२० वर्षदेखि शरीरमा बमका छर्रा लुकाउँदै

सल्यान,२७ पाैष ।

०५९ जेठ २९ गते छत्रेश्वरी गाउँपालिका १ दमाचौरको गुराँसेमा सेना र तत्कालीन विद्रोही माओवादीबीच भीडन्त हुँदा स्थानीय नन्दकली कवर बमको छर्रा टाउकोमा लागेपछि घाइते भइन् । टाउकोमा लागेका तीन छर्रामध्ये दुईवटा छर्रा चिकित्सकले निकालेर फाले ।

एउटा छर्रा अर्को पटक फाल्न सल्लाह दिए पनि आर्थिक अभावका कारण उनले अहिलेसम्म त्यो छर्रा निकाल्न सकिरहेकी छैनन् । आँखादेखि माथिको भागमा रहेको छर्रा उनको त्यत्तिकै छ । उनी भन्छिन्, ‘तत्कालीन जनयुद्धका बेला सहयोग गरेको माओवादीको सरकार पटकपटक बन्छ तर हामीलाई वास्ता गर्दैन । तिनैका ठूला नेता सामान्य उपचारका लागि पनि राज्यको ढुकुटीबाट उपचार गराउन विदेश जान्छन्, हाम्रो लागि को छ र ? अलिअलि काम गरेर जम्मा गरेको रकमले दुई छाक खर्च टार्न ठीकै हुन्छ । हाम्रो लागि उपचार गरिदिने को छ र ?’

०६१ चैत २४ गते रुकुमको खारामा नेपाली सेना र माओवादीबीच भएको भीडन्तका क्रममा बम विष्फोट हुँदा कालीमाटी गाउँपालिकाको काप्रेचौर जुमखोलाका कृष्ण केसी घाइते भए । उनको शरीरभर ५४ वटा बमका छर्रा लागे । घरजग्गा, श्रीमतिका गहना बेचेर उपचार गर्दा उनले २२ वटा छर्रा मात्रै फाल्न सके ।

सबै छर्रा निकाल्न डाक्टरले २० लाख नगद लाग्ने भनेपछि आर्थिक अभावकै कारण उपचार गराउन सकेनन् । उनको शरीरमा अझै ३२ वटा छर्रा त्यत्तिकै छन् । केही काम गरेर कमाउन सकिन्छ कि भनेर उनी एक पटक खाडी मुलुकसमेत गए तर राम्रोसँग काम गर्न नसकी छोटो समयमै फर्किए । उनी अहिले पनि उपचारको लागि दाताको पर्खाइमा रहेको बताउँछन् ।

नन्दकली र कृष्ण मात्रै नभएर सशस्त्र युद्धका बेला सेना र माओवादीबीच ठाउँठाउँमा भएका भीडन्तमा सल्यानमा २ हजारभन्दा बढी घाइते भएका थिए । तीमध्ये जिल्लाका विभिन्न पालिकाका झन्डै एक सय जनाले अहिले पनि शरीरमा रहेको बमका छर्रा फाल्न सकिरहेका छैनन् । आर्थिक अवस्था कमजोर हुँदा र सम्बन्धित निकायले उपचारमा सहयोग नगरेपछि घाइतेहरू शरीरमै बमका छर्रा लुकाएर बस्न बाध्य भएका हुन् ।

शरीरमा रहेका बमका छर्राका कारण उनीहरुलाई बेलाबेलामा विभिन्न समस्या देखिने गर्छ तर उनीहरुले सहज रुपमा उपचार गर्न सकिरहेका छैनन् । २०६० साल चैत २४ गते रुकुमको खारामा नेपाली सेना र माओवादीबीच भीडन्तका क्रममा घाइते भएका दार्मा गाउँपालिकाको भल्चौरका ४५ वर्षीय मनबहादुर विकले अहिलेसम्म हात खुट्टा र शरीरमा भएको छर्रा फाल्न नसकेको बताएका छन् । भीडन्तका क्रममा शरीरका विभिन्न भागमा सातवटा छर्रा लागेका उनले उपचार गर्दागर्दै घरको सबै सम्पत्ति सकिएपछि उपचार गर्नै छाडेको बताए।

‘तत्कालीन माओवादीलाई जिताउन विभिन्न ठाउँमा नेपाली सेनासँग लडियो तर उपचारको लागि पार्टीबाट कुनै सहयोग भएन, न राज्यबाट भयो,’ उनले भने ‘डाक्टरले धेरै रकम खर्च लाग्ने र हातखुट्टा काटेर फाल्नुपर्ने भनेपछि बमका छर्रा पालेर बस्नु बाहेक अन्य विकल्प छैन । ठूला तथा पहुँच भएका नेता अहिले सामान्य उपचारका लागि पनि राज्यको ढुकुटी सकेर विदेश जाने गरेका छन् । हामी जस्ता सर्वसाधारण उपचार नपाएरै मर्ने भयौं ।’

