भित्र्याउने बेलाको मार्सीमा रोग लागेपछि किसान चिन्तामा


मार्सी धानबालीमा रोग संक्रमण भएपछि जुम्ला तातोपानी गाउँपालिकाका किसान मर्कामा परेका छन् । तातोपानी गाउँपालिका– ४ र ५ नं. वडाको मार्सी धानबालीमा मरुवा (नेक बलास्ट) रोग देखा परेको हो ।
करिब ८० हेक्टर क्षेत्रफलमा लगाईएको मार्सी धानबाली भित्र्याउने समयमा मरुवा रोग संक्रमण हुँदा किसानहरू चिन्तित छन् । कृषि क्यालेन्डर अनुसार धानबाली असोज देखि कात्तिक महिनामा भित्र्याउने गरिन्छ ।
कृषक धनप्रसाद चौलागाईले भने, ‘हरेक वर्ष २२ रोपनी खेतबाट २२ क्विन्टल मार्सी धान उत्पादन हुन्थ्यो, यो साल २२ रोपनी खेतमै धान खेर जाने देखिन्छ ।’
चौलागाईका लागि धानबाली प्रमुख खेती हो । उनको परिवारलाई यो उत्पादनले वर्षभरि खान पुग्थ्यो । ब्लास्ट रोगको प्रकोपले धानबालीलाई जलाउनु वाहेकको विकल्प नभएको उनले बताए ।
तातोपानीको सबैभन्दा धेरै लाम्रा, श्रीनगर, एैरेनी हाँकु, हियाँ खोला ज्युलोमा बलास्ट रोगले धानबाली नष्ट भएको छ । ब्लास्ट रोगले क्षति गरेको धानबाली लगाएको ज्युलोमा कृषि विज्ञसहितको टोलीले सोमबार स्थलगत अनुगमनका लागि पुगेको थियोे । ब्लास्ट रोगका कारण धानबाली सखाप भएपछि तातोपानीका किसानले ठूलो क्षति व्यहोर्नुपरेको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए ।
उनले भने, ‘पालिकाबाट राहत दिएर सम्भव छैन, दिन पनि सकिँदैन । जिल्ला विपद् व्यवस्थापनको बैठक बसेर, कार्यपालिका बैठक राखी किसानको राहत र पुनस्र्थापनाका लागि पहल हुनेछ ।’
जुम्लामा वर्षेनी कुनै न कुनै क्षेत्रको मार्सी धानमा ब्लास्ट रोग लाग्ने गरेको कृषिविज्ञ बताउँछन् । यो वातावरणीय प्रभावका कारणले फैलिने प्रकोप हो, धानमा लाग्ने ब्लास्ट रोग तीन प्रकारका हुन्छन् । जुम्लाको दुई हजार नौं सय ५० हेक्टरमा धान खेती भएकोमा ६ हजार तीन सय ७७ मेट्रिकटन उत्पादन हुन्छ ।
जिल्ला कृषि विकास कार्यालय, जुम्लाका प्रमुख बालकराम देवकोटाले एउटा लिप ब्लास्ट (पातमा) हुने संक्रमण नियन्त्रणमा लिन सकिने बताए । दोस्रो, फिंगर ब्लास्ट (धानको डाँठमा) लाग्ने रोगलाई पनि नियन्त्रण गर्न सकिन्छ । तेस्रो, ब्लास्ट रोग भनेको नेक ब्लास्ट (घाँटी मरुवा) अर्थात् धानको बालामै लाग्ने रोग हो । यसले बाला पोटिलो नहुने, धानमा दूध नभरिँदै झर्ने समस्या हुन्छ । यो अन्तिम अवस्थामा लाग्ने रोग भएकाले पनि नियन्त्रणमा चुनौती छ ।






