चिकित्सकको सल्लाहविनै औषधी सेवन

अस्पतालमा चिकित्सकलाई जँचाउनु भन्दा सिधैं फार्मेसीबाट औषधी किनेर खाने प्रचलन जुम्लामा बढ्दो छ । निजी मेडिकल तथा फार्मेसीमा पुगेका बिरामीलाई चिकित्सकको सल्लाहविनै औषधी दिने गरिएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालका निर्देशक डा. पुजन रोकाया भन्छन्, ‘बिरामी पहिला अस्पताल आएर चेकजाँच गरी औषधी चलाउनुपर्ने हो । तर, त्यसो गरिदैन् । बिरामी वा बिरामीको आफन्त मेडिकल वा फार्मेसीमा पुगेर सिधैं औषधी लिने गछृन् ।’
फार्मेसी र मेडिकलहरुको नियमन हुन नसक्दा कर्णालीमा यो समस्या टड्कारो रुपमा देखिन थालेको छ । कर्णालीका प्राय सबै क्षेत्रमा निजी स्तरबाट सञ्चालित मेडिकलहरु छन् । डा. रोकायाका अनुसार कर्णालीका नागरिकहरु मेडिकल र फार्मेसीहरुमै बिरामीहरु पुगेर डाक्टरको सल्लाहविनै कडा खालका औषधीहरु प्रयोग गरिरहेका छन् ।
चिकित्सकको अनुमतिविना फार्मेसी तथा मेडिकलहरुले पनि औषधी बिक्री वितरण गर्न नपाइने व्यवस्था छ । तर, त्यसको कार्यन्वयन पक्ष फितलो छ ।
यता लागुऔषधको विकल्पको रुपमा प्रयोग भइरहेका औषधीहरु पनि खुलेआमा बिक्री वितरण हुन थालेपछि जिल्ला प्रशासन कार्यालय, जुम्लाले नियन्त्रण गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
असुरक्षित रुपमा गर्भपतनका औषधी पनि बिक्री वितरण भइरहेका छन् । फार्मेसी र मेडिकलबाट बिक्री वितरण हुने यस्ता औषधीमा प्रशासनले कडाइ गर्ने निर्णय गरेको छ । यी औषधीको खरिद बिक्रीको अभिलेख औषधी व्यवस्था विभागको मापदण्डअनुसार मेडिकल व्यवसायीले राख्नुपर्ने र प्रत्येक महिनाको अन्तिममा अभिलेख पेश गर्नुपर्ने निर्णय भएको प्रजिअ घिमिरेले बताए ।






