हुलाक सेवालाई प्रतिस्पर्धामा किन नलग्ने ?

बढ्दो प्रविधिको विकासको प्रत्यक्ष असर परेको पहिलो सेवा नै हुलाक हो । यसअघि चिठ्ठी पत्रका साथै नगद कारोवारमा समेत जोडिएको यो सेवा अहिले ज्यादै न्यून नागरिकले मात्र प्रयोग गर्छन् । प्रविधिकै कारण प्रयोगको दर घटेको हुलाक सेवाको अव विलय हुन्छ नै भन्न सक्ने अवस्था भने छैन । हालको समयमा प्रविधिले आमसञ्चारलाई मात्र उछिनेको छ । आमसञ्चारमा आफ्नो उपस्थिती जनाएको प्रविधिको प्रत्यक्ष असर हुलाकमा परेको छ । तर आफैपनि नेपाल लगायत कयौं देशहरुलाई हुलाक सेवाकै आवश्यकता महशुस भईरहेको छ । कर्णालीमा हेर्दा समेत हुलाकले आधिकारिताको भावना पैदा गरेको छ । कानूनी तवरबाट हेर्दा सूचना प्रवाहको रेकर्ड तथा आधिकारिकतामा हुलाकले आफ्नो वेग्लै उपस्थिती जनाएको छ । बैंक तथा सरकारीहरुले ऋणीलाई पठाएका पत्रहरु हुलाक मार्फत पुगेका छन् । अख्तियारले वयानका लागि पठाएका पत्रहरु समेत हुलाक मार्फत नै नागरिक सामु पुगेका हुन्छन् । यस अवला पत्र तथा सामान ढुवानीका लागि समेत हुलाकको प्रयोग गरिएको छ । अन्य देशमा रहेका नेपाली नागरिकले समेत हुलाक मार्फत नै सामानहरु नेपालमा आफ्ना परिवारका लागि पठाउन सक्छन् । ति देशहरुमा हुलाक सेवा समेत सक्रिय रुपमा सञ्चालनमा रहेको देखिन्छ ।
वीरेन्द्रनगरको सन्दर्भमा यहाँ छ्यापछ्याप्ती कुरियर सेवाका कार्यालयहरु सञ्चालनमा छन् । उनीहरुले दैनिक सैयौँ पत्र तथा सामाग्री ढुवानी गर्छन् । उनीहरुले निजी क्षेत्रबाट हुलाकको काम गर्न सक्छन् भने हुलाकको कार्यालयले आफ्नो सेवा बढाउन किन सक्दैन ? अहिलेपनि वीरेन्द्रनगर स्थित डाँक सेवा कार्यालयबाट चिठ्ठीपत्र पठाउने नागरिकको संख्यामा कमी आएको छैन । विगत तीन आर्थिक वर्षको तथ्यांक हेर्दा यहाँ हुलाक सेवाको प्रयोग गर्ने नागरिकहरुको संख्या बढेको छ । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा मात्र वीरेन्द्रनगरबाट चार हजार बढी चिठ्ठी पत्र पठाइएको छ । वीरेन्द्रनगर स्थित हुलाकको डाँक व्यवस्थापन कार्यालय मार्फत सेवाग्राहीहरुले चार हजार दुई सय १८ वटा चिठ्ठी पत्र पठाएका हुन् । त्यसैगरी साउनदेखि असोज २२ गते सम्ममा सेवाग्राहीहरुले एक सय २८ वटा इएमएस सेवा र २२ वटा बुक पोष्ट सेवा मार्फत कागजपत्र पठाएका छन् ।
नेपालमा अहिले पठन संस्कृतिको समेत विकास भईरहेको छ । प्रविधिले नेपालमा सबै उपन्यास तथा पुस्तकहरुलाई उपलब्ध गराउन सक्दैन । यसका लेखक तथा प्रकाशक समेत पुस्तकको ईकपी नागरिकलाई उपलब्ध गराउन चाहदैनन । एक अर्थमा भन्दा पुस्तक भनेकै पुस्तक हो । हुलाक मार्फत चिठ्ठी पत्र पठाउँदा तौलको आधारमा शुल्क लाग्छ । चिठ्ठीका लागि पहिलो २० ग्रामसम्म आठ रुपैयाँ शुल्क लाग्छ, त्यसपछि भने प्रत्येक २० ग्रामको पाँच रुपैयाँ तिर्नुपर्छ । तर किताव नै पठाउनेहरुका लागि भने हुलाकले डाँकसेवा शुल्कमा थप सुविधा दिएको छ । ‘बुक पोष्ट’ तर्फको यो सेवामा पहिलो २० ग्रामको दुई रुपैयाँ मात्र शुल्क तिर्नुपर्छ । हुलाकले बुक पोष्ट सुविधामा न्युनतम शुल्क निर्धारण गरेपनि अहिले यो सेवा लिनेहरुको संख्या समेत बढेको छ । आर्थिक वर्ष २०७७/०७८ मा एक सय ५७ जनाले बुक पोष्टको सुविधा लिएका थिए । अघिल्लो आर्थिक वर्षमा भने तीन सय ३१ जनाले यो सुविधा लिएका छन् । खासगरी उपन्यास तथा पुस्तकहरु अध्ययन गर्ने समुहले यो सुविधाबाट लाभ लिईरहेको देखिन्छ । यस अर्थमा हेर्दा हुलाकले आफ्ना सेवाहरुको व्यापक प्रचार गर्नुपर्छ । निजी क्षेत्रको तुलनामा अहिले हुलाक कार्यालयहरुले सस्तो मूल्यमा सेवा प्रवाह गरिरहेका छन् । यसको विश्वसनियता पनि छ । यस्ता खाले विविध विषयमा हुलाकले निजि क्षेत्रसँगको प्रतिस्पर्धामा अघि बढ्नुपर्छ । यसले नागरिकलाई कम मूल्यमा सेवाको प्राप्ती र सरकारलाई समेत हुलाकलाई प्रभावकारी रुपमा सञ्चालन गर्न मद्दत मिल्नेछ ।






