अनुदानका चुला भए बेवारिसे

हुम्ला,२७ पाैष ।

सिमकोटका बासिन्दाका लागि निःशुल्क उपलब्ध गराउन ल्याइएका ३५७ वटा सुधारिएका चुला नौ महिनादेखि खार्पुनाथमा बेवारिसे बनेका छन् । गत वैशाखमा ती चुलालाई सलिसल्लाबाट खच्चडमा ढुवानी गरिएको थियो । ढुवानीको जिम्मा पाएको कम्पनीले खार्पुनाथ गाउँपालिकामा थन्क्याइदिएपछि ती चुला बेवारिसे बनेका हुन् ।

खार्पुनाथ गाउँपालिकाकी कार्यपालिका सदस्य जसमती शाहीले सिमकोट गाउँपालिकाका लागि ल्याइएका चुला आफ्नो घरछेउमा बेवारिसे अवस्थामा राखिएको बताइन  । “गत वैशाखमा ती ल्याइएका थिए । ती कसका लागि ल्याइएका हुन् भन्ने थाहा हुन सकेको छैन,” उनले भनिन ।

तीमध्ये ११७ थान खार्पुमा त्यत्तिकै मिल्काइएको छ भने २४० थाना ट्याक्टरमालिक कुल रावतले सिमकोट लगेको भए पनि हालसम्म कसैलाई दिएका छैनन  । उनले ती चुलो खार्पुबाट ट्याक्टरमा राखी सिमकोट ल्याएका थिए  । ती चुला आफ्नो घरमा राखेका छन  ।

उनले ती चुला ढुवानी गर्दाको भाडा र आफ्नो घरमा सुरक्षित राख्दाको घरभाडा नपाएको गुनासो गर्दै भने, “जबसम्म ढुवानी भाडा र घरभाडा हात पर्दैन, तबसम्म चुला कसैलाई पनि दिइँदैन ।”

चुलामा ‘नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा लक्षित वर्गमा वितरण’ भनी लेखिएको छ । चुला सिमकोट गाउँपालिकाका लक्षित वर्गका लागि ल्याइएको भए पनि कुुन वडा वा बस्तीका लागि ल्याइएका हुन् भन्ने यकिन भएको छैन । उता खार्पुमा खुला आकाशमुनि बेवारिसे बनाइएका चुला घामपानीका कारण खिया लागिसकेका छन् ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका सहायक निर्देशक रणबहादुुर थापाले गत आर्थिक वर्ष २०७७÷७८ मा सिमकोट गाउँपालिकाका लागि छनोट भएका घरधुरीका लागि टेन्डर प्रक्रियाद्वारा छनोट गरी ती चुला खरिद गरिएको बताए । उनका अनुसार सिमकोटसम्म पु–याउन जिम्मा लिएको कम्पनीले लक्षित वर्गलाई वितरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

उहाँले प्रतिचुलो आठ हजार पाँच सयका दरले एक हजार ११६ घरधुरीका लागि वितरणको जिम्मा गाल्भा निर्माण सेवासंँग सम्झौता भएको जानकारी दिए  । अझै ७५९ चुलाको अत्तोपत्तो छैन । सो कार्यक्रमका लागि केन्द्रले ९४ लाख ९४ हजार पाँच सय रुपियाँ लगानी गरेको छ । “सिमकोट गाउँपालिकाका छनोट भएका सबै घरधुरीले चुला पाएको भर्पाईसमेत कार्यालयमा पेस भएकाले सेवाग्राहीले चुलो पाएको विश्वासमा थियौँ,” उनले भने, “अब हामी यसको खोजी कार्य थाल्नेछौँ ।”

सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले सोबारे सुरुमा आफूलाई केही पनि थाहा नभएको र धेरैले जिज्ञासा राख्न आएपछि फाइल खोज्ने क्रममा ती चुला वितरण कार्य सम्पन्न भइसकेको थाहा पाएको बताए । “दुई वर्षअघि नै पाइसक्नुपर्ने चुला अझैसम्म कसैले पनि पाएको देखिएन । अब यसको छानबिन सुरु गर्छाैं ।”

खरिद तथा ढुवानीको जिम्मा पाएको गाल्भा निर्माण सेवाका प्रतिनिधि कृष्ण केसीले भौगोलिक विकटता र हिमपातका कारण सबै चुला हुम्लामा पु–याउन नपाएको तर्क गर्दै विस्तृत कुरा गाउँपालिकाको कार्यालयमा गएर बुझ्न भने  ।

गाेरखापत्र 

अनुदानका चुला भए बेवारिसे

बागमती प्रदेशमा मन्त्रालय घटाइँदै

अनुदानका चुला भए बेवारिसे

प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *