिका श्रीमती र छोरी समेत शैक्षिक भ्रमणमा

पशु क्वारेन्टाइन कहिले बनाउँने ?

Leave a comment

Your email address will not be published. Required fields are marked *