ओखर बिक्रि गरेरै आम्दानी


पातारासी गाउँपालिका–६, उर्थु गाउँकी लक्ष्मी विष्ट हरेक दिन सदरमुकाम खलंगाको बालमन्दिर नजिकै भेटिन्छन् । प्रतिगोटा १० रुपैयाँमा दाँते ओखर बिक्रि गर्दै आएकी उनले एक महिनाको अवधिमै एक लाख रुपैयाँ कमाइसकेकी छन् ।
हाल उनको बारीमा ५० देखि ६० वटा ओखरका बोट छन् । बोटमा फलेका अझै ७०÷८० हजार जति ओखर बिक्री गर्न अझै बाँकी छ ।

उनले भनिन्, ‘अर्को वर्ष अझै राम्रो गर्ने हो । अव बोटको गोडमेलमा ध्यान दिने हो ।’ उनले ओखर बिक्रिबाटै छोराछोरीको अध्ययन खर्च देखि दैनिक घरखर्च जुटाउछिन् । विष्टका अनुसार हाल ओखर नौं सय रुपैयाँ प्रतिकिलोसम्ममा बिक्री गरिएको छ ।

विष्ट मात्र होइन यतिखेर यहाँका दर्जनौँ व्यापारीहरू ओखर बिक्रि गर्न सक्रिय छन् । यो सिजनमा एउटै किसानले दाँते ओखर बेचेर लाखौँसम्म किसानहरुले आम्दानी गर्छन् ।

विष्ट झै चन्दननाथ नगरपालिका–१०, सिलाम गाउँकी कालिका शाही पनि दाँते ओखर बेच्न हरेक दिन सदरमुकाम आईपुगिछन् । उनले एक महिना अघि घरबाटै ५० हजार रुपैयाँको ओखर बिक्रि गरेको बताइन् ।
मंगलबार मात्रै उनले पाँच हजार रुपैयाँको ओखर बिक्रि गरिन् । शाहीको बारीमा आठ वटा दाँते ओखरका बोट फल्छन् । अझै १०÷१५ हजार बराबरको ओखर बिक्री गर्न बाँकी छ ।

विष्ट र शाही प्रतिनिधि पात्र मात्रै हुन् । जुम्लाका धेरै किसान गाउँ–गाउँबाट ओखर बेच्न जुम्ला बजारमा पुग्छन् । बिक्रि गर्न ल्याएको ओखर नबिकेर फिर्ता लैजानुपरेको छैन् । आन्तरिक र बाह्य पर्यटकको रोजाइ नै ओखर छ ।

चन्दननाथ नगरपालिका–४, भारतीवाडामा अवस्थित राराअर्गानिक पसलका संचालक अर्जुन बुढाले दशैं यता मात्र तीन लाख रुपैयाँको दाँते ओखर बिक्री गरिसकेका छन् । जिल्ला बाहिर जानेहरूले नासोका रूपमा ओखर लैजाने चलन छ । सुर्खेत, नेपालगन्ज, बुटवल, पोखरा, चितवन र काठमाडौंका बजारहरूमा ओखर पठाइरहेको उनले बताए ।

ओखरका विरुवा शुरुको चरणमा हुुर्काउन पनि गाह्रो हुन्छ । पछि हुर्केपछि ओखर खेतीमा धेरै मेहनेत नलाग्ने जुम्लाका किसान बताउँछन् । कम मेहनतमै बढी आयआर्जन हुने खेती ओखर भएको किसानको अनुभव छ ।

जुम्लाका ८ वटै स्थानीय तहमा यसको खेती हुँदै आएको छ । एउटै बोटमा पाँच हजार रूपैयाँसम्मको ओखर फल्ने गरेको उनीहरुको भनाइ छ । पछिल्लो समयमा जुम्लाका किसान बाँझो जमिनको उपयोग गर्दै ओखर खेतीमा आकर्षित भएका छन् । कसैले ओखरको बिरुवा बेच्छन् त केहीले ओखरको दाना बेचेर राम्रो आम्दानी गर्न थालेका छन् । ओखरका लागि जुम्लामा हावापानी निकै अनुकूल छ ।

जिल्ला कृषि विकास कार्यालय, जुम्लाका प्रमुख बालकराम देवकोटाले ओखर खेती जुम्लाको आर्थिक उपार्जनको माध्यम बन्दै गएको बताए । कार्यालयले ओखर खेती विस्तारमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको उनले बताए । किसानले पनि खेती विस्तारमा लागेका छन् । जुम्लामा पाँच सय ९० हेक्टरमा ओखर खेती भएको छ ।

ओखर बिक्रि गरेरै आम्दानी

विपन्न घरधुरीमा शौचालय बनाउँन डकर्मी तालिम

ओखर बिक्रि गरेरै आम्दानी

चिकित्सकको सल्लाहविनै औषधी सेवन

This will close in 0 seconds