सुर्खेतमा माघमा औद्योगिक तथा व्यापार प्रदर्शनी मेला हुने

सुर्खेत,२७ पाैष ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशले आगामी माघ महिनामा नौ दिने दोस्रो राष्ट्रिय औद्योगिक व्यापार कृषि नवीनतम प्रविधि प्रदर्शनीको आयोजना गर्ने भएको छ । माघ १३ गतेदेखि २१ गतेसम्म नौ दिने सो प्रदर्शनी वीरेन्द्रनगरको रंगशाला नजिक हुनेछ ।
महासंघको प्रदेश समितिले पत्रकार सम्मेलनको आयोजना गरी प्रदर्शनीले कर्णाली प्रदेशको लघु घरेलु उद्योगको प्रचारप्रसार, बजारीकरणमा टेवा पुग्ने दावी गरेको छ । महासंघका प्रदेश अध्यक्ष चन्द्रबहादुर विसीले साना तथा लघु घरेलु र महिला उद्यमीहरुले उत्पादन गरेका बस्तुहरुको बजारीकरण गर्न व्यापक प्रचार प्रदर्शनीले गर्ने बताए ।
प्रदर्शनीमा करिव ३ सय स्टल रहनेछन्भने ४ करोड बढीको प्रत्यक्ष र ३ करोड बढीको अप्रत्यक्ष कारोबार हुने अपेक्षा उहाँले गर्नुभयो । प्रदर्शनीमा कर्णालीका मौलिक बस्तुहरु गलैंचा, राडीपाखी, अल्लोका कपडा, ढाकाका कपडा, पश्मिनाका बस्तुहरु, उनीका कपडाहरु, लिउ, फेरुवा, पाखी, काठ, ढुंगा, धातु कला, सेरामिक्स, बेतबाँसका सामग्रीहरु राखिनेछन् । यसका साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरुले पनि उपस्थिति रहने जनाइएको छ ।