छर्राका कारण कामकाज गर्न नसक्दा आम्दानी पनि घटेको उनको गुनासो छ। ०५२ सालमा १६ वर्षको उमेरमा माओवादीको सेनामा भर्ती भएका विक त्यसबेला जनमुक्ति सेनाका कम्पनी कमाण्डर थिए । उनी बेनी, जुम्ला, अर्घाखाँची, कालीकोटको पिली, खारा लगायत झण्डै दर्जन ठाउँमा नेपाली सेना र प्रहरीसँग लडेका थिए ।

शरीरका विभिन्न ठाउँमा गरी ५२ वटा छर्रा लागेका कालिमाटी गाउँपालिका ७ जुमखोलाका उनै कृष्ण केसीले टाउकोमा २, घाँटीमा १, छातीमा १ र हातखुट्टामा २८ गरी ३२ छर्रा फाल्न बाँकी रहेका बताए । छर्राका कारण शारीरिक अवस्था कमजोर भएकाले राम्रोसँग बोल्न, सुत्न, हिँड्न गाह्रो हुने गरेको उनको अनुभव छ। ‘चिसो मौसममा कामकाज गर्न कठिनाइ हुन्छ । हिँडडुल गर्न सकिँदैन,’ उनले भने ‘अलिअलि पैसा पनि उपचारमै सकियो । स्वास्थ्य संस्थामा गयो भने ठूला अस्पतालमा जानुस् भन्छन् र ठूला अस्पतालमा जाने पैसा छैन । त्यही भएर जे होला होला त्यत्तिकै बसिरहेको छु ।’

घाइते अपाङ्ग जिल्ला समितिका अध्यक्षसमेत रहेका रत्नबहादुर ओलीले त्यसबेला सबैले खुलेर आफ्नो समस्या उजागर गर्न नसक्दा र आर्थिक समस्याकै कारण धेरैले अहिले पनि उपचार गर्न नसकी छर्रा शरीरमै पालेर राख्नु पर्ने अवस्था सिर्जना भएको बताएका छन् । ओली आफैं पनि २०६१ मा गुल्मीमा भीडन्त हुँदाका पीडित हुन् । कान र आँखामा छर्रा पालेर बस्नुपर्दा पछिल्लो समय आँखाको ज्योति हराउँदै गएको बताए । २०६१ मा घाइते भएका बेला पोखराको एक अस्पतालमा उपचारका लागि गए पनि ५० हजार धरौटी मागेपछि त्यो तिर्न नसक्दा उपचारबाट बञ्चित हुनु परेको उनको भनाइ छ ।

माओवादीको आरोपमा नेपाली सेना र प्रहरीले बारम्बार नियन्त्रणमा लिइ यातना दिएका कारण शारीरिक अवस्था पनि नाजुक भएका छत्रेश्वरी गाउँपालिका ४ झिम्पेका देवबहादुर डीसीले सरकारबाट जीवन निर्वाह भत्ता पाए पनि त्यसले सामान्य राहत मात्रै भएको र बेलाबेलामा दुखाइ कम हुने औषधि खाँदै त्यसको सहारामा बाँच्दै आएको बताए । कक्षा सातमा पढ्दै गर्दा ०५२ फागुन १४ गते १५ वर्षको उमेरमा माओवादीको आरोपमा प्रहरी नियन्त्रणमा पुगेका उनले विभिन्न यातना भोगे । २०५८ मा रिहा भए पनि २०६० मा नेपाली सेनाले नियन्त्रणमा लिएर कष्टपूर्ण यातना दिएको उनी बताउँछन् ।

कुमाख गाउँपालिका ५ कालागाउँका धर्मे बुढाथोकी पनि २० वर्षदेखि शरीरमा छर्रका लुकाएरै बस्नु परेको बताउँछन् । २०५९ चैत ७ गते म्याग्दीको सदरमुकाम बेनीमा भएको भीडन्तमा दुई खुट्टामा बमको छर्रा लागेका बुढाथोकी अहिले पनि छर्रा निकाल्न ननसकेको बताउँछन् । घाइते तथा अपांग समितिका केन्द्रीय सदस्यसमेत रहेका उनले आफ्ना दुबै खुट्टामा अहिले पनि दर्जनभन्दा बढी सानासाना बमका छर्रा रहेको बताए । ‘छर्रा फाल्न नसक्दा अहिले जाडो मौसममा खुट्टा सुन्निने गर्छ । लामो समय निरन्तर हिँड्न सकिँदैन । राति सुत्नु पर्दा दुखाइ कम गर्ने औषधि सेवन गर्नुपर्छ,’ उनले भने ।

बुढाथोकीका अनुसार उनीहरूले माओवादी युद्धका बेला शरीरमा बमका छर्रा लागेर घाइते भएकाहरूलाई उपचार गर्ने भनी कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको अस्पतालसँग सम्झौता गरेका थिए । तर कसैले पनि सहज उपचार पाउन नसकेको बुढाथोकी बताउँछन् । सम्बन्धित निकायले पनि चासो नदेखाएको उनको गुनासो छ ।

कान्तिपुर 

२० वर्षदेखि शरीरमा बमका छर्रा लुकाउँदै

स्कर्पियो दुर्घटनामा चालकसहित तीन जना घाइते

२० वर्षदेखि शरीरमा बमका छर्रा लुकाउँदै

बागमती प्रदेशमा मन्त्रालय घटाइँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *