व्यापारीले बजार अनुगमन समितिको सुझाव नमान्दा उपभोक्ता मारमा


जुम्लाका व्यापारीले बजार अनुगमन समितिको सुझाव नमान्दा उपभोक्ता मारमा परेका छन् । हरेक स्थानीय तहमा उपाध्यक्ष तथा उपप्रमुखको संयोजकत्वमा बजार अनुगमन समिति गठन भए पनि काम गर्न सकिरहेका छैनन् ।

सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको अनुगमन समितिले सदरमुकाम खलंगादेखि ग्रामीण बस्तीसम्म स्थापना भएका बजारको अनुगमन गर्दै आइराखेको छ । यहाँका व्यापारीले अझै पसल अगाडि मूल्यसूची राख्न मानेका छैनन् ।

मूल्यसूची नराखेपछि एउटै वस्तुको मूल्य पनि पसलैपिच्छे फरक–फरक रहेको उपभोक्ताको गुनासो छ । होटल तथा पसलहरु करदाता सेवा कार्यालयमा दर्ता हुन सकेका छैनन् ।

मिति नाघेका उपभोग्य वस्तु खुलेआम किनबेच भइरहेको छ । लेबलमा उत्पादन मिति प्रस्ट खुलाएको भेटिँदैन । सदरमुकाम खलंगाका ठूला व्यापारीले नै मिति सकिएको र दर्ता नभएका पसलबाट नै अखाद्य वस्तु ग्रामीण भेगका पसलमा पठाउने गरेको भेटिएको छ ।

करदाता सेवा कार्यालय जुम्लाका नायब सुब्बा मदन उपाध्यायले अधिकांश पसल दर्ता नभएको बताए।उनले दर्ता नभएका पसलबाट नै अखाद्य वस्तु बिक्री भइरहेको भन्दै स्थानीय सरकारले पनि कडाइका साथ बजार अनुगमन गर्नुपर्नेमा जोड दिए ।

केही महिना अघि बजार अनुगमन समितिले ग्रामीण क्षेत्रका मुख्य बजारमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा वर्डबाइजर, स्यानिटाइजर, ग्युलकोज, मसला, क्रिम लगायतका म्याद सकिएको भेटिएको थियो ।

पसलमा ढक तराजु क्यालिब्रेसन अपडेट नभएको, साइनबोर्ड नराखेको, खाद्य अनुज्ञापत्र नलिई उत्पादन तथा बिक्रीवितरण गरेको भेटिएको उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्लाका निमित्त कार्यालय युवराज न्यौपानेले बताए ।

जिल्ला प्रशासन कार्यालय संयोजक रहने गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालयको टोली अनुगमनमा निस्किएको थियो ।

शुक्रवार उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाको आयोजनामा जुम्लाको चन्दननाथ नगरपालिका–५ देखी मुख्य बजारका फर्म तथा उद्योगहरुको स्थलगत अनुगमन गरिएको हो। तिहारलाई लक्षित गरि जुम्लामा गरिएको बजार अनुगमन टोलीले १७ वटा पसल अनुगमन गरेको उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्लाका सूचना अधिकारी भगवती श्रेष्ठले बताइन् ।

पाल्पाली जनरल स्टोर, प्रतिक जनरल स्टोर, विवेक फेन्सी स्टोर, न्यु जनरल स्टोर, सत्वान जनरल स्टोर, चन्दननाथ कस्मेटिक पसल, न्यु मिला जनरल स्टोर एण्ड सप्लायर्स, न्यु महारुद जनरल स्टोर, अस्मिता जनरल स्टोर, सरस्वती डेरी पसल, सान्ति सागर जनरल स्टोर, न्यु कुलवेल किराना पसल, दक्षिणा जनरल स्टोर एण्ड सप्लायर्स, न्यु रोमन जनरल स्टोर र योगेश एण्ड योगेन्द्र जनरल स्टोर पसलमा निरिक्षण गरिएको छ । उनका अनुसार १३ हजार ८ सय २९ मुल्य बराबरको खाद्यान्न बरामद नष्ट गरिएको उनी बताउँछिन् ।

पछिल्लो समयमा जिल्लाको एक नगरपालिकासहित ७ गाउँपालिकाको केन्द्रमा स्थानीय बजार स्थापना भइसकेका छन् ।
सूचना अधिकारी श्रेष्ठले समयमै करको दायरामा आउनका लागि व्यवसायीलाई आग्रह गरिन् ।

उनले भनिन्, अनुगमनका क्रममा धेरै समस्या देखियो । सबै समस्या समाधानका लागि विधिवत् रुपमा व्यवसाय दर्ता गर्न सुझाव दिएका छौँ ।

नियमित रुपमा बजार अनुगमन नहुनु, व्यवसायीले अनुगमन समितिको सुझाव नमान्नु र सदरमुकामदेखि गाउँसम्म अखाद्य वस्तु लैजानुले समस्या निम्त्याएको उनले भनिन् ।

व्यापारीले बजार अनुगमन समितिको सुझाव नमान्दा उपभोक्ता मारमा

सूचनामैत्री हुने कालिकोटका प्रजिअ नेपालीको प्रतिबद्धता

व्यापारीले बजार अनुगमन समितिको सुझाव नमान्दा उपभोक्ता मारमा

सोसेक दैलेखद्वारा जाजरकोटका डेढ सय परिवारलाई राहत