यातायात मजदुरहरूले गरेको आन्दोलन स्थगित

काठमाडौं, २ फागुन ।

यातायात मजदुरहरू र सरकारबीच भएको वार्तामा आन्दोलन स्थगित गर्ने सहमति भएको छ। आज सिंहदरबारमा भएको वार्तामा आज उपत्यकामा गरिएको यातायात हड्ताल स्थगित गर्ने सहमति भएको हो।

यातायात व्यवसायी तथा मजदुरहरूले शान्तिपूर्ण आन्दोलनका अन्य कार्यक्रम भने जारी नै राख्ने बताएका छन्। वार्तामा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात क्षेत्रका समस्या कार्यदल बनाएर समाधान गरिने प्रतिबद्धता जनाएका थिए।

’सबैको समस्या एक ठाउँमा राखेर सम्बोधन गर्न हामीले कार्यदल बनाइसकेका छौं। तत्काल तपाईंहरूले उठाएका जरिवाना तथा लाइसेन्स सस्पेन्सका विषयमा सम्बोधन गर्दै जान्छौं,’ मन्त्री श्रेष्ठले भने।

उनले हड्ताल तत्काल फिर्ता लिइदिन आग्रह गरेका थिए। ’समस्या समाधान गर्न सरकारले कार्यक्रम बनाइसक्यो। नेतृत्व जतिखेरै छलफल गर्न तयार छ। तपाईंहरूले अहिले नै हड्ताल फिर्ता लिइदिनुस्,’ मन्त्री श्रेष्ठले आग्रह गरे। छलफलमा यातायात मजदुरहरुले उपत्यका ट्राफिक प्रहरीको व्यवहारका कारण आफूहरू आन्दोलनमा उत्रिनु परेको बताए।

आफूहरुले यातायात क्षेत्र सुधारका लागि सरकारलाई पटक–पटक राखे पनि नसुनिएका कारण यातायात ठप्प पार्नु परेको उनीहरूको तर्क थियो। नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले सरकारले यातायात क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएकोले हड्ताल स्थगित गर्ने निर्णय भएको बताए।

यातायात मजदुरहरूको आन्दोलनका कारण आज बिहानैदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी साधन चलेका थिएनन्। यात्रुले दुःख पाएका थिए। सोमबार यातायात मजदुरहरूले प्रहरीका दुई भ्यानमा आगजनीसमेत गरेका थिए। यी घटनामा संलग्नमाथि भने कारबाही गरिने मन्त्री श्रेष्ठले बताएका छन्।

 

यातायात मजदुरहरूले गरेको आन्दोलन स्थगित

नेपाललाई २८६ रनको लक्ष्य, करण केसीले लिए

यातायात मजदुरहरूले गरेको आन्दोलन स्थगित

जथाभावि संकलनले दिगो संरक्षणमा चुनौति

Leave a comment

Your email address will not be published. Required fields are marked *