नियन्त्रण वाहिर ‘लम्पी स्किन’ रोग

कालिकोट । पशुचौपायामा लाग्ने ‘लम्पी स्किन’ रोग कालीकोटका गाउँहरूमा फैलिन सुरु भएको छ । जिल्लाको रास्कोट नगरपालिका, खाँडाचक्र नगरपालिका र सान्नित्रिवेणी गाउँपालिकाका पुशमा लम्पी स्किन रोग फैलिएको छ । हावाको माध्यम र विरामी पुशहरुको लसपसबाट माहामारीका रुपमै फैलिएको यो रोगबाट जिल्लामा छोटो समयमै १० देखि १५ वटा गाई गोरु मरिसकेका छन् । पशु अस्पताल तथा पशु सेवा कार्यालय कालीकोटका सूचना अधिकारी अक्कलवहादुर सेजुवालले जिल्लाका नौं पालिकामध्ये तीनवटा पालिकामा यो रोग फैलिएको बताए ।

उनका अनुसार लम्पी स्किन रोग सर्ने भएकाले धेरै ठाउँमा फैलिए पनि किसानलाई जानकारी नहुँदा वास्तविक विवरण आफूहरूसँग प्राप्त नभएको बताए । उनले भने, ‘रोगको उपचार गरिए पनि गाईवस्तु बचाउन मुस्किल भइरहेको छ ।’ नेपालमा दुई वर्षअघि देखिएको यो रोग लम्पी स्किन भाइरसका कारण लामखुट्टे, झिंगा र किर्नाको टोकाइबाट सजिलै रोगी पशुबाट निरोगी पशुमा सर्ने पशु अस्पताल तथा पशुसेवा कार्यालय कालीकोटले जनाएको छ ।

पशु अस्पताल तथा पशुसेवा कार्यालय कालीकोटका अनुसार अहिले आफुहरुसँग यो रोगको भ्याक्सिन उपलब्ध छैन । जनशक्ति कम हँदा उपचारका लागि प्राविधिक टोली पनि खटिएका छैनन् । प्रदेश र संघीय सरकारसँग यो रोग नियन्त्रणका लागि पहल भइरहेको छ । रोगले गाईगोरुका साप्रा सुन्निएर ठूलो हुने, घाउ पाक्ने र किरा परेपछि थप समस्या हुनेगरेको छ ।

रोगले छोइसकेपछि गाईगोरुले राम्रोसँग घाँस समेत खान सक्दैनन् । रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रका गाई-भैँसी खरिद-बिक्री तथा ओसारपसार नगर्न, रोगी पशुलाई अलग राखी उपचारमा लाग्न, पशुलाई बाहिर चराउन नलैजान पशुसेवा कार्यालय कालीकोटले आग्रह गरेको छ ।

पशुसेवा शाखा कार्यालय रास्कोट नगरपालिका शाखा प्रमुख कुलप्रसाद न्यौपानेले यो रोग लागेका पशुहरुमा निको हुने सम्भावना कम भएको बताउनुभयो । उहाँका अनुसार रोग लागेपछि गाईवस्तुका घाँटी, पुच्छरलगायत शरीरका विभिन्न भागमा साना-ठूला गिर्खाहरू देखापर्ने, मुखबाट फिंज धेरै निकाल्ने, उच्च ज्वरो, कचेरा र सिंगान बग्नेजस्ता लक्षण देखापर्ने गर्छ । जनशक्ति कम भएका कारणले प्रभावित स्थानमा पुगेर रोग नियन्त्रणमा सहयोग गर्न नसकेको उनले बताए ।

नियन्त्रण वाहिर ‘लम्पी स्किन’ रोग

YUGAAWHAN NATIONAL DAILY (2080-02-01)

Leave a comment

Your email address will not be published. Required fields are marked *